राजनीतिक हस्तक्षेप रहँदासम्म विश्वविद्यालयमा सुधार हुँदैन : नेता कोइराला

Shekhar_Koirala
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक हस्तक्षेप नत्यागेसम्म विश्वविद्यालयमा सुधार हुन नसक्ने बताएका छन्। सुनकोशी इन्द्रावती समाजद्वारा आज बिपी कोइराला लायन्स तथा अध्ययन केन्द्र महाराजगञ्जमा आयोजित ‘सम्मान एवम् प्रमाणपत्र वितरण’ कार्यक्रममा उनले विश्वविद्यालय सुधारका लागि राजनीतिक हस्तक्षेप त्याग्नुपर्नेमा जोड दिए।

‘हामीले अहिले मुलुकमा १७ विश्वविद्यालय खोल्यौं भनेर गर्व गछौं। तर उक्त विश्वविद्यालयमा विद्यार्थी छन् कि छैनन् भनेर सोच्नुपर्ने बेला आएको छ,’ उनले भने। नयाँ सोच लिएर अगाडि बढ्न नसके सबै विश्वविद्यालय धरापमा पर्ने अवस्था आएको उनको भनाइ छ। उनले त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय मान्यता र गुणस्तरीय शिक्षा हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे।

उनले देशलाई विकास गर्दै मुलुकमा रोजगारी सिर्जना गर्नका लागि अहिलेको अवस्थामा समयसापेक्ष शिक्षा कस्तो बनाउने भन्ने कुरामा सरकारले विचार पुर्‍याउनुपर्ने बताए। ‘के कुरामा विद्यार्थीको लगाव छ र राष्ट्रले के चाहेको छ सोहीअनुसारको शिक्षा प्रदान गर्नुपर्छ,’ उनले भने।

नेता कोइरालाले गत वर्ष मात्र नेपालबाट विदेशमा अध्ययन गर्नका लागि एक लाख २७ हजार विद्यार्थी विभिन्न मुलुकमा गएको भन्दै तिनीहरूलाई नेपालमै बस्ने व्यवस्था मिलाउन नसकिएकामा चिन्ता व्यक्त गरे। जिल्ला-जिल्लामा मेडिकल कलेज खोल्ने कुरा सम्भव नभएको उनको भनाइ थियो। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्