बजेट प्रणालीमा सुधार देखिएको छ : अर्थमन्त्री

Prakash-Sharan_Mahat
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा आएकाले छ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने परिवेश बनेको बताएका छन्।

भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २०औँ वार्षिक साधारण सभामा आज उनले पर्यटक आगमन, विप्रेषण, शेयर मूल्य, जग्गा कारोबार, राजस्व र आर्थिक गतिविधि बढ्दो स्थितिमा रहेकाले समग्र स्थिति सन्तोषजनक भएको बताएका हुन्।

उनले बहुवर्षीय आयोजनामा स्रोतको सुनिश्चितताका आधारमा बजेटका विनियोजन प्रणाली विकास गरी बजेटका बेथितिमाथि नियन्त्रणका साथै बैंकको ब्याजदर घट्नु र बजार मूल्यवृद्धि पाँच दशमलव पाँचबाट नबढ्नुले पनि सकारात्मक संकेत मिलेको स्पष्ट पारे। मन्त्री डा महतले रातो किताबमा तोकिएकोभन्दा बाहिरबाट खर्च गर्ने स्थितिको अन्त्य गर्दै बजेट प्रणालीमा सुधार ल्याएको उल्लेख गरे।

समाजका अध्यक्ष डा नारायण खड्काले ज्ञान र सूचनाको केन्द्रका साथै मुलुकको परिवर्तन, सभ्यता र इतिहासको वैभव पनि भएकाले पुस्तकालयलाई राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले सरकारले समाजका लागि बजेट कटौती गरेको, पुस्तकालयको भवनका लागि जग्गा नभएको र समाज कल्याण परिषद्ले व्यापारिक पसल सरह भाडा बढाउने गरेको समस्याबारे मन्त्री डा महतलाई अवगत गराए।