कामपाले वडा नं २७ बाट सुरु गर्दै छुट्याइएको फोहर संकलन

PhohoR
लोकपाटी न्यूज
8 Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले स्रोतमा वर्गीकरण गरिएको फोहर संकलन कार्यक्रम वडा नं २७ बाट सुरु गर्ने भएको छ। यसका लागि महानगरपालिकाले हरियो र निलो रङको संकेतसहितको गाडीसमेत तयार पारिसकेको जनाएको छ।

फोहरको स्रोतमै वर्गीकरण गरी संकलन, ढुवानी तथा व्यवस्थापन गर्नका लागि गाडीको व्यवस्था गरिएको हो। वडा नं २७ मा जनसङ्ख्या पाँच हजार छ। जहाँ एक हजार चार सय घरधुरी छन्। वडा नं २७ का स्थानीय रमेश महर्जनले महानगरको प्रशंसा गर्दै आफूहरूले स्रोतमै फोहोर छुट्याएर राख्ने बताए।

वडा नं २७ का अध्यक्ष योगेश खड्गीले यसका लाग घरघरमै पुगेर फोहर छुट्याउने विधि सिकाउने योजना रहेको बताए। उनले भने, ‘फोहोर संकलन गर्न जाने कर्मचारीलाई छुट्याइएको फोहर गाडीमा राख्ने प्रभावकारी तरिका सिकाउँछौं। यसका लागि वडावासीबाट सकारात्मक प्रतिक्रिया पाएका छौं।’

आगामी एक हप्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, छुट्याइएको फोहरको नमूना संकलन गर्ने अभ्यास गर्ने वडाको योजना छ। यसपछि कार्यक्रम पूर्ण कार्यान्वयनमा ल्याइने छ।

महानगरका वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले स्रोतमै छुट्याइएको फोहर व्यवस्थापनका लागि तीन दशमलव पाँच क्युबिक मिटर क्षमता भएको गाडी तयार पारिएको छ। सो गाडीमा हरियो र निलो रङका दुई खण्ड तयार पारिएको छ। एउटा खण्डको क्षमता एक दशमलव पाँच क्युबिक रहेको उनको भनाइ छ।

उनले भने, ‘बाहिरबाट हेर्दा गाडी दुई रङको देखिन्छ। कुहिने फोहर संकलन गरिने कोठा तिर हरियो छ भने नकुहिने तथा अन्य फोहर संकलन गरिने कोठातिर निलो रङ पोतिएको छ।’ वडा न २७ मा कार्यक्रम सफल भएपछि अन्य वडामा पनि विस्तार गरिने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्