युवा मनोविज्ञानमा रूपान्तरणको खाँचो

लोकपाटी न्यूज
16 Shares
  • सुजन पौडेल

नेपालमा युवा पलायन पिरलोको विषय बनेको छ। देश छाडेर विदेशमा काम गर्न र उतै बस्न जाने युवाहरूको संख्या बढ्दो क्रममा छ। दैनिक हजारौं युवा मुलुक छाडेर विदेशीयका छन्। अवसर र रोजगारीको लागि मात्र होइन, पढाइ र कामको बहानामा विदेशीनेको संख्या पनि उस्तै छ। अर्कोतर्फ देशभित्र रहेका युवाहरू पनि निराशाजनक अवस्था देखिन्छन्। युवा पलायनको बढ्दो प्रवृत्ति, कारण र चुनौती अहिले निकै बहसका विषय हुन्।

गाउँघर अहिले रित्तिँदो अवस्थामा छन्। जो गाउँमा छन् उनीहरूको मनोविज्ञान पनि विदेशी जाने नै रहेको देखिन्छ। यदि कसैलाई उसको भविष्यको विषयमा प्रश्न गर्ने हो भने उत्तर तयार छ, विदेश। यहाँ बसेर के गर्ने ? नेपालमा भविष्य नै छैन। नेपालमा त क्यारियर नै छैन। नेपालमा त रोजगारी गरेर खान नि पुग्दैन। मलाई त आफूले पैसा कमाएर विश्व घुम्नु छ। यहाँ कमाएकोले त भातको थालमा तीन थरी तरकारी कचौरामा घुमाएर राख्न सकिन्न। विदेशमा गएर पढ्नुको कुरो नै अर्कै। उताको सर्टिफिकेटको पो मान्यता। उता सिक्न पो मज्जा आउँछ।

यहाँको पठाइ नै झुर छ। क्याम्पसमा सधैँ राजनीति हुन्छ, पढाइ हुँदैन। बरु उता गयो, पढ्यो अनि नेपाल फर्कियो। नेपालमा स्तरीय पढाइ हुने ठाउँ नै छैन। यहाँको जागिर पनि के जागिर! बरु दुई वर्ष जाने, टन्न काम गरेर पैसा कमायो र आयो। विदेश गएर विदेशी केटीसँग बिहे गर्न पाए त क्या मज्जा आउँथ्यो। उतै सेटल पो हुन सकिन्थ्यो। अनि विद्यार्थी भिसामा गएपछि यसो पढे जस्तो नि हुने अनि थोरै पैसा कमाएर घरबाट आउँदाको रिण पनि तिर्ने सकिने। यदि नेपालमा पढ्न लागियो भने सबै खर्च मात्र हुन्छ। नेपालमा जागिरले आफ्नो खर्च समेत उठाउन सकिँदैन।

समाजमा युवाहरूको मनोविज्ञान कस्तो बनिरहेको छ भन्ने कुराको सानो अंश हो यो। आज म यी कुराहरूलाई एक ठाउँमा राखेर केलाउने कोसिस गरिरहेको छु। कतिपयलाई रहर, चाहना, सपना होला, कतिपयको बाध्यता, विवशता होला पनि। उनीहरू आफ्नो र आफ्नाको उज्ज्वल भविष्यका लागि देश छाडेका होलान्। तर मूल प्रश्न यसले नयाँ आगन्तुक पुस्तामा कस्तो प्रभाव पार्छ भन्ने हो। यो दशकमा विदेश पढ्न जाने र उतै भविष्य बनाउने मनोविज्ञान जसरी समाजमा हुर्कँदै गएको छ, त्यसले कस्तो समाज निर्माण गर्ला! सोचनीय विषय हो। किनभने हुर्कँदै गरेको नयाँ पुस्ताले समाजको अहिलेको जिम्मेवार अघिल्लो पुस्ताबाट नै सिक्ने त हो।

यस दशकका युवा पुस्ताले समाजमा स्थापित गर्न खोजेको भाष्य भविष्य पनि विदेशमा, पैसा पनि विदेशमा। जसबाट अहिले स्कुलमा हुर्कँदै गरेका ८, ९ वा ११, १२ अध्ययन गरिरहेका किशोर किशोरीको मानसिकता प्रभावित छ। भविष्यको योजनाबारे सोध्ने हो भने, उनीहरू सहज उत्तर दिने गर्छन्- विदेश जाने हो, नेपालमा केही छैन।

विदेश मोहले देशमा केही सम्भावना नदेख्ने र सम्भावना देख्नेहरूलाई पनि निराश बनाउँदै लगेको छ। जब युवाहरूले केही सम्भावना देख्छन्, तब उनीहरू सृजनशील बन्ने र केहि गर्ने प्रयत्न गर्छन्। नयाँ उपायहरूबारे सोच्न थाल्दछन्। तर यहाँ सम्भावना देख्ने छुट नरहेको जस्तो आभास हुन थालेको छ। जस्तो यदि विद्यालयमा कुनै एउटा टेक्निकल वा आइडिया क्रियट गर्ने कार्यक्रमको आयोजना राखियो भने विद्यार्थीहरूले भन्ने गर्छन्- विदेश नै त जाने हो, यो गरेर के गर्ने ? यो त केवल एउटा झलक मात्र हो। यो मानसिकताले के-के बिगारेको छ भन्ने हामी कल्पना पनि गर्न सक्दैनौं। यसको प्रभाव त शिक्षक, सरकारी कर्मचारी, डाक्टर, इन्जिनियर जस्ता कयौं पेसामा लागेका तथा विद्यार्थी सबैमा विदेश जानैपर्छ भन्ने मानसिकता प्राय भेटिन्छ।

