डेडिकेटेड र ट्रंक लाइन महसुल छानबिन गर्न समिति गठन हुनु स्वागतयोग्य : चेम्बर

लोकपाटी न्यूज
3 Shares

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले डेडिकेटेड र ट्रंक लाइन विद्युतको महसुल सम्बन्धमा न्यायोचित समाधानका लागि छानबिन समिति गठन गर्ने सरकारको कदम स्वागतयोग्य भएको बताएको छ।

उच्चस्तरीय न्यायिक आयोग गठन मार्फत विद्युत महसुल समस्या समाधान हुनेमा विश्वस्त रहेको चेम्बरले जनाएको छ। नेपाल चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लोडसेडिङको समयमा केही उद्योगमा जडित डेडिकेटेड र ट्रंक लाइन विद्युत महसुलबारे विद्युत प्राधिकरण र उद्योगीबीच मतभिन्नता हुँदा यसले समग्र लगानी र व्यवसायमैत्री वातावरणमा असर गर्ने देखिएको थियो। ढिलै भएपनि समस्या समाधान हुनेमा विश्वस्त छौं।’

सर्वोच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले निर्धारित समयमा आफ्नो छानबिन पुरा गरी न्याय निरूपण गर्ने चेम्बरले उल्लेख गरेको छ। मन्त्रीपरिषद्को निर्णय स्वागत योग्य रहेको भन्दै चेम्बरले लगानी र व्यवसायमैत्री वातावरण सिर्जना गर्नका लागि सरकार र निजी क्षेत्र दुवैको भूमिका उत्तिकै जिम्मेवार हुने बताएको छ।

प्राधिकरण र उद्योगीबीच समस्या समाधान गरी लगानीको वातावरण सिर्जना गर्नुपर्ने चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। डेडिकेटेड र ट्रंक लाइन विद्युत महसुल विवादमा दीर्घकालीन समस्या समाधान खोज्नसमेत चेम्बर अफ कमर्सले छानबिन समितिसमक्ष आग्रह गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्