पर्वतको कुर्घामा नि:शुल्क स्वास्थ्य शिविर, ६ सय २७ बिरामी लाभान्वित

sibir
लोकपाटी न्यूज
4 Shares

निर्मल पौडेल/ पर्वतर ११ पुस। पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा वृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। कुर्घा पोखरा सम्र्पक समाजको आयोजना, मनिपाल अस्पतालको सहकार्य र पर्वत अस्पतालको सहयोगमा बुधबार स्वास्थ्य शिविर सम्पन्न भएको हो। स्वास्थ्य शिविर सम्पन्न गर्न नेपाल औषधी व्यवसायी संघ पर्वत, कुर्घा काठमाडौं सम्पर्क समाज लगायत अन्य विभिन्न सामाजिक संघ संस्थाहरुले समेत सहयोग गरेका थिए।

मौसम परिवर्तनसँगै स्थानीय जनताहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै संचालन गरिएको शिबिरमा ६ सय २७ जना व्यक्तिहरुले स्वास्थ्य जाँच गराई लाभ लिएको पर्वत अस्पतालका अध्यक्ष शंकर गिरिले जानकारी दिए। गाउँघरमा हुने यस्ता शिविरहरुलाई आफ्नो र पर्वत अस्पतालको तर्फबाट सदैव साथ र सहयोग भैरहने भन्दै पर्वत अस्पताल २४ सै घण्टा विरामीहरुको स्वास्थ्य अवस्थाप्रती गम्भीर भएको गिरिले बताए। उनका अनुसार शिविरमा हाडजोर्नी,जनरल फिजिसियन,नाक, कान ,घाँटी, आँखा ,छाला तथा यौनरोग,महिलाहरुमा हुने पाठेघरको समस्या लगायतका विरामीहरुले उपचार गराएका थिए। विशेष गरि पाठेघरमा समस्या भएका करिव ५० जना बिरामीहरूको स्याम्पल लिएर निशुल्क रुपमा पोखरामा उपचार गराउने तयारी गरिरहेको कुर्घा पोखरा सम्पर्क समाजका उपाध्यक्ष एवं शिविर संयोजक धिरज चापागाईंले बताए।

शिविरमा फलेवास नगरपालिकाका पाङराङ, कुर्घा, लिमिठाना,देबिस्थानसहित बाग्लुङको जैमिनी नगरपालिकाका बिनामारे,अर्जेवा,छिस्ती र जैदीका विरामीहरुले समेत स्वास्थ्य लाभ लिएको आयोजक कुर्घा पोखरा सम्पर्क समाजले बताएको छ। शिविर सम्पन्न गर्न साथ र सहयोग गर्ने विभिन्न संघ संस्था तथा व्यक्तिलाई कुर्घा पोखरा सम्पर्क समाजका अध्यक्ष तथा स्वास्थ्य शिविर कार्यक्रम अध्यक्ष धनप्रसाद शर्माले धन्यवाद व्यक्त गरेका छन्। शिविर सहजता पूर्वक सम्पन्न गर्न फलेवास नगरपालिकाका मेयर गङ्गाधर तिवारी र नगर उपप्रमुख शोभा कुमारी क्षेत्रीले नगरपालिकाको तर्फबाट विशेष भुमिका निर्वाह गरेको शर्माको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्