माडीबाट नाका खुलाउन महामन्त्रीको ध्यानाकर्षण

लोकपाटी न्यूज
8 Shares

चितवन। माडीका स्थानीयवासीले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापालाई बागमती प्रदेशको माडीबाट भारतीय नाका खुलाउन ध्यानाकर्षण गराएका छन्। पूर्वपश्चिम हुलाकी मार्ग संवाद यात्राका क्रममा शनिबार राति माडी आइपुगेका थापालाई काँग्रेस माडी नगरसमितिले विभिन्न विषयमा ध्यानाकर्षण गराउने क्रममा सीमानाका माडीबाट गराउन पहलकदमी गरिदिन आग्रह गरेको हो।

काँग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार स्थानीय पार्टीको मागप्रति महामन्त्री थापाले आफू सकारात्मक रहेको भन्दै सम्बन्धित निकायमा पहलकदमी गर्ने बताएका छन्। काँग्रेस माडी नगर सभापति कोमलनाथ भुसालले ध्यानाकर्षणका क्रममा सिंगो बागमती प्रदेश सीमानाकासँग नजोडिएको भन्दै यसबाट यहाँको विकासमा बाधा पुगेको बताए।

दक्षिणमा भारत र उत्तरमा चीनसँगको सिमाना जोड्ने सडक यसै माडी नगरपालिका क्षेत्र भएर जाने भएको हुँदा बागमती प्रदेश तथा सिंगो देशका लागि हितकर हुने ठोरी नाका अविलम्ब सञ्चालन गर्नुपर्ने वा माडीबाटै वैकल्पिक मार्गको खोजी गरी सञ्चालनमा ल्याउनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ।

पर्साको ठोरीसँग भारतीय नाका जोडिएको छ, यद्यपि यो नियमित सञ्चालनमा छैन। यो क्षेत्र माडी नगरपालिकामा पार्ने भनिए पनि त्यसो हुन नसक्दा सिंगो प्रदेश भारतीय नाकासँग जोडिएको छैन। सो क्रममा माडी पार्टी समितिले यस क्षेत्रलाई पूर्ण सिञ्चित स्थानीय तह घोषणा गर्न, रामायण महाभारत सर्किट निर्माण गर्नेलगायतका १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्