अर्थतन्त्रलाई सबै पक्ष मिलेर उकास्नुपर्छ : अध्यक्ष ओली

लोकपाटी न्यूज
4 Shares

काभ्रेपलाञ्चोक। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र बलियो बनाउँदै नागरिकको जीवनस्तर उकास्नुपर्ने बताएका छन्। झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा-२०८० अन्तर्गत काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरस्थित कुन्तामा आज आयोजित बृहत् जनसभामा उनले अर्थतन्त्रलाई सबै पक्ष मिलेर उकास्नुपर्ने आवश्यकता औँल्याए।

‘अर्थतन्त्रलाई सबै पक्ष मिलेर उकास्नुपर्छ र नागरिकको जीवनस्तर सबल बनाउँदै जानुपर्छ,’ अध्यक्ष ओलीले भने। उनले लोकतन्त्रको संस्थागत विकास गर्दै यसका प्रणालीलाई सही ढङ्गले अघि बढाउन सुझाव दिँदै सरकारले जनतामा निरासा आउन नदिने गरी काम गर्न सुझाव दिए। ‘अर्थतन्त्र बलियो नहुँदा जनतामा निरासा छाएको देखियो, यसमा सरकारलगायत सबै पक्षले अब आ-आफ्नो दायित्वप्रति गम्भीर हुनुपर्छ,’ उनले थपे।

अध्यक्ष ओलीले उद्यमशीलतामा जोड दिए रोजगारीका अवसर आफैँ सिर्जना हुने भएकाले यसप्रति जोड दिनुपर्ने बताए। उनले भने, ‘रोजगारी हैन, उद्यमशीलता प्रमुख विषय हो, उद्यमशीलताले रोजगारी सिर्जना गर्ने हो, यसरी अरूलाई पनि रोजगारी दिन सकिन्छ।’ उनले इन्द्रावती नदीको पानी टनेलमार्फत ल्याई मण्डनदेउपुर र पाँचखालको फाँट हराभरा बनाउन सकिने तथा यस भेगका युवामा आफूले खेलकुदमा आकर्षण देखेकाले ‘मल्टिपरपोज’ खेल मैदान निर्माण गर्न सकिने बताए।

अध्यक्ष ओलीले कृषिमा आधुनिकीकरण र व्यावसायिकीकरण हुनुपर्ने उल्लेख गर्दै प्रविधिको प्रयोग गरी उत्पादन बढाउनुपर्ने बताए। ‘अन्य व्यवसायलाई निर्वाहमुखी हैन, विकासमुखी र परिवर्तन गर्नेगरी अघि बढाउनुपर्छ,’ उनको तर्क थियो। उनले समृद्ध नेपाल निर्माणको सपना साकार पार्न आफ्नो पार्टीले संकल्प यात्रा थालेको बताउँदै देश र जनताको स्वाभिमानलाई झुक्न नदिने गरी उत्साहजनक ढङ्गले यात्रा अघि बढिरहेको जनाउँदै खुसी व्यक्त गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्