सिद्धान्तअनुरूपको व्यवहार नै सफल जीवनको आधार

लोकपाटी न्यूज
30 Shares
  • दुर्गानाथ खरेल (युगदर्शन)

 पृथ्वीमा जीवको उत्पत्तिसँगै आफू बाच्न गरेको स‌ंघर्षको परिणामस्वरूप जीव जगतले आफूलाई प्रकृतिमा आफ्नो अस्तित्व देखाउन सफल भयो। बाच्नका लागि गरिएको संघर्ष नै उसको दैनिकी बन्न पुग्यो। सोही सिलसिलामा अरूभन्दा धेरै मानिसले आफूलाई समयसँगै बल, ज्ञान, बुद्धि र क्षमता जस्ता कुराले समृद्धिशाली तुल्याउँदै लग्यो।

मानिसले जीवनमा हासिल गरेको वस्तुगत संसारका ज्ञानलाई उसका सन्ततिले सिद्धान्तको रूप ग्रहण गरे। त्यही ज्ञानमाथि टेकेर समयसापेक्ष ज्ञानको परिमार्जन गर्दै र विविधीकरण गर्दै अगाडि बढेकै कारण आज ज्ञान सिद्धान्त मानव जीवनको अभिन्न अंगको रुपमा विकास हुन पुग्यो।

यसबाट हामी भन्न सक्छौं‌ कि, सिद्धान्त नै व्यावहारिक जीवनको उत्पादन हो। व्यवहार नै सिद्धान्तको आधार हो। शारीरिक र मानसिक श्रम विभाजन भएपछि सिद्धान्त र व्यवहारबीच फरक आयो। यिनीहरू एकले अर्कालाई प्रभाव पार्ने निर्भर प्रकृतिको रहने भएपनि स्वतन्त्र पनि भए। मानसिक र शारीरिक श्रम भिन्नता वर्ग-वैरभाव उपजको रुपमा सिद्धान्त र व्यवहारबीच खाल्डो पुरिने छ।

सिद्धान्त जहिले पनि व्यवहारसँग अन्तरघुलन भइनै रहन्छ। व्यवहार नबोकेको सिद्धान्त केवल कोरा कल्पना हो। यो मात्र एउटा खोक्रो साहित्य बन्न पुग्दछ। सिद्धान्तले जहिले पनि व्यवहारलाई फराकिलो बाटोमा सफलताका साथ अघि बढ्न सहयोग गरिरहेको हुन्छ। यसरी यी दुवै मिलेर प्रकृति र समाजलाई फेर्ने एउटै सामाजिक ऐतिहासिक प्रक्रिया बन्न सक्ने छन्।

समाज विकासको क्रममा विश्वमा विचारका हिसाबले दुई धार देखा परे। एउटा धारले पुँजीवादको चाकडी गर्‍यो र अर्को धारले पुँजीविहीनको वकालत गर्‍यो। यो धार त्यसबेला देखा पर्‍यो, जब समाजमा वर्ग अर्थात धनी र गरिबको रेखा कोर्न थालियो। हुने र नहुनेबीच चल्ने अन्तर्द्वन्द्व। हुनेहरू कै सुरक्षाका लागि राज्य र राज्यसत्ता निर्माण हुन पुग्यो। नहुनेहरूका पक्षमा पनि बिचारहरू उठेपनि त्यसले एउटा आकार ग्रहण गर्न सकेको थिएन। जब १८४८मा मार्क्स र एंगेल्सले कम्युनिस्ट पार्टीको घोषणापत्र लेखे त्यसपछि भने यो वादको रुपमा नै देखा पर्‍यो। कम्युनिस्ट आन्दोलन बनेर उदायो र अन्तर्राष्ट्रियकरण हुन पुग्यो।

मार्क्सवाद कुनै काल्पनिक रचना थिएन। यो त समाज विज्ञानको सारतत्त्व थियो। समाजको इतिहासको गर्भबाट पैदा भएको विज्ञान थियो। मार्क्सवाद आफै‌मा मार्क्सकै नाममा राखिए पनि यो वाद वा वैज्ञानिक धारणा तयार गर्न पुस्तौं पुस्ताका ज्ञान व्यवहार र स‌ंघर्षका अनुभव छन्। ठूलो खोज अध्ययन अनुसन्धानका पाटा र पक्षहरू छन्। मार्क्सवाद समाजका निम्सरा वर्गका लागि, सम्पत्तिको नाममा आफूलाई बेच्न बाहेक अरू केही नहुनेहरूका लागि, मजदुर गरिब किसानका लागि, उच्चस्तरको जीवन बाँच्न र यो राज्यमा नहुनेले पनि राज्य गर्न सक्दछन् भनेर देखाउनका लागि सहयोग बन्न पुग्यो। जसलाई समाजवादी राज्य व्यवस्था भनियो।

