राज्यलाई ठग्नेहरूलाई कारबाही गर्न खोज्दा दबाब आउँछ : गृहमन्त्री श्रेष्ठ

NarayanKaji_Shresth
लोकपाटी न्यूज
8 Shares

कास्की। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराध र ठगीमा लागेका कसैलाई पनि छुट दिन नसक्ने बताएका छन्। पोखरामा आज गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले राज्यलाई ठग्नेहरूलाई कारबाही गर्न खोज्दा राजनीतिक दबाब आउने गरेको बताए।

कुनै अपराध, ठगी, जालसाजीमा राजनीतिमा जोडिएको मान्छे पर्‍यो भने राजनीतिक पार्टीका नेताहरू कराउन थाल्ने गरेको उनको भनाइ छ। गल्ती, अपराध गर्नेहरूलाई कारबाही गर्न थाल्ने बित्तिकै उद्योगी व्यवसायीहरूले वक्तव्यबाजी सुरु गर्ने गरेकोप्रति मन्त्री श्रेष्ठले असन्तुष्टि व्यक्त गरे।

‘अपराध, ठगी, लुट र जालसाजीमा कसैलाई पनि छुट दिन सकिँदैन। कुनै पक्राउ पर्नासाथ दबाब भइरहे देशले पनि छुट दिन सक्दैन। आफ्ना कर्तव्य निर्वाह गर्दा कुनै पनि हस्तक्षेप नसहन म सुरक्षा निकायलाई अपिल गर्छु,’ उनले भने, ‘अपराध, ठगी, जालसाजी र लुटमा पक्राउ परेपछि राज्यका उच्च निकायमा दबाब दिने, नेता तथा प्रभावशाली व्यक्तिलाई भनसुन गर्ने प्रवृत्ति देखा परेको छ। कर्मचारी पक्राउ पर्दा संगठनले दबाब दिने, व्यवसायी पक्राउ पर्दा निजी क्षेत्रले पत्रकार सम्मेलन गरी दबाब दिने प्रवृत्ति हाबी भएको छ। अपराधी कसैलाई पनि छुट दिइने छैन।’

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा व्यापारी अरुण चौधरी, कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र आम्रपाली कन्ट्रक्शनका सञ्जय ठाकुरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिजो पक्राउ गरेको थियो। उनीहरू पक्राउ परेलगत्तै नेपाल उद्योग परिसंघले पत्रकार सम्मेलन गरेर व्यापारी चौधरीलाई प्रहरीले अकस्मात् पक्राउ गरेर निजी क्षेत्रको मानमर्दन गरेको बताएको थियो।

सोही विषयतर्फ लक्षित गर्दै गृहमन्त्री श्रेष्ठले कसैलाई पनि जालसाजी गरेर ठग्ने छुट दिन नसकिने बताएका हुन्। निजी क्षेत्रको सहयोगबिना देशको अर्थतन्त्र सकारात्मक दिशामा जान नसक्ने भनेर आफूहरूले निजी क्षेत्रलाई भनिरहेको उनले बताए। तर, कर तिरेको छु भनेर कसैलाई पनि अपराध गर्ने छुट नभएको श्रेष्ठको भनाइ थियो। गृह मन्त्रालय भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न लागेको प्रष्ट पार्दै उनले त्यसमा अनेक अवरोधको सामना गर्नुपरेको संकेत गरे। भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासन कायम गरिएन भने जतिसुकै कुरा गरे पनि समृद्धिले फड्को मार्न नसक्ने गृहमन्त्री श्रेष्ठले बताए।