पर्वत अस्पतालको सेवा विस्तारमा जोड

लोकपाटी न्यूज
3 Shares
  • निर्मल पौडेल

 कुस्मा। पर्वत अस्पतालको सेवामा सुधारसँगै सेवा विस्तार गर्नुपर्नेमा जोड दिइएको छ। अस्पतालको ३४ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित एक कार्यक्रमका सहभागीहरूले अस्पतालको सेवामा गुणस्तरीयता कायम गर्दै थप सेवाहरू सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

कार्यक्रममा राष्ट्रियसभाका सदस्य मनरुपा सुवेदी विमलाले अस्पतालको गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताइन्। उनले पर्वत अस्पताललाई आम नागरिकहरूको भरोसाको केन्द्र बनाउनुपर्नेमा जोड दिइन्। सानोतिनो रोगको उपचारका लागि पनि पोखरा, काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य गर्न अस्पतालको सेवा बिस्तार गरिनुपर्ने उनको भनाई छ। स्वास्थ्यको हेल्चक्राइ कसैले पनि गर्न नहुने भन्दै उनले स्वास्थ्यलाई मौलिक हकको रुपमा लिनुपर्ने बताइन्।

गण्डकी प्रदेशसभा सदस्य भक्त कुवरले अस्पतालको गुणस्तर राम्रो भएमा मात्र अस्पतालप्रति बिरामीहरूको विश्वास आर्जन गर्न सकिने बताए। उनले अस्पतालमा एम्बुलेन्स र नेक्ससाइमनको प्रोजेक्ट ल्याउन भूमिका खेलेको भन्दै आगामी दिनहरूमा पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए।

यस्तै मोदी गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले पर्वत अस्पतालमा हेमो डायलासिस सेवाको लागि आफ्नो पालिकाले सहयोग गरेको बताइन्। उनले अस्पतालको क्षमता अभिवृद्धि गर्ने विषयमा पालेकाले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले अस्पतालसँगको सहकार्यमा आफ्नो पालिकाले स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्य सञ्चालन गर्दै आएको स्मरण गराइन्।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरिले अस्पतालको श्रीवृद्धिका लागि निरन्तर लागिपरेको बताए। उनले आफू अध्यक्ष भएर आएसँगै अस्पतालको भौतिकस्थिती र गुणस्तरीय स्वास्थ्य सेवामा जोड दिइरहेको बताए। अस्पतालले गुणस्तरीय सेवा दिइरहेको उल्लेख गर्दै अध्यक्ष गिरिले बिरामीलाई उपचारका लागि अब पोखरा, काठमाडौं गइरहनुपर्ने अवस्था नरहेको बताए। उनले आफू अध्यक्ष भएपछि १५ शय्याको अस्पतालमा ४५ शय्या थप गरी ६० शय्याबाट स्वास्थ्य सेवा प्रदान गरेको बताए। वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अस्पतालका उत्कृष्ट कर्मचारीलाई सम्मानसमेत गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्