भरतपुर भ्रमण वर्ष २०२४ को तयारी तीव्र

visit bharatpur pic
लोकपाटी न्यूज
6 Shares

चितवन। भरतपुर भ्रमण वर्ष २०२४ को तयारीलाई तीव्र पारिएको छ। भ्रमण वर्षको उद्घाटन हुने स्थल नारायणी नदी किनारमा अहिले ल्याण्ड फिलिङ गरी दुबो लगाउने काम भइरहेको छ। किनारमा सरसफाइको थप आकर्षक बनाउन सरसफाइ पनि गरिएको छ।

भ्रमण वर्षलाई लक्षित गर्दै पुलचोक गोन्द्राङ ६ लेन सडकको निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाइएको छ। निर्माण कम्पनीले एक पत्रे कालोपत्रे सम्पन्न हुने गरी कार्यलाई युद्धस्तरमा काम गरिरहेको छ। भ्रमण वर्षमा भरतपुर आउने पाहुनालाई स्वागत गर्न विभिन्न ५ वटा पोइन्टमा स्वागतद्वारा निर्माण गर्न लागिएको भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ विश्व सुवेदीले जानकारी दिए। यस्तै उद्घाटन समारोहका लागि आकर्षक स्टेज निर्माण गरिने महानगरले जनाएको छ।

फागुन १८ गते अर्थात् कार्यक्रम उद्घाटन हुने दिन करिब ५० हजार जना नारायणी किनारमा ल्याउने तयारी गरिएको छ। कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नु हुनेछ। विभिन्न जात जाति, संस्कृति, भेषभुषा, बाजागाजासहितको र्‍याली पनि निकाल्ने कार्यक्रम तय भएको छ। यसका लागि वडागत रुपमा पत्राचार पनि गरिएको छ। सबैभन्दा बढी सहभागी ल्याउने वडालाई पुरस्कारको पनि व्यवस्था गरिएको छ। भरतपुरका २९ वटा वडामा सरसफाइ तथा वृक्षारोपणका लागि पत्राचार पनि गरिएको छ।

यसअघि भ्रमण वर्ष सफल बनाउन मूल समितिसहित २९ वटा उपसमितिहरू गठन गरिएको छ। भरतपुर भ्रमण वर्षमा आउने पर्यटकको मुख्य रोजाई चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी, हात्ती सफारी, जिप सफारी, डुङ्गा सफारी, प्याराग्लाइडिङ, धार्मिक स्थलमा पूजापाठ हुने अनुमान गरिएको छ। यसका लागि सम्बन्धी ठाउँमा पूर्वाधारहरू तयार पारिएको छ।

भ्रमण वर्षमा जङ्गल सफारी जाँदा बाघ र गैँडा देख्न नसकेका पर्यटकलाई भरतपुर ६ को देवनगरमा ओपन जु अर्थात् बाघ र गैँडालाई प्रत्यक्ष अवलोकन गर्न मिल्ने व्यवस्था मिलाइएको छ। यस्तै भरतपुरको आँपटारीमा रहेको शीतकालिन दरबार दियालो बंगला दरबार सर्वसाधारणका लागि खुला गर्न लागिएको छ। दरबारको स्तरोन्नति गर्न बोलपत्र आह्वान भई फागुनको पहिलो साताभित्र काम सक्ने लक्ष्यका साथ काम अघि बढेको छ।

भ्रमण वर्षमा राप्ती र नारायणीको तटीय क्षेत्रमा बास बस्न मन पराउने पर्यटकका लागि नयाँ १०० वटाभन्दा बढी होमस्टेहरू सञ्चालनमा आइसकेका छन्। भ्रमण वर्षलाई थप मनोरञ्जनात्मक बनाउन निजी क्षेत्रसँगको सहकार्यमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना हुने छन्। जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिने महानगरले जनाएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा भरतपुरतर्फ ध्यान केन्द्रित गराउन नेपाल सरकारको मन्त्रिपरिषद्को एउटा बैठक भरतपुरमा बसाउन पहल भइरहेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन्।

यस्तै भ्रमण वर्षलाई थप चुस्तदुरुस्त बनाउन सुरक्षा निकायसँग पटक पटक छलफल गरिएको छ। पर्यटकको बसाँईलाई स्मरणीय तथा यादगार बनाउन चितवनका होटल व्यवसायीलाई गुणस्तरीय सेवा प्रवाह गर्नुका साथै प्याकेजको व्यवस्था गर्न अनुरोध गरिएको छ।