लेनिन मार्क्ससँग यसरी जोडिएकी यो विज्ञानको आफ्नो देशमा सफल परीक्षण गरे। समाजवादी राज्य स्थापना गर्न सफल भए। यसक्रममा उनले जे सिद्धान्त र व्यवहारको तालमेल गरे त्यसलाई लेनिनवाद भनियो। आफूलाई मार्क्सवादी-लेनिनवादी दृष्टिकोणबाट निर्देशित गर्न नसक्नुको अर्थ सामन्ती, पुँजीवादी वा निम्न पुँजीवादी चिन्तनबाट निर्देशित हुनु हो। जीवनमा यी दुई मध्य मानवहितका लागि कुन दृष्टिकोण अवलम्बन गर्ने भन्ने सवालबाट नै जीवनको लक्ष चुन्न सकिन्छ।

निजी स्वार्थमा लिप्त, अरूलाई शोषण गरेर जीवन जिउन खुसी मान्नेका लागि कम्युनिस्ट पार्टी वा मार्क्सवाद, लेनिनवाद सही लाग्दैन। यसले सामूहिकतामा विश्वास गर्दछ, व्यक्तिलाई पूर्ण क्षमता प्रदान समाजले दिने हो, समाजलाई पूर्ण क्षमता राज्यले तुल्याउने हो, तब मात्र समाजमा कुनै वर्ग रहने छैनन्। वर्गविहीन समाज निर्माण हुन पुग्दछ।

समतामूलक समाज निर्माण नै मानव सभ्यताको उच्च लक्ष्य हुन पर्ने कुरा यसले भन्दछ। यदि मानिसमा सही दृष्टिकोणको विकास हुने हो भने पक्कै उसले मार्क्सवाद र लेनिनवाद मान्दछ। हैन भने उसले पुँजीवादको पक्षमा रहन पुग्दछ। सही दृष्टिकोण नलिईकन जनतामा काम गर्नुको अर्थ जनतालाई पनि गलत विचारको प्रभावमा पार्नु र जनआन्दोलनभित्र अवाञ्छित फोहर मैला घुसाउनु हो।

क्रान्तिकारी सिद्धान्तलाई आफ्नो मार्ग दर्शकको रुपमा अपनाउन र प्रयोग गर्न असमर्थ संगठन र व्यावहारिक आन्दोलनबाट अलग रहेको संगठनले क्रान्तिकारी उथलपुथल ल्याउने महान् जनआन्दोलनलाई पूर्ण विजयसम्म नेतृत्व गर्न सक्दैन। आन्दोलनकारीको उद्देश्य सबैमा स्पष्ट हुन नसके पनि नेतृत्व पंक्तिमा स्पष्ट हुनु आवश्यक छ।

अन्तिम उद्देश्य स्पष्ट नभई आन्दोलन सब थोक हो र अन्तिम केही पनि होइन भन्ने अवसरवादी हुन्। उद्देश्य जतिसुकै राम्रो भएपनि र जतिसुकै इमानदारितापूर्वक लागू गर्न कोसिस गरे पनि दृष्टिविना यथार्थता हासिल गर्न सक्दैनन्। क्रान्तिकारी सिद्धान्तको मद्दत विना कसैले पनि आजको जटिल सामाजिक जीवनलाई बुझ्न सक्दैन। बुझे पनि उसले आंशिक,गलत वा एकांकी ढंगबाट मात्र बुझ्न सक्ने छ।

लासालले भनेका छन्- ‘दैनिक जीवनको खैलाबैलाबाट भन्दा विज्ञानको अग्लो शिखरबाट चाँडै प्रभातको किरण देखिन्छ।’ त्यस्तै, मार्क्सले भनेका छन्- ‘जसरी सर्वहारा वर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेट्छ, उसैगरि दर्शनले सर्वहारा, वर्गमा आफ्नो भौतिक हतियार भेट्छ।’ हामी जसलाई क्रान्तिकारी जनआन्दोलन भन्दछौं, वास्तवमा जनताको संघर्ष र क्रान्तिकारी सिद्धान्तको मेल हो। जब सिद्धान्तले जनताको व्यवहारिक संघर्षलाई र त्यो व्यवहारले सिद्धान्तलाई साथ लिन्छ, तब श्रमजीवी जनताको मुक्तिले आफूलाई सिद्ध गर्न थाल्ने छ।

जडसुत्रवाद र संकीर्ण व्यवहारवाद दुवैले एकतामा भाँजो हाल्दछन्। सिद्धान्तको यान्त्रिक प्रयोग केटाकेटीपन हो। निरपेक्षीकरण र यान्त्रीकरण हाम्रो देशको सिद्धान्तको सृजनात्मक प्रयोगमा तगारो बनेको छ। आफ्ना दैनिक आवश्यकता पूर्ति गर्ने सिलसिलामा अध्ययन र विषयवस्तु छनौट दुवैको महत्त्व छ। सिद्धान्तको अध्ययन गर्दा हाम्रो दैनिक आवश्यकता पूर्ति र समाजमा त्यसको व्यवस्थापन गर्ने तरिका दुवैसँग सम्बन्धित रहेर अध्ययन गर्ने एकातिर र राजनीतिक संगठनमा संलग्न भएर जिम्मा पूरा गर्ने अर्कातिर दुवैका सिलसिलामा उच्च ज्ञान हासिल गर्न सकिन्छ। समाजमा खराबी, कमजोरी र अन्य व्यवस्थालाई व्याख्या गर्ने मात्र होइन, त्यसलाई बदल्ने अभियानमा समेत आफूले श्रम खर्च गर्नुपर्दछ। त्यसैले समाज बदल्ने अभियान महत्त्वपूर्ण मानिन्छ।

