पृथ्वीमा जीव उत्पत्तिसँग जोडिएका अनौठा घटना

Narayan Giri
लोकपाटी न्यूज
26 Shares
  • नारायण गिरी

 प्रविधि र पद्धतिले आजको विश्वलाई हत्केलामा लिएर नियाल्न सक्ने गरी मानव क्षमताको विकास गरेको छ। मानिस आफै‌ पनि जीवको उत्पत्तिबारेमा कसरी चासो राखेको होला ? यसमा कहिले देखि कसरी प्रयास गरेको होला ? यसको खोज अनुसन्धानका पाटा पक्ष कहाँ कसरी गरिरहेको होला ? सबै सबैका लागि चासो र सरोकार लाग्नु र जाग्नु सहज नै हो। यसै प्रसंगलाई लिएर यो आलेख तयार गर्ने प्रयास गरिएको छ।

खोजका क्रममा, सुरु चरण देखिनै यस विषयलाई वैज्ञानिकहरूले आकर्षक छलफलहरू चलाए। आफ्नो खोजको आधारमा विभिन्न विषयमा सिद्धान्तहरू प्रस्तावित गरिए। धेरै पुस्तकहरू लेखिए। जे जति प्रयास भएपनि अपुग छ, अपुरो छ। किनकि यो यस्तो विषय हो: जसको, जतिले, जहिले र जसरी अनुसन्धान गरेपनि नसकिने क्षेत्र, ठाउँ र विषयहरू छन्।

पृथ्वीमा जीव कसरी सुरु भयो र कसरी उत्पन्न भयो भन्ने कुरा आज सम्म पनि रहस्य मै छ। आदि कालदेखि नै मानव मस्तिष्क आफू लगायत पृथ्वीमा जीवन कहाँबाट आए ? विभिन्न प्रकारका जीव कसरी बने ? जस्ता प्रश्नहरूको उत्तर जान्नको लागि आतुर रहेको देखिन्छ। यी सबै प्रश्नहरू निश्चय नै रहस्यात्मक रहेका छन्। वैज्ञानिकहरू धेरै समयदेखि यी विषम रहस्यहरूको समाधान खोज्ने प्रयास गरिरहेका छन्। परिणामस्वरूप नै समय-समयमा विभिन्न मतहरू सामुन्ने आइरहेका छन्। वनस्पति तथा प्राणी जगतमा करोडौं वर्ष पहिले पृथ्वीमा भएका परिवर्तनहरूलाई स्पष्ट रूपमा बुझ्नका लागि जीवको उत्पत्तिको बारेमा बुझ्नु आवश्यक हुन्छ। अर्थात् हामीले पृथ्वी, सूर्य, ताराहरू र ब्रह्माण्डको विकासलाई पनि बुझ्नुपर्दछ। अनुमानहरूबाट पूर्ण काल्पनिक कथाक्रम देख्न र सुन्न सकिन्छ। यी कहानीहरू जीवको उत्पत्ति र पृथ्वीमा जीवका रूपहरूको विकास वा जैव-विविधताका हुन्, जुन पृथ्वीको विकास एवम् ब्रह्माण्डको विकासको पृष्ठभूमिसँगै समाविष्ट छन्।

आकाशका तारा र आँखाको सम्बन्ध

स्वच्छ अँध्यारो रातमा आकाशतिर तारा हेर्दा एक किसिमले विगत समय देखिन्छ। पृथ्वी कहिले र कसरी अस्तित्वमा आयो ? कसरी जीवनको सुरुवात भयो ? चारैतिर जीवनका विविधरूपहरू कसरी विकसित भए ? आदि जस्ता प्रश्नहरूको उत्तर वैज्ञानिकहरूले दिने कोशिस गरेका छन्। अझै निरन्तर गरिरहने छन्। किनकि यो प्रक्रिया सधैँ जारी रहने छ। ताराका दूरीलाई प्रकाश वर्ष भनिन्छ। एक वर्षमा प्रकाशले पार गर्ने दूरी, जबकि प्रकाशले १ सेकेण्डमा ३ लाख किलोमिटर दूरी पार गर्दछ) मा नापिन्छ। जुन वस्तुलाई ताराहरूको रूपमा देखिन्छ, तिनीहरूको प्रकाश-यात्रा लाखौं वर्ष पहिले सुरु भएको थियो। तिनीहरू हामीभन्दा करोडौं अरब किलोमिटर टाढा छन्। हाम्रा आँखासम्म आइरहेका छन्। वरिपरिका चीजहरूलाई हामी तुरुन्तै देख्न सक्दछौं। तिनीहरू वर्तमान कालकाले अनुभूत गरिरहने चिज हुन्। तारागण हेर्दा हामी स्पष्ट रूपले भूतकालतिर हेरिरहेका हुन्छौं।

