यी प्रदेशमा हल्का वर्षाको सम्भावना

Mausam
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। पश्चिमी वायुको प्रभावले संघीय राजधानी काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहेको छ।

उनले पश्चिमी वायुको प्रभावले आज दिनभरजसो देशका अधिकांश स्थानमा आंशिकदेखि पूर्ण बदली रहने बताए। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ।

‘आज देशभर नै आंशिकदेखि सामान्य बदली रहने देखिएको छ। अहिले कोशी र बागमती प्रदेशमा आंशिक बदली रहेको छ। विशेषगरी देशका पश्चिमी भेगमा बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ,’ मौसमविद् लामिछानेले भने।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

साथै, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। आज दिनभर बदली रहे पनि भोलिदेखि मौसम क्रमिकरुपमा सुधार आउने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्