स्थानीय विकास निर्माणमा युवाको चासो

लोकपाटी न्यूज
5 Shares

चितवन। चितवनको भरतपुर महानगरपालिकाको विकास निर्माणमा युवाले चासो देखाएका छन्। भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले आयोजना गरेको नमूना युवा नगरसभाका क्रममा उनीहरूले महानगरभित्रको विकास निर्माणदेखि कृषि क्षेत्रको विकाससम्ममा चासो देखाएका हुन्।

नमूना नगरसभा अभ्यासका क्रममा सहभागी रागिनी ढुङ्गानाले विकास निर्माणका क्रममा भएका काम सम्पन्न हुन नसक्दा मानव स्वास्थ्यमा परेको असरबारे जानकारी गराएकी थिइन्। धुवाँधुलो लगायतका कारण मानव स्वास्थ्यमा नकारात्मक प्रभाव परेकाले ६ लेन सडकदेखि अन्य विकास निर्माणका काम तत्काल सम्पन्न गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘सडक निर्माणका समयमा त्यसबाट पर्ने असरबारे ध्यान पुर्‍याउन आवश्यक छ।’

यस्तै सहभागी सृजना जमरकट्टेलले बालमैत्री विद्यालय नहुँदा अपाङ्गता भएका विद्यार्थीलाई विद्यालय जान समस्या भएको बताइन्। उनले शैक्षिक क्षेत्रको विकासका लागि महानगरले गरेका प्रयास सह्रानीय भए पनि विद्यार्थीमैत्री विद्यालय बनाउन नसकिएको बताइन्। अझै पनि विद्यार्थी टिनको छानामुनी पढ्न बाध्य रहेको उनले स्मरण गरिन्।

प्रतीक कँडेलले महानगरका कृषकको समस्या समाधान गर्न ध्यानाकर्षण गराए। महानगरभित्रका कृषकले उत्पादन गरेको कृषिजन्य उपजका लागि बजारीकरण र स्थानीय उत्पादनलाई प्राथमिकता दिन उनले आग्रह गरे। महानगरले पर्यटकीय क्षेत्रको प्रवर्द्धन र विकास, खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा जनअपेक्षा अनुसार काम गर्न बजेट विनियोजन गर्नुपर्ने सभामा सहभागी युवाले बताएका छन्।

युवाहरू देउबहादुर थापा, शिशिर कुँवर, विनोद अधिकारी, अस्मिता रेग्मी, हिरालाल आचार्यलगायतले समाजमा देखिएका समस्या र त्यसको समाधानका लागि महानगरको प्रयास जारी रहे पनि अझै पूर्ण हुन नसकेको बताएका छन्।

महानगरको युवा सञ्जालका संयोजक अञ्जन दवाडीको अध्यक्षतामा सम्पन्न नमूना नगरसभापछिको कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले युवाको मागको आधारमा दक्ष जनशक्ति निर्माण गर्न लागि परेको बताइन्। नमूना नगरसभाले वास्तविक नगरसभाको झल्को दिएको उल्लेख गर्दै उनले स्थानीय समस्या समाधानका लागि युवाको महत्त्वपूर्ण भूमिका रहने बताइन्।

कार्यक्रममा महानगरका उपप्रमुख चित्रसेन अधिकारीले महानगरको विकासमा युवाको महत्त्वपूर्ण भूमिका रहेको बताए। युवा पुस्ताले विकाससँगै समृद्धिका लागि सहयोगी भूमिका खेल्नुपर्ने उनको भनाइ थियो। राष्ट्रिय युवा परिषद्का उपसचिव कर्ण कुँवर, बागमती प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईं लगायतले आ-आफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्