मनहरिमा जङ्गली हात्तीको आक्रमणबाट एक महिला घाइते

लोकपाटी न्यूज
2 Shares

मकवानपुर। मकवानपुरको मनहरिमा जङ्गली हात्तीको आक्रमणबाट एक महिला घाइते भएकी छन्। मनहरि गाउँपालिका–७ स्थित बिजौनामा शनिबार राति जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ५१ वर्षीय कान्छीमाया तामाङ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार गए राति करिब ११:४५ बजेको समयमा तामाङलाई हात्तीले आक्रमण गरेको हो। घरबाट बाहिर निस्किँदा जङ्गली हात्तीले आक्रमण गर्दा तामाङको ढाडमा चोट लागेर बेहोस भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। बेहोस भएकी तामाङलाई चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारको लागि पठाइएको छ।

हात्ती घटना स्थल नजिकै रहेकोमा स्थानीय, पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षा पोस्टबाट नेपाली सेनाको टोली, सशस्त्र प्रहरी बल नेपाल पोस्ट कत्ले खोलाको टोली र इलाका प्रहरी कार्यालय मनहरिको टोलीले जङ्गलतर्फ लखेटेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्