फिस्टेल स्पोर्टस् फेस्ट’ : शनिबार हुँदै फाइनल खेल

लोकपाटी न्यूज
3 Shares

पोखरा। पोखराको फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल स्पोर्टस् फेस्ट’ को फाइनल आज भइरहेका छन्। शुक्रबार सेभेन ए साइड फुटबलतर्फका क्वाटरफाइनल तथा बास्केटबलतर्फका लिगचरणका खेलहरू सम्पन्न भए भने टेनिसतर्फ केही इभेन्टहरूको फाइनलसमेत भएका छन्।

शुक्रबार फुटबलतर्फ ४ खेल, बास्केटबलतर्फ ६ खेल र टेनितर्फ १५ खेलहरू सम्पन्न भएको विद्यालय सुपरिवेक्षक भीम बस्नेतले जानकारी दिए। फुटबलतर्फ भएको पहिलो खेलमा द ड्रिम स्कुललाई ३-० गोलले पराजित गर्दै शान्तिदीप स्कुलले सेमिफाइनलको यात्रा तय गरेको छ।

यसै गरी दोस्रो खेलमा वेलनन एकेडेमीलाई ४-३ गोलले पछि पार्दै लिटल फ्लावर अगाडि बढेको छ। तेस्रो खेलमा बालकल्याणका विरुद्ध शान्ति निकुञ्जले १-० गोलको विजयी यात्रा गर्‍यो। शुक्रबारको अन्तिम खेलमा फिस्टेल एकेडेमीलाई २-० गोल अन्तरका साथ विजय प्राप्त गरी कालिका माविले सेमिफाइनलको यात्रा तय गरेको छ।

शुक्रबार नै सम्पन्न बास्केटबलका लिग चरणका खेलहरूमा छात्रातर्फ एनसिसिएस काठमाडौंले मनकामना स्कुललाई ४०-१७ को स्कोरले पराजित गर्‍यो भने अर्को खेलमा विन्ध्येश्वरीलाई ३५-१२ स्कोरले हरायो। यसैगरी फिस्टेल एकेडेमीले बालकल्याणलाई २३-१४ स्कोरले पराजित गर्‍यो।

छात्र बास्केटबलतर्फ फिस्टेलले अल्फालाई ४५-२४ स्कोरले पराजित गर्‍यो भने छात्रातर्फ एनसीसीएसले बालकल्याणलाई २९-२४ स्कोरले पराजित गर्‍यो। यस्तै छात्रातर्फ नै फिस्टेल एकेडेमीले विन्ध्येश्वरीलाई ३६-१२ ले पराजित गर्‍यो। शनिबार छात्रातर्फ एनसीसीएस र फिस्टेल तथा छात्रतर्फ फिस्टेल र मनकामना फाइनलमा भिड्ने छन्।

यसैगरी १० वर्षमुनिको छात्र टेनिसतर्फ शुक्रबार भएको पहिलो खेलमा शिशुनिकेतनका इभानले शिशुनिकेतनकै ओमयुग थापालाई ६-२, ६-१ को सोझो सेटमा हराए भने दोस्रो खेलमा फिस्टेलका आर्यशराज पौडेलले फिस्टेलकै सुभान केसीलाई ६-०, ६-० स्कोरमा पराजित गरे। यस्तै छात्रातर्फ फिस्टेलकी जीवाश्री भट्टराईले फिस्टेलकै सोनाक्षी ढुङ्गानालाई ६-०, ६-० स्कोरमा पराजित गर्दा सेन्ट मेरिजकी बनी एस मेथलागनले गुरुकुलकी जियो केसीले ६-२, ६-१ स्कोरमा पराजित गरिन्।

९ वर्षमुनिको छात्र टेनिसमा शिशुनिकेतनका इभान भट्टराईले शिशुनिकेतनकै ओमयुग थापालाई ४-०, ४-२ स्कोरले आउट गर्दा फिस्टेलका जीवाश भट्टराईले भद्रकालीका सर्वज्ञलाई आउट गरे । १६ वर्षमुनिको छात्रतर्फ गण्डकीका शाश्वत बज्राचार्यले गण्डकीकै स्पन्दन उदासलाई ६-२, ६-३ स्कोरले पराजित गरे भने फिस्टेलका सृजन भट्टराईले भद्रकालीका सन्दीप बिकलाई पराजित गरे।

१६ वर्षमुनि छात्रातर्फ मैत्रेयकी साल्भीले मैत्रेयकै आरुषीलाई ६-३, ६-२ स्कोरले पराजित गर्दा शिशुनिकेतनकी अदितिले सेन्ट मेरिजकी सरिसा श्रेष्ठलाई ६-२, ७-५, ६-२ स्कोरले पराजित गरिन्। १२ वर्षमुनिको छात्रतर्फ स्पन्दन उदासले डोजन गुरुङमाथि बाजी मारे भने ९ वर्षमुनिको छात्रा खेलमा गुरुकुलका जिओ केसीले सेन्टमेरिजकी बनी एस मेथलागनलाई हराइन्।

शुक्रबार नै ९ वर्षमुनिको छात्र टेनिसको फाइनलमा फिस्टेलका जीवास भट्टराईले बाजी मार्दा शिशुनिकेतनका इभान भट्टराई दोस्रो बने। ८ वर्षमुनि छात्रतर्फको फाइनलमा पनि फिस्टेलकै जीवास भट्टराईले अनन्त पाण्डेयमाथि जित हात पारे।

५ गते औपचारिक उद्घाटन भएको स्पोर्ट फेस्टमा गण्डकी प्रदेशभन्दा बाहिरबाट पनि विद्यालयहरू सहभागी भएको र यस किसिमको खेलले विद्यार्थीहरूको चौतर्फी विकासमा सहयोग पुग्ने कुरामा आफूहरू विश्वस्त रहेको विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद श्रेष्ठले बताए।

शनिबारसम्म सञ्चालन हुने खेलकुद प्रतियोगिताबाट फुटबल तथा बास्केटबल खेलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ७५ हजार, ३५ हजार र २० हजार नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्