कोरियाली समाजबाट लिनुपर्ने शिक्षा : राष्ट्र निर्माणमा जनताको कठोर मेहनत र बलिदान

लोकपाटी न्यूज
39 Shares

अध्ययन अनुसन्धानको सपना बोकेर दक्षिण कोरियाको राजधानी सउलको एउटा निजी विश्वविद्यालयमा कार्यरत छु। हामी यहाँ एउटै प्रयोगशालामा चार नेपाली युवा सोधकार्य गरिरहेका छौं। अर्को प्रयोगशालामा यही शैक्षिक सत्रदेखि नयाँ नेपाली विद्यार्थी भर्ती भएका छन्। हामी सबैको विविध भोगाइ र अनुभवको साझा निष्कर्ष छ। हामी यहाँ विद्यार्थीभन्दा पनि शैक्षिक मजदुर हौं।

हाम्रा सपना भने फरक छन्। कोही संसारको उत्कृष्ट विश्वविद्यालयमा अनुसन्धानकर्ता बन्ने र विकसित देशको नागरिक बन्ने कुरा गर्छन्। म सहित कोही निकैसानो स्वरमा स्वदेश फर्किए र आफूले सिकेको ज्ञान र अनुभव मातृभूमिको सेवामा लगाउने भन्छौं। परदेश मै भविष्य बनाउने भन्नेहरू दृढ निश्चयी देखिन्छन्, देश फर्किन्छु भन्नेहरू आत्मविश्वास विहीन भएको अनुभूत हुन्छ। किनकि स्वदेश फर्किएर के गर्ने सपना शून्यमा छौं।

मार्मिक घटनाले झस्कायो

म विज्ञानको विद्यार्थी, मैले त आफ्नो विषयसम्बन्धी शोधकार्य पढ्न ज्यादा समय दिनुपर्ने हो। तर म देशको समाचारमा बढी चासो दिइरहेको हुन्छु। र, खबर पढ्दै चिन्तित हुन्छु। प्रयोगशालामा काम गर्दागर्दै जब मैले अनलाइनमा समाचार पोर्टल खोलें, त्यहाँ एउटा मार्मिक घटना घटेको पाएँ। नेपालमा केही दिन अघि मात्र कोरियामा जहाज निर्माण क्षेत्रमा काम गर्न परीक्षा दिएर अनुत्तीर्ण भएका युवाहरूले अन्य क्षेत्रको परीक्षामा पनि सामेल हुनु पाउनुपर्छ भन्दै विरोध गरेका र विरोधकै क्रममा मन्त्री सवार गाडीमा आगजनी गरे भन्ने समाचार देखेँ। म भावशून्य बने!

नेपाली समाज राजनीतिक र सांस्कृतिकरूपमा गम्भीर मानसिक रोगले ग्रसित बन्दैछ भन्ने निष्कर्षमा भएको, तर यो अवस्थाको कल्पना मात्र पनि नगरेको म खिन्न बन्न पुगेँ। केही समयपछि दुई युवाहरूले हुलदङ्गामा ज्यान गुमाए भन्ने हेडलाइन देखेँ। समाचार पुरा पढिन सक्दै म विक्षिप्त बन्न पुगेँ। एक पटक राज्यसत्तालाई गाली गरेँ, एक पटक अनाहकमा राज्य र सार्वजनिक सम्पत्तिमा आगो झोस्न जाने युवकहरू प्रति मुर्मुरिएँ र आफूलाई सम्हाले। आफ्नो नित्यकर्म बौद्धिक र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा काम गर्दै गरेँ। र पनि विदेशी प्राध्यापकले कहिले घुमाउरो त कहिले सिधैँ गरिब देशको सम्झेर गर्ने तुच्छतम व्यवहारले दुखी मेरो मनलाई यही देशमा तल्लो स्तरको मजदुरी गर्न पाउनु पर्‍यो भन्दै हाम्रा नवजवानहरू अराजक हर्कत गर्दै राज्यसत्ताको गोली खाएर ढलेको कुराले चिमोटी रहेको छ।

