रास्वपमा १४ जना केन्द्रीय सदस्य मनोनीत

Raswopa
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति विस्तार गरेको छ। महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले थप १४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

बैठकले केन्द्रीय कमिटीमा नरहेका पार्टीका १४ सांसदलाई मनोनीत गरेको बुझिएको छ। यसअघि सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्यालसहित ६ सांसद मात्रै केन्द्रीय समितिमा थिए। पार्टीका सबै सांसदलाई अब केन्द्रीय कमिटीमा मनोनीत गरिएको एक नेताले जानकारी दिए।

केन्द्रीय सदस्यमा मनोनीत भएकामा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, डा. स्वर्णिम वाग्ले, सचेतक निशा डाँगी, सांसद मनिष झा, डा. तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, डा. चन्दा कार्की (भण्डारी), असीम शाह, लक्ष्मी तिवारी, अशोककुमार चौधरी, शिव नेपाली र विनीता कठायत छन्। उनीहरू सबै सांसद हुन्।

केन्द्रीय समिति बैठक विस्तार गरेपछि अब रास्वपाको केन्द्रीय समिति ५२ जनाको बनेको छ। यसअघि रास्वपाको ४० सदस्यीय केन्द्रीय समिति थियो। जसमा ढाकाकुमार श्रेष्ठ निलम्बनमा परेका र मोहनबहादुर थापाले राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्