शिक्षा प्रणाली र पाठ्यक्रममा गुणात्मक परिवर्तन आवश्यक छ : प्रधानमन्त्री

Prachand
लोकपाटी न्यूज
9 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक रहेको बताएका छन्। राजधानीमा आजदेखि आयोजित ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी-२०२३’को उद्घाटन गर्दै उनले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरकारले विद्यालय शिक्षा विधेयक संसद्मा प्रस्तुत गरेको बताएका हुन्।

युवा विद्यार्थीको विदेश पलायन शिक्षा क्षेत्रमा अहिले देखिएको सबैभन्दा डरलाग्दो स्थिति रहेको उल्लेख गर्दै उनले विद्यार्थी देशबाहिर पढ्न जाने, देशका विद्यालय तथा विश्वविद्यालय खाली हुने अवस्थालाई छिट्टै सम्बोधन गरी युवा विद्यार्थी पलायनलाई रोक्नु आजको सबैभन्दा ठूलो चुनौती भएको बताए।

‘विद्यार्थी पलायनबाट देशको युवा जनशक्ति मात्र बाहिरिइरहेको छैन, देशको ढुकुटी पनि उनीहरूसँगै बाहिरिँदै गएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘विद्यार्थी पलायन रोक्न शिक्षा नीतिलाई सकेसम्म युवा उपयोगी बनाएर नेपाली विद्यार्थीलाई यहीँका विद्यालय, विश्वविद्यालयमा अध्ययन गर्न प्रोत्साहन र विदेशी विद्यार्थीलाई नेपालका विश्वविद्यालयमा अध्ययन गर्न आकर्षित गर्ने शिक्षा प्रणाली लागू गर्नैपर्छ।’ यसो हुन सकेको खण्डमा अहिले जस्तो देशको पैसा बाहिरिने नभई विदेशी मुद्रा नेपाल भित्रिने अवस्थाको सिर्जना हुने उनको विश्वास छ।

‘यो कुरा आजको भोलि नै पूरा गर्न सम्भव छैन, तर, दीर्घकालीन रणनीतिसहित व्यवस्थित कार्यक्रम र कार्ययोजना बनाएर यस दिशामा ठोस परिणाम हासिल हुन सम्भव हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने। निजी व्यावसायिक क्षेत्र सरकारको सहयोगीका रुपमा रहेको जनाउँदै उनले सरकारको नीति, नियम र संविधान तथा कानुनको दायरामा रही निजी व्यवसाय गर्ने व्यवसायीलाई आर्थिक विकासको हिस्सेदार पक्ष मानेर अघि बढ्न सरकार तयार रहेको बताए।

‘हामीले नेपालको संविधानमा निजी-सहकारी-साझेदारीको तीनखम्बे अर्थनीतिको व्यवस्था गरेका छौँ,’ उनले भने, ‘संविधानमा व्यवस्था भएबमोजिम साझेदारीको मोडेललाई परिणाममुखी बनाउन सरकार र निजी क्षेत्रबीच सघन सहकार्य र एकता आवश्यक छ।’ कोभिड महामारी, विश्वव्यापी ध्रुवीकरण र द्वन्द्व, आफ्नै संरचनागत प्रणाली, क्षमता र कार्यसम्पादनलगायत कारणबाट राष्ट्रिय अर्थतन्त्रले दबाबको महसुस गरिरहेको उल्लेख गर्दै उनले अर्थतन्त्रको दबाबलाई अन्त्य गर्न गम्भीर गृहकार्य थालिएको बताए।

‘मैले सरकारको नेतृत्व लिँदाको परिस्थितिमा अर्थतन्त्र संकटमा थियो, सरकारको अथक प्रयासका कारण अर्थतन्त्रमा सुधार आए पनि दबाबमुक्त भइसकेको छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अर्थतन्त्रको दबाबलाई अन्त्य गर्न मैले हिजोदेखि गम्भीर गृहकार्य थालेको छु। आज पनि सरकार, निजी क्षेत्र, विकास साझेदारहरू र अर्थविद्हरूको संयुक्त बैठक बोलाएको छ। अर्थतन्त्र सुधार्ने सरकारको प्रयासले एकाध दिनमा मूर्तरूप लिनेछ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्