हामी पनि मजदुर

मानव इतिहासले भन्छ- ‘मजदुरहरूको कुनै देश हुँदैन।’ उनीहरूको रगत हुन्छ, पसिना हुन्छ। दुई छाक टार्ने सपना हुन्छ। त्यही सपनाको आशामा रगत पसिना जहाँ बेच्न पाइन्छ, मजदुर त्यही पुग्छ। हिजो मजदुर दाशको रुपमा पुर्‍याइए। आज ज्याला दिएर लगिन्छ। त्यसबाट केही सपना किन्न सकिन्छ। केही रकमको बिटो हातमा पर्दा जन्मने आडम्बरले ठूलो देखाए पनि मजदुरको जीवनमा तात्त्विक परिवर्तन भएको हुँदैन। आज हामी कुनै न कुनै रुपमा मजदुरी गरिरहेका छौं। हाम्रा सन्तति पनि गर्नेछन्।

स्वदेशमा बेचौं या विदेशमा इमानदारपूर्वक रगत पसिना बेच्ने र सुखी जीवन बाँच्न चाहनु हाम्रो कुनै दोष हैन। हाम्रो दोष भनौं या पाखण्डपन, हामी सामान्य मानिसले यथार्थको पहिचान गर्ने गरी हाम्रा आँखा कहिल्यै खोलेनौं। हामी केवल कुनै न कुनैरुपमा राजनीतिज्ञ र धनाढ्यहरूले प्रयोग गर्ने कमसल तर उनीहरूका लागि उच्च आम्दानी दिने साधन सिवाय आफ्ना लागि केही बन्न सकेनौं। नत्र आज सामान्य नेपालीको अवस्था किन यो स्थितिमा पुग्थ्यो ?

सभ्यता र अस्तित्व नामेट

आज देशको वर्तमान अवस्थालाई मनन गर्दा हामी कोही अझै पुरातनवादी सोचबाट जाग्न सकेका छैनौं। वर्तमान व्यवस्थालाई बदनाम गरी पुरानो राज्यव्यवस्था फर्काउन बुझी नबुझी पछि लागेका छौं। हिजो धमिलो पानीमा माछा मार्न पल्केकाहरू आज आफ्नो अस्तित्व फिर्ता लिन उद्धत देखिन्छन्। उनीहरूका राजनीतिक हतियारको रुपमा काम विहीन युवाहरू प्रयोग भइरहेका छौं। कोही यथास्थितिवादीको ढालको रूपमा खडा छौं। कोही समाजमा नैराश्यताको डढेलो सल्काएर खरानीमाथि आलिसानको सिंहासन बनाउने दुस्वप्ना देख्नेहरूको बारुद बनिरहेका छौं। हामी जो-जे गरिरहेका छौं, हाम्रो वर्तमान र भविष्य मात्र हैन, हाम्रो आफ्नै सभ्यता र अस्तित्व नामेट पार्ने दिशातर्फ दगुरिरहेका छौं।

हामीलाई प्रयोग गरेर कसैले गुमेको सत्ता फिर्तालेला, कसैले आफ्नो सत्ताको निरन्तरता कायम राख्ला र कोही नयाँ अनुहारले सत्ता प्राप्त गर्ला। तर हामीले परिस्थितिलाई जाँच गर्न जबसम्म सक्दैनौं, आफ्नै आँखा खोल्दैनौं र हाम्रो विकासको लागि सामूहिकरुपमा अग्रसर हुँदैनौं, तबसम्म हाम्रो स्थितिमा कुनै परिवर्तन हुने वाला छैन। अहिलेभन्दा झन् कहालीलाग्दो दुःख हामीले भोग्न पर्ने दिन निःसन्देह आउने छ।