पृथ्वी केवल एक विन्दु वा कण मात्र

जीवको उत्पत्तिलाई ब्रह्माण्डको इतिहासमा एउटा अनौठो घटना मानिन्छ। ब्रह्माण्ड विशाल र अनन्त छ। यसका आयामहरूको कल्पना नै गर्न कठिन हुन्छ। हामी बस्ने यो पृथ्वी स्वयंमा ब्रह्माण्डको एक कणिका मात्र हो। ब्रह्माण्डलाई अति प्राचीन अर्थात् लगभग २० हजार करोड वर्ष पुरानो मानिन्छ। ब्रह्माण्डमा आकाशगंगाहरूका विशाल समूह एकीकृत रूपमा रहेका छन्। आकाशगंगाहरूमा ताराहरू तथा ग्यासका बादल एवम् धूलो सामेल छन्। त्यसकारण ब्रह्माण्डको आकारलाई ध्यान दिँदा पृथ्वी केवल एक विन्दु वा कण मात्र हो।

ब्रह्माण्डको उत्पत्ति ‘बिग ब्यांग’ नामक महाविष्फोट सिद्धान्तद्वारा भएको मानिन्छ। यो एउटा अनौठो कल्पनाभन्दा पर महाविष्फोटको भौतिक रूप हो। यसकै परिणामस्वरूप ब्रह्माण्डको विस्तार भयो। विस्तारले गर्दा तापक्रम कमी हुँदै गयो। स‌ंयोजनको एउटा यस्तो समय आइपुग्यो, जहाँ हाइड्रोजन र हेलियम ग्यास बन्ने क्रम सुरु भयो। यी ग्यासहरू गुरुत्वाकर्षणको कारण सघन हुँदै गए।

अहिलेको ब्रह्माण्डमा आकाशगंगाहरू (मिल्कि वे)को गठन भयो। यसैक्रममा पृथ्वी पनि सौर्य-मण्डलको एक पारिवारिक सदस्यको रुपमा रहन पुग्यो। पृथ्वी सूर्यबाट चोइटिएर निस्किएको यो एक आगोको ज्वाला थियो। समयक्रममा सेलाउँदै जाँदा यसले पृथ्वीको रूप धारण गर्न पुग्यो। यसरी हेर्दा पृथ्वीको रचना ४५० करोड वर्ष (४.५ अरब वर्ष) पहिले सौर्य ग्यासीय मेघहरूको संघननद्वारा भएको मानिन्छ।

पृथ्वीमा वातावरणको गठन

सौर्य प्रणालीमा पृथ्वी ग्रहले अन्य ग्रहहरू जस्तै मझौला आकारको तारा (सूर्य) वरिपरि परिक्रमा गर्दछ। आदिकालीन पृथ्वीमा भौतिक स्थिति जीवन अनुकूल थिएन। पृथ्वी अत्यधिक तातो ग्याँसको एक बेलुन जस्तो थियो। सौर्य-ग्यासीय मेघहरूमा हाइड्रोजन र हेलियम पर्याप्त थियो। सुरुको अवस्थामा पृथ्वीमा वायुमण्डल थिएन। प्रारम्भिक अवस्थामा पृथ्वीमा चुम्बकीय शक्ति पनि थिएन। बिस्तारै पृथ्वीको क्रस्ट जम्दै गयो।

ज्वालामुखीबाट हानिकारक ग्यास निक्लिरहे। यी ग्याँसहरू सञ्चित भई मिथेन, एमोनिया र हाइड्रोजन साइनाइडको रूपमा संयुक्त भयो। त्यसपछि यी तीन घातक ग्यासहरूले कार्बन मोनोअक्साइड र कार्बन डाइअक्साइड जस्ता निम्न ग्यासहरू संयोजन र विच्क्षेदनको माध्यमद्वारा एउटा सन्तुलन कायम हुन पुगी आदिकालीन पृथ्वीको वातावरण निर्माण हुन पुग्यो।

