काँग्रेस-माओवादी नेताहरूबीच छलफल, के कुरा भयो ?

लोकपाटी न्यूज
10 Shares

काठमाडौं। सत्ता गठबन्धनका प्रमुख घटक नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान राष्ट्रियसभा चुनावका लागि सिट बाँडफाँटका विषयमा उनीहरूबीच छलफल भएको हो।

दुई दलका शीर्ष नेताहरूबीच आज कुन प्रदेशमा कुन दलको मतभार कति छ भन्नेबारे प्रारम्भिक छलफल भएको बुझिएको छ। काँग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए। माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ सहभागी थिए। माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि उम्मेदवारको मनोनयन भने पुस २३ गते गर्ने तालिका छ।

अहिले सत्तामा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नागरिक उन्मुक्ति पार्टी छन्। राष्ट्रिय जनमोर्चा सरकारमा नगए पनि उसले बाहिरबाट समर्थन गरेको छ। राष्ट्रियसभा निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता भएका छन्।

नेपालको संविधानमा राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनीत एक गरी २० सदस्यको पद रिक्त हुँदैछ।