वास्तवमा हामीले गर्ने के त ? मेरो विचारमा आज जुन देशमा मजदुरी गर्न हामी यथार्थ नबुझी ज्यानको बाजी लगाइरहेका छौं। त्यो देश कस्तो इतिहासबाट वर्तमान अवस्थामा कसरी आइपुग्यो भनेर गम्भीरताका साथ अध्ययन गर्नै पर्दछ।

त्यसबाट शिक्षा हासिल गरेर हामीले आफ्नो परिस्थिति अनुसार त्यसको सदुपयोग गर्ने कोसिस मात्र गर्ने हो भने हामीले हाम्रो समाजप्रति आफ्नो दायित्व बुझ्ने थियौं। यसको लागि हामीले विश्वविद्यालयमा इतिहास पढिराख्न जरुरत छैन। हामीले प्रायोजितरुपमा फैलाएका दूषित कुरामा रमाउन हुँदैन। बेतुक शब्दका क्रिया प्रतिक्रियामार्फत सामाजिक सञ्जाल नै बदनाम बनाउने काम गरी समय फाल्न हुँदैन। बरु गुगलमा खोजेर आफ्नै भाषामा पढ्दै समयको सदुपयोग गरी आफ्ना पाखुरीले आफ्नो भविष्य कोर्ने बाटो अवलम्बन गर्नु पर्दछ।

हामीले बुझ्ने छौं, अहिले जति खराब परिस्थितिमा हामी छौं। त्योभन्दा हामीले कल्पनै गर्न नसक्ने दुरावस्थाबाट उठेर कोरियाली जनताले आफ्नो देशलाई यहाँ ल्याइपुर्‍याएका छन्। जहाँ जान हामी मरिहत्ते गरिरहेका छौं।

कोरिया युद्ध पछिको र आजको राजधानी सउल। (तस्बिर स्रोत-गुगल)

कोरियाली समाजबाट सिकौं

कोरियाली समाज साम्राज्यवादीबाट छिया छिया पारिएको एउटा बलात्कृत समाज हो। विश्वयुद्ध पश्चात यहाँ आन्तरिक युद्ध सुरु भयो। जहाँ संसारका अधिकांश देश विचारको नाममा भेला भए। कोरियाली जनताको टाउकोमा गोला बारुद पट्काएर लडे। सन १९५० देखि ५३ सम्म चलेको तीन वर्षे युद्धमा बिसौं लाख कोरियालीले मृत्युवरण गरे। देश टुक्रियो, समाज ध्वस्त भयो। चिहान मात्र पनि सग्ला रहेनन्।

तीन महिना हिउँमा जम्ने अनुत्पादक डाँडाकाँडाको फेदीका ससाना उपत्यकामा बस्ने मानिसहरू लामो समयसम्म भोकमरीमा मर्न बाध्य भए। उनीहरूको बाँच्ने विकल्प एउटै रह्यो, वैदेशिक रोजगारी। लाखौं कोरियाली पश्चिम जर्मनीका कोइला खानीमा निकृष्ट हालतमा मजदुरी गर्न थाले। मजदुरीको सिलसिलामा कोरियालीहरू साउदी अरबका तेल खानी देखी उत्तर अमेरिका, ल्याटिन अमेरिका र अफ्रिकासम्म भौँतारिए। जब सन १९६१ मा जनरल पार्क चुगंहीले बहुदलीय सत्ता आफ्नो हातमा लिए र सबैभन्दा धेरै कोरियालीलाई रोजगार दिने पश्चिम जर्मनीको भ्रमणमा गरे, हजारौं कोरियाली मजदुर विमानस्थलमा भेला भए र आफ्नो अवस्था सम्झँदै आफ्नो नेता सामु डाँको छोडेर रोए।

