पर्यटकको पर्खाइमा भरतपुरका पर्यटकीय स्थल

visit bharatpur pic
लोकपाटी न्यूज
7 Shares

सुरेन कुँवर / चितवन, ५ माघ। भरतपुर भ्रमण वर्ष २०२४ को घोषणा भएसँगै पर्यटकीय पूर्वाधारहरू निर्माण हुने क्रम बढेको छ। भ्रमण वर्षमा यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई खाना, बस्न, पर्यटकीय स्थल घुमाउन र संस्कृति प्रस्तुति देखाउन भरतपुरवासी तयारी अवस्थामा बसेका छन्।

भ्रमण वर्षमा यहाँको रैथाने खाना पस्कन भरतपुरवासीले आवश्यक वस्तुहरूको उचित भण्डारण गरी राखेका छन्। भरतपुर-२४ का स्थानीय नवीन श्रेष्ठले पर्यटकलाई कोदो र फापरको रोटी, गहतको दाल र पिँडालुको तरकारी पस्कन खाद्यान्नलाई प्रशोधन गरी भण्डार गरेको बताए। यस्तै भरतपुर-२८ गोला घाटका सानु चौधरीले ३ सय वटा हाँसको चल्ला पाल्न सुरु गरेको जानकारी दिए। चौधरीले एक दिनमा १ सय जना पर्यटकलाई पुग्ने गरी घुँगीको सेट पस्कन सक्ने गरी तयारी पनि गरेको बताए।

भ्रमण वर्षमा आउने पर्यटकलाई राख्ने गरी पछिल्लो समय दर्जनौँ होमस्टेहरू खुलेका छन्। दर्जनौँ होमस्टे थप भएसँगै महानगरको मेघौली गोला घाट, पटिहानी जगपुर लगायतका पर्यटक गन्तव्यमा करिब २ सय बेड क्षमताको होमस्टेमा आवासको सुविधा रहेको छ। भरतपुर महानगरपालिकामा दैनिक ७ हजार पर्यटकलाई आवास सुविधा दिन सकिने व्यवस्था रहेको छ भने गैँडाकोट र सौराहालाई समेट्दा १५ हजार ७ सय पर्यटक राख्न सकिने तथ्याङ्क छ।

भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरी भरतपुरमा जिप सफारीको सङ्ख्या वृद्धि गरिएको छ। पर्यटकको मुख्य रोजाई जङ्गल सफारी हुने अनुमानका साथ जिप सफारी गाडी थप गरिएको हो। भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ सल्लाहकार विश्वराज सुवेदीले यस अघि एक दर्जन मात्र जिप सफारी रहेकोमा अहिले तेब्बर जिपहरू थप गरिएको बताए।

जिप सफारी गर्न चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरबाट प्रवेश गर्ने व्यवस्था रहेको छ। भरतपुरका राप्ती र नारायणी नदीको तटीय क्षेत्रमा बनेका होटलहरुले आफ्नै जिप सफारी सञ्चालन गर्दै आएका छन् भने अब जिप सफारीको छुट्टै व्यवस्था गर्न लागिएको छ।कसाराबाट १ घण्टादेखि ४ घण्टासम्म जिप सफारीको प्याकेज रहेको छ। यस्तै राप्ती तथा नारायणीमा डुङ्गा थप गर्ने तयारी पनि भइरहेको पर्यटन विज्ञ सुवेदीले जानकारी दिए।

भरतपुरमा वार्षिक ३० हजार बाह्य पर्यटक आउने तथ्याङ्क रहेकोमा भ्रमण वर्ष २०२४ मा २ लाख बाह्य पर्यटक र ५ लाख आन्तरिक पर्यटक भित्र्याउने महानगरपालिकाले लक्ष्य लिएको छ। पर्यटकलाई केही नयाँ कुरा दिउँ भन्ने उद्देश्यले विशेष गरी चितवन राष्ट्रिय निकुञ्ज अवलोकन, हात्ती सफारी र जिप सफारीका लागि पर्यटक आउने गरेका छन्।

भ्रमण वर्षमा पर्यटकलाई बाघ देखाउने गरी भरतपुर ६ देव नगरमा निर्माण गरिएको बाघको केज निर्माण भइसकेको छ। अबको केही दिनमा चितवन राष्ट्रिय निकुञ्जको उद्धार केन्द्रमा रहेको बाघलाई यहाँ स्थानान्तरण गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जाले जानकारी दिए। यही स्थानमा गैँडा पनि राख्न मिल्ने गरी तार बारको काम पनि अघि बढाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्