यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय

mantriparisad-meeting-9
लोकपाटी न्यूज
14 Shares

काठमाडौं। सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा रौतहटका उमाशंकर प्रसादलाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उमाशंकरलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा रौतहट निवासी उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय भएको छ,’ बैठकका निर्णय सुनाउँदै मन्त्री शर्माले भनिन्। त्यस्तै सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा निजी क्षेत्र समेतको प्रतिनिधित्व हुनेगरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ।

उनका अनुसार सरकारले नेपाल वायुसेवा निगम ऐन, २०१९ दफा ४ को उपदफा ४ बमोजिम नेपाल वायुसेवा निगमको रिक्त उपाध्यक्ष पदमा सञ्चालक समितिका सदस्य विक्रम राईलाई नियुक्त गरेको छ।

त्यस्तै सरकारले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्य पदमा सिन्धुपाल्चोक निवासी लेखनाथ लामा र काठमाडौं निवासी डा. सहारा श्रेष्ठलाई मनोनयन गरेको छ। बिहीबारकै बैठकले ‘सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसद्‍मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ।