नियात्रा: चरिकोटदेखि हिन्दु, बौद्ध र किराँत सभ्यता बोकेको हलेसीसम्म

halesi yatra
लोकपाटी न्यूज
5 Shares

-शिवजी तिवारी

नेपाल बहुँसास्कृतिक, बहु जातीय, बहु धार्मिक र बहुभाषिक समाजको सुन्दर बगैँचा हो। यहाँका प्रत्येक डुङ्गामा देवता छन्। प्रत्येक खोलानालामा सङ्गीत छन् । हरेक समाजको आफ्नै मौलिक इतिहास छ। आफ्नै पहिचान र वर्चस्व छ। बहुसङ्ख्यक हिन्दुहरू रहेको समाज छ । समुदाय अनुसार जीवनपद्धतिमा विविधता छ। विभिन्न धार्मिक सांस्कृतिक समुदाय छन्, हरेक समुदायका मूल्यमान्यताहरू फरक छन्। आफैले मानी आएका संस्कार रीतिस्थिति र संस्कृतिहरु फरक फरक छन्। सामाजिक नियम र जीवन पद्धति फरक फरक छन्। यसरी फरक फरक विविधता बिचको एकता नै यस समाजको मूल विशेषता बन्न पुगेको छ ।

नेपाली समुदायहरू बिचको सामाजिक सद्भाव र भातृत्व भाव जीवन्त छ। एक समुदायले अर्को समुदायको, एक जात–धर्मले अर्को जात र धर्मको सम्मान गरेका छन्। एकले अर्काको अस्तित्व स्वीकारेका छन्। कुनै हिचकिचाहट विना नै एक आपसमा मिलेर विभिन्न धार्मिक सामाजिक कार्यहरूमा सहभागी भइरहेका छन्। जसको परिणाम स्वरूप वर्णसंकर संस्कृति निर्माण समेत हुन पुगिरहेको अवस्था छ।

अगाडि बढेको हाम्रो यात्रा

विविधता बिच एकताको जीवन्त अनुभूति आत्मसात् गर्दै अगाडि बढेको हाम्रो यात्रा, दोलखा भिमेश्वरको दर्शन पश्चात् खोटाङ हलेसी तर्फ अगाडि बढ्यो । सूर्य पश्चिमतर्फ पुगेर भर्खरै सुनौलोबाट पहेँलो हुँदै थियो । चरिकोटबाट झन्डै १ घण्टाको यात्रा पश्चात् तामाकोसीको पुलमा आइपुगियो। ग्रहण लागेको दिन भएको हुँदा साथीहरू ग्रहण नुहाउने भन्दै नदीतर्फ लाग्नुभयो। केही साथी त्यहीँ नदी किनारका फलफूल पसलबाट सुन्तला किनेर खान थाल्नुभयो। म चियाको पारखी, चिया कता पाइन्छ भन्दै खोज्न थाले। संयोग पनि कस्तो जुरेछ, तामाकोसी नदीको किनारमा उक्त दिन दूध आएको रहेनछ। दूध चिया कतै नमिलेपछि कालो चिया भए नि खाने निहुँ पारेर त्यहीँ एउटा सानो होटेलमा बसी, स्थानीय विशेषताको बारेमा जानकारी लिन खोजेँ ।

दुखको नदी तामाकोसी
तामाकोसी नदी मध्यपूर्व नेपालको एक प्रमुख नदी हो । यो नदी कोसीको सहायक नदी मात्र नभएर यो एक, शक्तिशाली प्रमुख नदी पनि रहेछ जुन अघिल्लो दिन हामीले देखेको भोटेकोसी भन्दा झन्डै दुई गुणा ठुलो लाग्यो। मैले आफ्नो विद्यालय शिक्षाको क्रममा सुने अनुसार तामाकोसी, हिम शिखर पग्लेर बग्न सुरु गरेका थुप्रै हिमनदीबाट बनेको नदी हो । यो नदी तिब्बतबाट बग्न सुरु गर्दछ।

तामाकोसीको शाब्दिक अनुवाद तामाको नदी हो। यो नदीलाई दुखको नदीका नामले पनि चिनिन्छ। राजा रणबहादुर शाहको पालामा ठेउलाको महामारी फैलिएको थियो । ती बिरामीलाई काठमाडौँबाट ल्याई तामाकोसी किनारमा राखिएको स्थानीय बुढापाका बताउँछन् । सोही क्रममा ती लखेटिएका नेवार समुदायका बालबच्चा र रोगीहरूको दर्दनाक मरण हुन पुग्यो । त्यस रोगले मरेकाहरूले गरेको विलापलाई सितलामाजु नाम दिइएको थियो रे । जसले उनीहरूले भोगेका पीडा, कठिन यात्रा र दुःख स्मरण गर्ने भन्ने स्थानीयको बुझाइ रहेछ।

खुर्कोट बजारको बास

तामाकोसी किनारमा चिया खाएपछि केही हाँसी मजाक गर्दै हामी रामेछापको मन्थली हुँदै खुर कोटतर्फ प्रस्थान गर्‍यौँ। बाटोमा विभिन्न किसिमका भजन गाउँदै भवानी शङ्कर सुवेदी सरले हाम्रो यात्रामा रमाइलो थप्दै हुनुन्थ्यो। बिचबिचमा राम गौतम सरले होस्टमा हैँसे थप्दै झन् यादगार बनाउनु भयो। रमाइला भजन, बिचबिचमा साथीहरूका नाचगानले हाम्रो यात्रा निकै छोटो बनायो।तामाकोशीबाट झन्डै २ घण्टाको यात्रा पश्चात् हामी खुर्कोट पुग्यौँ ।

खुर्कोट पुगेर खाना खाएर बासको व्यवस्थापन गरेपश्चात् म, मुस्कानका प्रायः मित्र केशव वाग्ले सर र प्रकाश भण्डारी सर खुर कोटको सामान्य अवलोकनमा निस्कियौँ । खुर्कोट सानो बजार भए पनि झन्डै ५० जति होटेल लजहरू देख्दा निकै रमाइलो लाग्यो। केही समय हिँडेर हामी पुनः लजमा फर्कियौँ। लजमा फर्किएपछि कुशल लामिछाने सर र विजय सापकोटा सरले चपुरवाला पानको प्रसङ्ग निकाल्नुभयो। (म २०७६–२०७९ सम्म चपुरमा बसेको हुनाले साथीहरू समय समयमा रमाइलो गर्नुहुन्छ )।

लामो भलाकुसारी पश्चात् साथीहरूले पान नखाई नछाड्ने हुनुभयो । पान खान भनी केही साथीहरू बाहिर निस्कियौँ। खुर्कोट बजार मध्य पहाडी लोक मार्गको किनारमा विकसित हुँदै गरेको बजारको बारेमा केही बुझ्न मन लाग्यो । इतिहास खोतल्दै जाँदा थाहा भयो, ७ दशक पहिले पनि खुर्कोट सानो बजारै थियो रे । पूर्वी नेपाललाई काठमाडौँसँग जोड्ने बाटोमा पर्ने खुर्कोट रामेछाप, दोलखा र ओखलढुङ्गाबाट काठमाडौँ जाँदा र तराई झर्दा बास बस्ने ठाउँ रहेछ । त्यो समय गाडी थिएनन्। भरिया बास बस्ने ठाउँ रहेछ। उस बेला यात्रु, भरिया बास बस्ने ठाउँनै बजारका रूपमा चिनिन्थे । खाना÷बासको व्यापार यस्तै ठाउँमा चल्थ्यो ।

खुर्कोट सहरीकरण तर्फ

खुर्कोट बिपी राजमार्ग निर्माण भएपछि द्रुत गतिमा सहरीकरण हुँदै गएको अनुभव भयो। पूर्वलाई काठमाडौँ जोड्ने सबैभन्दा छोटो स्थल मार्गमा पर्दो रहेछ, यो बजार । सुनकोसी नदीमा रामेछाप जोड्ने पुल बनेपछि यसमा रौनक थपिएको रहेछ। बिपी राजमार्गअन्तर्गत सिन्धुली–खुर्कोट, मध्य पहाडी लोक मार्गअन्तर्गत खुर्कोट–मन्थली, खुर्कोट–घुर्मी–कटारी सडकको संगमस्थल भएका कारण खुर्कोट छिटो गतिमा सहर बन्न थालेको स्थानीयको अनुभव रहेछ । पैदल हिँड्दा बासबसिने ठाउँ गाडीमा हुइँकिदा रोकिएर खाने ठाउँ बनेको रहेछ। सुनकोसीको किनारै किनार मनोरम दृश्य हेर्दै पुगिने भएकाले काठमाडौँदेखि माछा आदिका परिकार खान मान्छे यहाँ ओइरिन थालेका रहेछन् ।

पूर्वको महादेवस् हलेसी

खुर कोटबाट बिहान ५ बजे हामी हलेसी तर्फ अगाडि बढ्यौँ । निकै साँगुरो नागबेली बाटो हुँदै करिब ५ घण्टाको यात्रा पश्चात् हामी हलेसी महादेवको चरणमा पुग्यौँ । पूर्वको पशुपतिनाथ भनेर चिनिने हलेसी महादेवको मन्दिर धार्मिक पर्यटनको लागि कहलिएको गन्तव्य हो। धार्मिक आस्थाको धरोहर तथा पर्यटकीय गन्तव्य हलेसी महादेव प्राकृतिक दृश्यावलोकनका लागि पनि पुग्ने गरिन्छ । यहाँको प्राकृतिक भू बनौट पनि अचम्मलाग्दो रहेछ। यसलाई विश्वमै अनौठो भू–बनौट भन्दा अत्यास्युक्ती नहोला। घना जङ्ग। जङ्गलकै मध्यमा रहेको गुफा। हिन्दु , बुद्ध र किराँत धर्मको संगमस्थल मानिने हलेसी धाम करिब २६ रोपनीमा फैलिएको रहेछ । गुराँसे, तुवाचुङ जायजुम मलाथुम्की र रुपाकोट डाँडा जस्ता सदाबहार डाँडाको काखमा हलेसी अवस्थित रहेछ ।