यस्तो अवस्था निर्माण हुनुको प्रमुख कारण- नयाँ होस् वा पुरानो पुस्ताले दिइरहेको उदाहरण जिम्मेवार हो भन्ने लाग्छ। नेपालमा राजनैतिक अस्थिरता त सधैँको हो। राजनैतिक अस्थिरतालाई नै नेपाली जनताले राजनीतिक असफलता मानेका छन्। नेपालको पोलिसि त राम्रो छ, तर कार्यान्वयनमा देश सधैँ चुक्छ। देशको विकास गर्न चाहिने प्रमुख कुरा भनेको देशको नागरिक सृजनशील हुनु नै हो जस्तो लाग्छ। अहिलेका विकशित राष्ट्रमा जनताले नै नयाँ नयाँ आविष्कार गरेर त्यसलाई नै आफ्नो व्यवसायमा परिवर्तन गरेका हुन्छन्। तर नेपालमा यस्तो गरेकाहरूको उदाहरण कम नै छन्। भएपनि कि ओझेलमा छन्, कि त असफल नै छन्। वा छिटो सफल हुने मनोकांक्षाले उद्योग बन्द गरेर विदेशतर्फ लम्केका छन्।

स्वदेशमा केही गर्न सकिन्छ भन्ने उदाहरणको कमी छ। अनि वैदेशिक सफलताको उदाहरण दिने प्रचलन हाम्रो समाजमा एकदम बढी छ। घरमा दुई/तिन जना पाहुना आए पनि आफ्नो वैदेशिक सफलताको बारेमा नै कुरा गर्छन्। यसले सबै पुस्तामा नकारात्मक प्रभाव पारेको छ। नेपालमा केही छैन भन्ने भाष्यले समाज प्रभावित छ। अहिले अधिकांश युवामा समाज र राष्ट्रप्रतिको जिम्मेवारी बोधमा खडेरी पर्दैछ। मलाई लाग्छ, देश बदल्नु छ भने पहिला यी मानसिकता बदल्न सक्नुपर्छ। राष्ट्रप्रतिको दायित्व हरेक नेपाली नागरिकले बुझ्नुपर्छ।

के देशभित्र अवसर नभएकै हो त ? के अवसर सिर्जना गर्न नसकिने अवस्था हो ? मलाई त्यस्तो लाग्दैन। गाउँघरतिर खेतीपाती गर्नका निम्ति श्रमिकहरू नपाएर गैरी खेतहरू बाँझिन थालेका छन्। पशु पंछीपालन, तरकारी खेतीका लागि अब्बल दर्जाको भूमि भए तापनि बन्जर बन्दैछ। रोजगारीको प्रचुर सम्भावना रहेका कृषि, पर्यटन र जलस्रोत अलपत्र अवस्थामा छन्। आवश्यकता त समाज रूपान्तरणका लागि युवाहरूको ताकत, सीप र क्षमताको हो। युवाहरूले आफ्नो जीवनको उर्वर समय, ऊर्जा, सिर्जनात्मक क्षमता अब देशभित्र उद्योग केन्द्रित उत्पादनमा प्रयोग गर्नुपर्छ। आफ्नो सिप, कला, अध्ययन, अनुसन्धानमार्फत रोजगारी सिर्जना गर्ने योजनामा खर्चिनु पर्छ।

युवाहरूलाई सत्मार्गमा हिँडाउन राज्य पनि संवेदनशील बन्नै पर्छ। युवाहरू स्पष्ट मार्गनिर्देशको अभावमा भौँतारिइरहेका छन्। स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने र अधिकांश युवा बिदेसिनबाट रोक्न पर्छ। हाम्रा गाउँ-बस्तीहरू युवाविहीन हुन दिनु हुँदैन। देशमै रोजगारीको अवसर सिर्जना गर्नतर्फ राज्य पनि जिम्मेवार बन्न जरुरी छ। अनि नागरिकमा पनि देशमै केही गर्न सकिन्छ भन्ने सोचको विकाश गर्नुपर्छ।

राज्यले दक्ष जनशक्ति उत्पादन गर्न शिक्षा क्षेत्रमा वर्षे नि ठूलो लगानी गर्छ। तर, विद्यार्थीहरू परीक्षाफल प्रकाशित हुनुअघि नै भिसाका लागि आवेदन दिइसकेका हुन्छन्। अनि नेपालमा केही गर्ने कोसिस नै नगरी देश नराम्रो भन्दै हिँड्ने प्रवृत्तिको अन्त्य हुन जरुरी छ। विदेशमा जागिर गर्नेभन्दा आफ्नो देशमा गरेको श्रममा स्वाभिमान देख्नपर्छ। देशमा केही नगरी यहाँ वातावरण छैन भनि प्रचार गर्ने प्रवृत्तिले समाजलाई निराश मात्र बनाउँछ। अब यो मानसिकता पनि बदल्ने पालो हाम्रो हो। देशमा केही छैन भन्ने होइन, यहि केही गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिन एउटा पुस्ताले बलिदान दिनै पर्छ। तर, के अहिलेको अवस्थामा देशप्रति सकारात्मक सोच नराख्नेहरूबाट यस्तो अपेक्षा राख्न उपयुक्त होला!

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्