पृथ्वीको चारैतिर ओजोन तहको गठन

पृथ्वीमा वातावरणको गठन हुने क्रममा पानी, बाफ, कार्बनडाइअक्साइड, मिथेन र एमोनिया, आदि जस्ता गतिशील पदार्थहरूले धरातललाई ढाकेको अवस्था थियो। पृथ्वीमा जीवको सुरुवात भन्दा पहिले अहिलेको वातावरण भन्दा भिन्न थियो। त्यतिबेला सबै प्राणीको लागि अपरिहार्य हुने अक्सिजन ग्यास थिएन। सूर्यबाट निरन्तर आउने परावैजनी किरण (अल्ट्राभायोलेट रे)हरूले पानीलाई हाइड्रोजन र अक्सिनमा विखण्डित गरिदियो। त्यसपछि हल्का रूपमा हाइड्रोजन स्वतन्त्र भयो। अक्सिजनले एमोनिया र मिथेनसँग मिलेर पानी, कार्बनडाइअक्साइड तथा अन्य ग्यास, आदिको रचना गर्‍यो। पृथ्वीको चारैतिर ओजोनतहको गठन भयो। पृथ्वी चिसो भएपछि पानी र बाफ वर्षाको रूपमा बर्षियो। धरातलका गहिरा ठाउँहरूमा पानी जम्मा हुन पुगे। जम्मा भएका पानी र सतहमा हुने हलचलका कारणले गर्दा महासागरहरूको जन्म हुन पुग्यो। पृथ्वीको उत्पत्ति भएको लगभग ५०० मिलियन वर्षपछि अर्थात् लगभग ४०० करोड (४ अरब) वर्ष पहिले जीवनको उत्पत्ति भएको मानिन्छ।

सरल विभाजनद्वारा प्रजनन शक्ति

पहिलो चरणमा साना-साना सरल कार्बनिक अणु पृथ्वीको गिलो सतहमा ग्यासीय वातावरणको संयोजनबाट बने। दोस्रो चरणमा यिनै साना-साना कार्बनिक अणु आपसमा मिलेर जटिल कार्बनिक अणुहरू जस्तै पेप्टाइड, न्यूक्लियोटाइड एवम् बासा, आदिको निर्माण गरे। तेस्रो चरणमा इयोबायोन्ट बने, जुन माथिल्लो झिल्लीबिनाका थिए र यिनीहरू रचना हुँदा एककोषीय जीवहरूभन्दा सरल थिए तर यिनीहरूमा सरल विभाजनद्वारा प्रजनन शक्ति आएको थियो।

चौथो चरणमा प्रकाश संश्लेषणद्वारा न्यूक्लियो-प्रोटीन, आदि जटिल अणुहरूको निर्माण भयो। यिनीहरूको विकाससँगै वायुमण्डलमा अक्सिजनको मात्रा बढ्यो। पाँचौं चरणको समयसम्म पृथ्वीको वातावरण आजकै समान भएको हुनुपर्दछ। यस्तै वातावरणमा बासाले ढाकिएको व्रेनगेल बने।

न्यूक्लियो-प्रोटीनको प्रजनन शक्तिको कारण तिनीहरू धेरै संख्यामा बढे। अन्तिम चरणमा एक पातलो झिल्लीले ढाकिएको एककोषीय जीवहरूको उत्पत्ति भयो। यिनीहरूमा न्यूक्लियो-प्रोटीन समान विभाजन तथा पुनर्मिलनको क्षमता थियो। यिनीहरू नै प्रोटोजोआ नामक समुदायका पूर्वज थिए। यसरी पृथ्वीमा जीवको प्रसार भयो। यिनै एककोषीय जीवहरूबाट मानिससम्मको उत्पत्ति, क्रमिक विकास एवम् प्राकृतिक छनौटको अनौठो गाथा हो।

प्रारम्भिक जीव परजीवी र अवायवयी

यसरी जीवको उत्पत्ति आदिसागरको जलमा न्यूक्लियप्रोटिन्सका विषाणु जस्ता कणहरूको रूपमा पृथ्वीको इतिहासको प्रि-क्याम्ब्रियन महाकल्पमा भयो। यी प्रारम्भिक जीव परजीवी र अवायवयी (anaerobic) थिए। यिनीहरूको कोशिका आजका विषाणु तथा माइक्रोप्लाज्मा जस्तै थियो। केही समय यिनीहरूले संग्राहकको रूप लिए। आनुवंशिक कोडपछि कोशिका DNA आनुवंशिक सूचनाहरूद्वारा RNA एवम् प्रोटीन-संश्लेषणसँग जोडियो।

