नेपाल-भारत संयुक्त आयोगको बैठक जारी

लोकपाटी न्यूज
8 Shares

काठमाडौं। नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक बसिरहेको छ। दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सुरु भएको बैठकमा परराष्ट्रमन्त्री एपी साउद र भारतीय विदेशमन्त्री डा. एस जयशंकरले आ-आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन्।

तीन वर्षपछि हुन लागेको बैठकमा विद्युत, व्यापार, आपसी सीमा समस्या, हवाई रूटलगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। बैठक सुरु हुनुअघि नेपाल र भारतबीच दीर्घकालीन व्यापार विद्युत सम्झौतामा हस्ताक्षर भएको थियो।

सिंहदरबारमा उर्जामन्त्री शक्ति बस्नेतको उपस्थितिमा भएको सम्झौतामा नेपालका उर्जासचिव गोपाल सिग्देल र भारतका उर्जा सचिव पंकज अग्रवालले हस्ताक्षर गरेका थिए। भारतीय विदेशमन्त्री डा जयशंकर दुई दिने भ्रमणका क्रममा आज नेपाल आइपुगेका हुन्।

मन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरिसकेका छन्।