पुलिसलाई हराउँदै आर्मी बुकी कप भलिबल च्याम्पियन

valiball
लोकपाटी न्यूज
5 Shares

बागलुङ। त्रिभुवन आर्मी क्लब बुकी कप भलिबलमा च्याम्पियन बनेको छ। विभागीय डर्बी भिडन्तमा नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जित निकाल्दै आर्मी विजयी भएको हो। पुलिसलाई ३–२ प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो।

बागलुङको गल्कोट नगरपालिका ६ मजुवाफाँटमा सोमबार भएको फाइनलको पहिलो सेटमा आर्मीले २७–२५ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्न सफल भयो। त्यसपछि आर्मीले दुवै सेट २२–२५ र २१–२५ ले गुमाउन पुग्यो। चौथो सेटमा आर्मीले उत्कृष्ट प्रदर्शन गर्दै २७–२५ को पुनरागमन जित निकाल्दै खेललाई पाँचौ सेटमा लम्ब्याए। आर्मी २२–२४ ले पछि रहेपनि त्यसपछि लगातार दुई अंक जोड्दै खेललाई २४–२४ को बराबरीमा ल्याउन सफल भएको थियो। त्यसपछि एक अंक जोड्दै पुलिस च्याम्पियन नजिक पुगेपनि आर्मीले लगातार तीन अंक जोड्दै खेल आफ्नो पक्षमा पार्यो।

चौथो सेटमै जित नजिक पुगेपनि सेट गुमाएको पुलिसले पाँचौ सेटमा भने फितलो प्रदर्शन गर्यो । अर्कोतर्फ आर्मीले उच्च मनोबलका साथ खेल्दै सेटलाई आफ्नो पक्षमा पार्न सफल भयो। पाँचौं सेटमा ४–४ को बराबरीबाट लगातार ४ अंक जोड्दै आर्मीले ८–४ को अग्रता लिदै जिततर्फ अग्रसर बन्यो। त्यसपछि ११–६ को स्थितिबाट आर्मीले लगातार ५ अंक जोड्दै आर्मी च्याम्पियन बन्न सफल भयो। यससँगै आर्मीले लिग चरणमा भोगेको हारको बदला लिन सफल भएको छ।

प्रतियोगितामा गण्डकी प्रदेशलाई हराउँदै एपिएफ क्लब तेस्रो भएको छ। उपाधिसँगै आर्मीले ५ लाख,पुलिसले २ लाख ५० हजार र एपिएफले १ लाख २५ हजार रुपैयाँ प्राप्त गरेको छ। हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एण्ड इभेन्ट्स प्रालिको आयोजनामा पुस ८ गते सुरु भएको प्रतियोगितामा तीन विभागसँगै गण्डकी प्रदेश र गल्कोट नगरपालिकाको सहभागिता थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्