यस प्रकार के मानिन्छ भने प्रारम्भिक जीव रसायन परजीवी थिए, जसले जटिल कार्बिनिक पदार्थहरूको आवेशबाट ऊर्जा प्राप्त गर्दथे। यसपछि क्लोरोफिलको विकास भयो। क्लोरोफिलका कारण प्रकाश-स्वपोषित जीवहरूको विकास भयो। प्रारम्भिक प्रकाश-स्वपोषित जीव अवायवीय थिए। जुन ३.५ अरब वर्ष पहिले वायवीय प्रकाश-स्वपोषी जीवहरूमा रूपान्तरित भए। लिन मारगुलिसका अनुसार केही अवायवीय परजीवी कोशिकाहरूले प्रारम्भिक वायवीय जीवाणुहरूलाई खाए र प्रथम यूकेरियोटिक कोशिका बने। परजीवी कोशिकाले वायवीय जीवाणु तथा प्रकाश-संश्लेषी नीला-हरिया एल्गी कोशिका खाए। तिनीहरू यूकेरियोटिक वनस्पति कोशिका बने। यसरी वायवीय जीवाणु माइटोकोण्ड्रिया तथा नीला-हरिया एल्गी क्लोरोफिलको रूपमा स्थापित भए।

जैव-विकास सिद्धान्त अनुसार जीव क्रमिक र निरन्तर प्रक्रिया अनुरूप सरलबाट जटिलतिर अगाडि बढ्दछ। जीवको उत्पत्तिसँग सम्बन्धित सबभन्दा प्राचीन परिकल्पना स्वतः उत्पादनको हो, जबकि आधुनिक परिकल्पनालाई प्रकृतिवाद भनिन्छ। यस अन्तर्गत उपार्जित लक्षणहरूको वंशगतिमा आधारित लामार्कवाद, प्राकृतिक छनौट सिद्धान्तमा आधारित डार्विनवाद तथा उत्परिवर्तनमा आधारित ह्यूगो डी व्रीजको सिद्धान्त प्रमुख रूपले सामेल छ।

चार अवधारणाहरूमा आधारित

फ्रान्सेली वैज्ञानिक जीन बाप्टिस्ट लामार्क (अगस्ट १, १७४४- डिसेम्बर १८, १८२९) ले सन् १८०९ मा फिलोसफी जूलोजिक नामक प्रसिद्ध पुस्तकमा उपार्जित लक्षणहरूको वंशाणुगत सिद्धान्त प्रस्तुत गरेका थिए। यो सिद्धान्तअनुसार प्रत्येक जीव आफ्नो जीवनकालमा जुन वातावरणमा रहन्छ, त्यसको प्रभावबाट अनेकौं लक्षणहरू उपार्जित गर्दछ। यही उपार्जित लक्षण उसका सन्तानहरूमा पुग्दछन् तथा विस्तारै-विस्तारै नयाँ जाति बन्दछन्। यो सिद्धान्त अनुसार जुन अंगको लगातार प्रयोग हुन्छ, त्यो बिस्तारै आकारमा बढ्दछ। जुन अंगको प्रयोग हुँदैन वा कम हुन्छ, त्यसको क्रमशः ह्रास हुँदै जान्छ र अन्तमा समाप्त हुन्छ। लामार्कको सिद्धान्त विशेषगरी ठूलो हुने प्रवृत्ति, वातावरणको सीधा प्रभाव, अंगहरूको उपयोग एवम् तिनीहरूको अनुप्रयोगको प्रभाव र उपार्जित लक्षणहरूको वंशानुक्रम गरी चार अवधारणाहरूमा आधारित छ।

जैव विकासका ६ वटा महाकल्प

जैव विकासका केही महत्त्वपूर्ण तथ्यहरू अन्तर्गत पेलिओजोइक महाकल्प, डेभोनियन कल्प, कार्बोनिफेरस कल्प, मीसोजोइक महाकल्प, सीनोजोइक महाकल्प र प्लीस्टोसीन युग पर्दछन्। पेलिओजोइक महाकल्पलाई प्राचीन जीवको उत्पत्ति काल भनिन्छ। डेबोनियन कल्पलाई माछाहरूको युग भनिन्छ। कार्बोनिफेरस कल्पलाई उभयचरहरूको युग भनिन्छ। मीसोजोइक महाकल्पलाई सरीसृपहरूको युग भनिन्छ। सीनोजोइक महाकल्पलाई स्तनधारीहरूको युग भनिन्छ। र, प्लीस्टोसीन युगलाई मानव युग भनिन्छ। यसको बाँकी अंश आगामी अंकमा प्रकाशन गर्दै जानेछौं- स‌म्पादक

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्