मनोरम प्राकृतिक छटाले भरिपूर्ण एवं विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टान ९शिला०ले झकिझकाउ हलेसी धाममा विशेषतः महादेव (शिव), बसाह र भैरवका तीन वटा महत्त्वपूर्ण गुफा रहेछन् । हलेसी महादेवको दर्शन गरेमा खडेरीबाट मुक्ति पाउने, दुःखबाट मुक्ति पाउने, सन्तान लाभ हुने, पदोन्नति हुने, निरोगी हुने जनविश्वास रहेछ। महादेवलाई भस्म सुर राक्षसबाट बचाउन मोहनी रूप धारण गरी भगवान् विष्णु कैलाशबाट यस ठाउँमा आएको शास्त्रीय मान्यता रहेछ ।

मोहनीले राक्षसलाई झुक्काएर भस्म गरिदिएकी थिइन्, जसको अवशेष भैरव गुफामा रहेको विश्वास गरिँदो रहेछ। त्यसैले यस लाई भष्मासुर गुफा पनि भनिँदो रहेछ। स्थानीय का अनुसार यहाँ राम नवमी, बाला चतुर्दशी, शिवरात्रि र तीज गरी वर्षमा चार पटक ठुला मेला लाग्ने रहेछ। भारत लगायत विभिन्न मुलुकबाट समेत तीर्थयात्री तथा पर्यटक यस क्षेत्रमा आउने रहेछन् ।

हलेसी पुगेपछि अनौठो त के लाग्यो भने गुफाको एकातिर हिन्दु धर्मप्रतिआस्था राख्नेहरू पूजा पाठ गरी रहेका थिए भने अर्को छेउतिर बौद्ध धर्मप्रति आस्था राख्नेहरू पूजा पाठ गरिरहेका थिए । यो बारेमा स्थानीयहरूसँग जिज्ञासा राख्दा अझै रमाइलो जानकारी प्राप्त भयो। यो स्थलमा हिन्दु धर्ममा आस्था राख्नेहरूले यसलाई पशुपतिनाथको रुपमा, बौद्ध धर्मावलम्बीहरू दोस्रो लुम्बिनीको रुपमा र किरात धर्मावलम्बीहरूले आदिम भूमिको रुपमा पूजा–आज गर्दा रहेछन् ।हलेसी महादेव परिसरमा हलेसी, बसाहा र भैरव गरी तीन वटा गुफा रहेछन् ।

हलेसिको नामाकरण

यस ठाउँको नाम कसरी रहन गयो भन्ने प्रसङ्ग अझै रोचक रहेछ ।कुरा के सुन्न पाइयो भने यस ठाउँमा हलेसी नाम गरेको चरा पाइने हुनाले सबैले हलेसी भनेको हो रे। यद्यपि केही बुढापाकाको अनुसार महाभारतको युद्ध पूर्व गौ हत्याको अभियोग लागेकाले बलरामले यहाँ आई हलोले गुफा बनाई भित्र शिव लिङ्ग स्थापना गरेकाले हलेश्वर महादेव रहेको मानिने रहेछ। अर्को पौराणिक किंवदन्ती अनुसार नारायणले राक्षसको बध गरेपछि विष्णु अर्थात् हरि यसै स्थानमा आइ महादेवलाई दर्शन दिएकाले यहाँको नाम हरिश्वर रहन गयो भन्ने पनि मान्यता रहेछ। कालान्तरमा हलेश्वर र पछि हलेसी नाम रहन गएको किंवदन्ती प्रचलनमा रहेछ। निकै कडा भ्रमण तालिका लिएर हिँडेका हाम्रो निम्ति प्रत्येक क्षण निकै महत्त्वपूर्ण थिए। हलेसीको दर्शन गरेपछि झन्डै ३५० कि.मि.को यात्रा तय गर्नु थियो। हलेसीको दर्शन पश्चात् खाना खाएर हामी इलामको कन्यामको निम्ति यात्रा सुरु गर्‍यौँ। आन्तरिक पर्यटनलाई टेवा दिन सबै आफ्नो आफ्नो ठाउँबाट लागि परौँ। हलेसी महादेवको दर्शन र यहाँ स्थित पर्यटकीय स्थलको भ्रमण गर्ने अवसर सम्पूर्ण पाठकलाई प्राप्त होस् भन्ने कामना गर्दछु । सबैलाई शुभकामना।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्