विद्यार्थीमा सामाजिक मूल्यको विकास गर्ने ठाउँ खुला मैदान पनि हुन् : राष्ट्रपति

Ramchandra_Paudel
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र विद्यार्थीलाई पूर्ण बनाउन नसक्ने बताएका छन्। उनले परिवार, समाज र परिवेश समावेश हुने, खुला गरेर सिक्ने तथा गरिखाने पुस्तकविहीन शिक्षा पनि आवश्यक रहेको बताएका हुन्।

काठमाडौं महानगरपालिकाद्वारा मंगलबार आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा राष्ट्रपति पौडेलले युवा विद्यार्थीहरू शिक्षामा निरन्तर अग्रसर हुँदा उनीहरूमा नयाँ विचार र नवप्रवर्तन क्षमता पनि विकास हुने स्पष्ट पारे। उनले युवा विद्यार्थीको खेलकुदमा संलग्नता समृद्धि, सफलता र समाज निर्माणको आधार भएको बताए।

राष्ट्रपति पौडेलले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताए। उनले कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने बताए। उनले भने, ‘अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउने र विद्यार्थीमा अभिवृत्ति, सिप, ज्ञान, सामाजिक मूल्यको आर्जन र कार्य तत्परता विकास गर्ने खुला मैदान हुन्।’

शिक्षण सिकाइ विद्यार्थीका लागि शरीरमा मुटुजस्तै र शिक्षण सिकाइमा खेलकुदको समाविष्टता स्वनिर्भरता र सशक्तीकरणको प्राण भएको बताए। राष्ट्रपति पौडेलले भने, ‘खेलकुदकै माध्यमले युवा विद्यार्थीले आफ्नो आत्मविश्वास, सकारात्मक अनुभूति र अन्तर्निहित प्रतिभाको विकास गर्न सक्छन्। खेलकुद क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय तीन तहबाट यसमा यथेष्ट प्रयत्नहरू होउन् भनेर म सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउन चाहन्छु।’