‘समुदायमा काँग्रेस’ अभियान सुरु गर्दै काँग्रेस

लोकपाटी न्यूज
7 Shares

चितवन। नेपाली काँग्रेस चितवनले यही माघ १३ गतेदेखि समुदायमा काँग्रेस अभियान सञ्चालन गर्ने भएको छ। काँग्रेसको केन्द्रीय निर्णयानुसार चितवनमा ‘समुदायमा काँग्रेस’ अभियान सञ्चालन गर्न लागिएको हो।

माघ १३ देखि २६ गतेसम्म काँग्रेसको ‘समुदायमा काँग्रेस’ अभियान सञ्चालन गर्न लागिएको काँग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए। जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि डा गोविन्दप्रसाद पोख्रेलको उपस्थितिमा जिल्ला कार्यसमितिको विस्तारित बैठक बसी ‘समुदायमा काँग्रेस’ अभियानको प्रारूप तयार गरिने खनालले बताए।

अभियानलाई सार्थकरूपमा सफल पार्न जिल्लास्थित पालिकाको प्रत्येक वडामा नेपाली काँग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला पदाधिकारी र प्रत्याशी तथा जिल्लास्तरका वर्तमान एवं पूर्व नेतृत्वलाई वडा प्रतिनिधिका रूपमा खटाइने उनले जानकारी दिए।

यस अभियानअन्तर्गत चितवनका सात पालिकाका ९८ वटै वडामा खुला छलफल तथा बहस कार्यक्रम राखी नागरिकको गुनासो सुन्ने र सुझाव संकलन गरिने छ। अभियानकै क्रममा विकास निर्माण आयोजना, विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालयलगायत जनसरोकारका कामकारबाहीको अवलोकन गरिनेछ।

काँग्रेसलाई जनतासँग जोड्ने एवं पार्टी र जनप्रतिनिधिबीचमा समन्वय र सहजीकरणका लागि पार्टीका वडा सभापतिलगायत तीन जना निर्वाचित वडाध्यक्ष वा अध्यक्षको उम्मेदवारलगायत तीन र पार्टीका शुभेच्छुक दुई गरी आठ जनाको संयन्त्र निर्माण गरिने खनालले बताए। यस अभियानबाट प्राप्त सुझावका आधारमा पार्टीको आगामी रणनीति र कार्ययोजनासमेत तय गरिने छ।