एमाले मुलुकको समृद्धि र विभेदरहित समाजका लागि लड्छ : उपाध्यक्ष पौडेल

Bishnu_Paudel
लोकपाटी न्यूज
7 Shares

लुम्बिनी। नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपाली समाजका सबै प्रकारका विभेदको अन्त्य गरेर जनतालाई सुखी, समृद्धि तुल्याई समाजवादको जग निर्माण गर्नेगरी नेकपा एमाले अघि बढ्ने बताएका छन्।

नेकपा एमाले रुपन्देहीले आजदेखि सुरु गरेको जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले नेकपा एमालेका हरेक कार्यकर्ताले मुलुकको समृद्धि र विभेदरहित समाजका लागि अघि बढ्नुपर्नेमा जोड दिए।

उपाध्यक्ष पौडेलले नेकपा एमालेलाई समाप्त पार्ने गरी भएका घेराबन्दीलाई तोड्न पार्टीले लिएको जनपक्षीय नीति र सिद्धान्तका आधारमा अघि बढ्न कार्यकर्तालाई आह्वान पनि गरे। उनले पार्टी निर्माणका लागि जनताका सरोकार र आवश्यकतासँग प्रत्यक्ष जोडिएका विषयको निकटमा रहेर उनीहरुका समस्याको समाधान गर्नेतर्फ लाग्नुपर्नेमा पनि जोड दिए।

उपाध्यक्ष पौडेलले पछिल्लो समयमा पार्टी अनुशासनका विरुद्ध संगठनात्मक अराजकताले प्रवेश पाएको भन्दै त्यस खालका प्रवृत्तिलाई पार्टी नेतृत्वले अनुमोदन नगर्ने पनि स्पष्ट गरे। उनले एमाले अनुशासित, एकताबद्ध र गतिशीलताका साथ अघि बढ्ने पार्टी भएको बताए। ‘अराजकतालाई पार्टीले कहिल्यै पनि प्रश्रय दिँदैन र यस्ता क्रियाकलापलाई सदैव नियन्त्रण गर्छ। पार्टीमा होस् या जहाँ पनि अराजकताले कहिल्यै जित्दैन र अनुशासनले कहिल्यै हार्दैन,’ उनले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्