राष्ट्रियसभा निर्वाचन : सबै निर्वाचन अधिकृतको कार्यालयमा पुग्यो मतपत्र

Nirbachan_Aayog_Election
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ गरी निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याएको छ। आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुर्‍याइएको जानकारी दिए।

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि छुट्टाछुट्टै मतपत्र बनाइएको छ। प्रवक्ता पन्थीअनुसार प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको मतपत्र छापिएको छ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको मतपत्र छापिएको छ। कोसी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९२०, मधेस प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९४०, वाग्मती प्रदेशमा चार पदका लागि आठ प्रकारका एक हजार ७६० मतपत्र पठाइएको उनले बताए।

त्यस्तै, गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्र, लुम्बिनी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ७४० मतपत्र छापिएको छ। कर्णाली प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ७५० मतपत्र र सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्र पठाइएको छ।

१९ राष्ट्रियसभा सदस्य पदका लागि माघ ११ गते मतदान हुँदैछ। बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। त्यसका लागि ३८ प्रकारका कुल ६ हजार ९१० मतपत्र पठाइएको पन्थीले बताएका छन्। निर्वाचनबाट निर्वाचित हुने राष्ट्रियसभा सदस्यहरूको पदावधि २०८० फागुन २१ गते देखि ६ वर्षसम्म रहनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्