त्यै विदेशी भूमिको आँसु, रगत र पसिनाबाट आजको कोरियाको जग बसेको यहाँका मानिसहरू मान्छन्। विदेशमा रगत पसिना बगाउने कोरियाली मजदुरहरूले ’विश्वभर कोरियाको बीउ रोपौँ’ भन्ने नारा दिएर ‘कोरिया ओभर सि डेभलपमेन्ट अर्गनाइजेसन्’ नामको संस्था खोले। जसमार्फत विदेशी भूमिमा रगत पसिना बगाएर कमाएको पैसा राष्ट्र निर्माणमा लगानी गर्न थाले। जसमा टेकेर उभिएको कोरियामा आउन हामी ज्यानै फाल्ने चरणमा आइपुगेका छौं।

वैदेशिक रोजगारीको आवेदनका लागि कोरिया इन्टरनेस्न्ल् कोअपरेसन एजेन्सीमा भेला भएका कोरियाली पश्चिम जर्मनीको कोइला खानीमा काम गर्ने मजदुर। (तस्बिर स्रोत-गुगल)

कुनै पनि देश बन्नको लागि त्यो देशका जनताको कठोर मेहनत, बलिदान, रगत पसिनासँगै उच्चस्तरीय चेतना र धैर्यता चाहिन्छ भन्ने उदाहरण कोरिया हो। जब जनता यी कुरालाई मनन गर्छन् र यस्ता चरित्र धारण गर्छन्, तब देशमा असल नेता जन्मन्छ।

विषाक्त मानसिकता

जनताको हरबखतको चनाखोपनबाट मात्र उसले असल नेतृत्व दिन्छ। हाम्रो समाज एउटै जातीले बनेको कोरियाली समाजभन्दा भिन्न बहुजातीय, बहुसांस्कृतिक युक्त अतीनै संवेदनशील समाज हो। विकास लहड र चाहना गर्दैमा हुने हैन। यसका लागि निकै सुझबुझ र कौशलता चाहिन्छ। इतिहासदेखिको सत्ताधारीहरूको षडयन्त्र र जलझेल निरन्तरताको रुपमा रहेको नेपाली शासन पद्धति र त्यसले जनतामा भरेको विषाक्त मानसिकताले हाम्रो नेपाली समाजको विकास कदापि हुँदैन। दल र नेतालाई आज हामी जुन गाली गरिरहेका छौं र अराजकतातर्फ उन्मुख भइरहेका छौं, यो कसैको प्रयोजनमा भइरहेछ। यो कुत्सित स्वार्थ बोकेका पुरातनवादी सोचका लागि हामीले हाम्रो उर्जा खेर फालिरहेका छौं।

र, अन्तमा,

हामीले त परिस्थितिलाई सही मूल्यांकन गर्दै राज्यसत्ताको सकारात्मक परिवर्तनको लागि खबरदारी गर्नु पर्ने थियो। हामीले सामूहिकताको भावना बनाउँदै हाम्रो माटोमा फल्ने विकासको राज्यसत्ताको माग गर्नुपर्ने थियो। आज सामाजिक सञ्जालमा ती मान्छेहरू, जो राष्ट्रलाई लात हानेर परदेशी भएका छन्, तिनीहरू नै देश बरबाद छ, देशमा केही हुन्न भन्दै समग्र राष्ट्र, सत्ता र नेतृत्वप्रति वितृष्ण फैलाइरहेका छन्। जसको पछाडि हामी अधैर्य हुँदै दगुरिरहेका छौं। समाजलाई रोगी बनाइरहेका छौं। हामी आज लाखौं नेपाली जनशक्ति विदेशमा छौं। हामी संसारभर पुग्नुपर्छ। हामी सबै मिलेर कोरियाली जनताले जस्तै नेपाली बीउ संसारभर छर्नुपर्छ। हाम्रा रगत पसिनाबाट गरेको कमाइ राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्छ। स्वदेशमा फर्किएर आफ्नो आँगनमा फूलबारी बनाउनु पर्छ। जब हामी जनता असल बाटोमा हिँड्न सुरु गर्छौं, तब मात्र असल नेतृत्व देशमा जन्मन्छ। र हाम्रो समृद्ध देश निर्माणको सपना पुरा हुन सक्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्