सडक दायाँ-बायाँका रुख र पोलमा रङ रोगनको तयारी

लोकपाटी न्यूज
6 Shares

चितवन। भरतपुरको आँपटारीचोकदेखि देवघाटसम्म सडक दायाँ-बायाँका रुख र पोलमा रङ रोगन हुने भएको छ। रंग रोगनका लागि आवश्यक रङ बुधबार एक कार्यक्रमका बीच सशस्त्र प्रहरी बल आँपटारीलाई ९ सय लिटर रातो र सेतो रंग हस्तान्तरण गरिएको छ।

रंग खरिदका लागि ५ लाख ९९ हजार ४ सय खर्च भएको महानगरले जनाएको छ। रङलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले सशस्त्र प्रहरी बल आँपटारीका प्रमुख शशी पाण्डेलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।

महानगरपालिकाले दिएको रंगलाई सशस्त्र प्रहरीले सामाजिक उत्तरदायित्व अन्तर्गत रंग लगाउने कार्य गर्ने छ। करिब एक महिनाभित्र यो सडकमा रंग लगाउने काम सकिने छ। रङ हस्तान्तरण कार्यक्रममा भरतपुर महानगर प्रमुख दाहालले भरतपुर सहरको सौन्दर्याकरणका लागि देवघाट जाने सडकको दायाँ बायाँ रङ रोगन गर्न लागिएको बताइन्।

प्रमुख दाहालले विकास र समृद्धिको यात्रामा भरतपुरले फड्को मारेको र आशा लाग्दो ढङ्गबाट विकास र पूर्वाधारका दृष्टिले उत्कृष्ट महानगरका रुपमा अगाडि लम्किएको उल्लेख गरिन्। महानगरपालिकालाई हरियाली, सरसफाइयुक्त र उज्यालो सहर निर्माण गर्ने काम अनुरूप पहिलो चरणको स्मार्ट लाइट जडान गर्ने कार्य भई दोस्रो चरणको स्मार्ट लाइट जडानको कार्य अघि बढ्न लागेको जानकारी दिइन्।

महानगरले चोक सुधार कार्यक्रम, सडकहरूलाई मार्किङ गर्ने, चौतार मर्मत सम्भार, आवश्यक पूर्वाधार थप गर्ने लक्ष्य राखेको प्रमुख दाहालको भनाई छ। महानगरपालिकाले भरतपुरमा निर्माण भइसकेका सडकलाई हरियाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत वृक्षारोपण कार्यलाई पनि प्राथमिकताको साथ अगाडि बढाइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्