टि–ट्वान्टी प्रतियोगिता : पुलिसको पहिलो जित

cricket
लोकपाटी न्यूज
6 Shares

वीरगञ्ज। पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो जित हात पारेको छ। वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिताअन्तर्गत आज बिहान भएको पहिलो खेलमा भारतको युपी ११ लाई ६ विकेटले पराजित गर्दै पुलिसले पहिलो जित हात पारेको हो। यो जितसँगै पुलिसले दुई अङ्क बटुलेको हो।

टस जितेर पुलिसले पहिले फिल्डिङ राजेपछि ब्याटिङमा उत्रेको युपी ११ ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८८ रनको योगफल जोडेको थियो। युपी ११ का लागि लिखिल प्रताफे २४, जयदीप सिंहले १७, सुभम चौधरीले १५, भीम शर्माले ११ तथा मन्थन प्रसादले १० रनको योगदान दिए। युपी ११ का तीन जना खेलाडी रन आउट भएका थिए।

भारतको युपी ११ लाई मध्यम स्कोरमा रोक्न पुलिसका सागर ढकाल र रसिद खानले समान २/२ विकेट हात पारे। सो लक्ष्य पुलिसले १४ दशमलव २ ओभरमा ४ विकेट गुमाएर भेटाएको छ। पुलिसका लागि शङ्कर राणाले अविजित ३१ रनको योगदान दिनुभयो भने कप्तान आसिफ शेखले २३ तथा दिलीप नाथले २१ रनको महत्वपूर्ण पारी खेले। पुलिसका सुनिल धमला–७ तथा अर्जुन साउद शून्य रनमा रनआउट भए।

भारतको युपी ११ का सहनसा अहमले २ विकेट लिनुभयो भने भीम शर्मा र असि अन्सारीले समान १/१ विकेट हात पारे। प्रतियोगिताको म्यान अफ द म्याच पुलिसका शङ्कर राणा घोषित भए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्