सिद्धान्त जीवनसित सजीव व्यवहारसित सही ढंगले गाँसिएपछि र व्यवहारिक संघर्षका समस्या तथा संघर्षको क्रममा उत्पन्न प्रमुख सवालको अध्ययन, विश्लेषण गरेर समाधानको उचित प्रयोग गर्नुपर्छ। त्यस्तो गर्दा जनताको व्यावहारिक क्रान्तिकारी क्रियाकलापमा ठिक ढंगले प्रयोग गरेपछि मात्र ठिक ढंगले लागू भएर विकसित हुन्छ।

सिद्धान्त अदम्य र अजेय भौतिक शक्तिमा फेरिन्छ। व्यवहारमा लाग्दा प्रत्येक मान्छे एक न एक सैद्धान्तिक दृष्टिकोणबाट निर्देशित रहेको हुन्छ। सैद्धान्तिक क्रियाकलाप सामाजिक क्रियाकलापको एउटा महत्त्वपूर्ण अङ्ग हो। सिद्धान्त र व्यवहारबीच खाडल उत्पन्न हुने कारण सैद्धान्तिक कार्यले आर्थिक विकासक्रमद्वारा देखाएको बाटोबाट भिन्नै बाटो पत्ता लगाउने काममा आफूलाई तह लगाउँछ। त्यसो गर्दा आन्दोलनले तत्कालीन कार्यसूचिमा नराखेका नारासहित संघर्षको तयारी र तरिकालाई सो आन्दोलनमा थोपर्न खोज्छ। त्यसका साथै तथाकथित नेताहरूले मनोगत आधारमा सैद्धान्तिक क्रियाकलाप चलाउँछन्।

मार्क्सवाद-लेनिनवादको चिह्न-पाटी राखेर अवसरवादी तथा संशोधनवादी विचारको बिक्री गरिन्छ। नेता हुने महत्त्वाकांक्षा बोकेर कम्युनिस्ट पार्टीमा लागेका व्यक्तिको टकराबका कारण दर्जनौं कम्युनिष्ट नाम गरेका पार्टी अस्तित्वमा छन्। त्यसो हुने कारण आफ्नो योग्यताले भेट्न नसक्ने महत्त्वाकांक्षा बोक्नु नै हो। सिद्धान्त र राजनीतिक लाइनको महत्त्व नबुझीकन संगठन बनाउने अवसरवादी तरिकाले गर्दा त्यस्तो भएको हो।

संगठन नभए सिद्धान्त र राजनीतिक लाइनको अर्थ नहुने भएपनि संगठन भने सिद्धान्त र राजनीतिक लाइनपछि तेस्रो महत्वमा पर्दछ। सिद्धान्त र राजनीतिक लाइन विनाको संगठनले अवसरको खोजी बाहेक अरू केही गर्दैन। सिद्धान्तले हामीलाई संसार बुझ्ने र फेर्ने काममा सहयोग गर्छ। थिचोमिचो विरुद्धमा अब मुक्तिको लागि सफलतापूर्वक संघर्ष गर्ने क्षमता प्रदान गर्दछ। प्रमुख पक्ष मार्क्सवादी विश्व दृष्टिकोण हो। खगोल शास्त्रीको दूरबिन जस्तै हो। प्रयोगशालाको सूक्ष्म दर्शक यन्त्र जस्तै हो। अन्धकारको उज्यालो जस्तै हो।

लेनिनले भनेका छन्- ‘मानवजातिले सृजना गरेको सम्पूर्ण ज्ञान भण्डारबाट आफ्नो दिमागलाई समृद्ध पारेर मात्र तपाईं कम्युनिष्ट बन्न सक्नु हुन्छ।’ त्यसैगरी माओले भनेका छन्- ‘हाम्रो निष्कर्ष हो, मनोगत र बस्तुगतको, सिद्धान्त र व्यवहारको ज्ञान र ठोस कार्यको ऐतिहासिक एकता ………..।’ मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओको सिद्धान्त र व्यवहारको एकताका प्रतीक हुन्। हामीले आफूलाई उनीहरूले नमुनामा ढाल्न प्रयत्न गर्नुपर्छ। विभिन्न पक्षमा निरन्तर परिवर्तन र रूपान्तरण हुँदै सामाजिक जीवन अघि बढ्दै आएको छ …. धन्यवाद।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्