संघीय शिक्षा ऐन छिट्टै आउँछ : मन्त्री राई

Ashok_Rai
लोकपाटी न्यूज
6 Shares

गाईघाट। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले संघीय शिक्षा ऐन संसद्को चालु अधिवेशनबाट पारित हुने विश्वास व्यक्त गरेका छन्। उदयपुरको गाईघाटस्थित मेडिकल कलेज निर्माणका लागि प्रस्ताव गरिएको जग्गाको निरीक्षणपछि आज आयोजित एक कार्यक्रममा उनले संघीय शिक्षा ऐन छिट्टै पारित हुने बताएका हुन्।

यद्यपि संघीय शिक्षा ऐन ठूलो भुमरीमा फसिरहेको मन्त्री राईले बताए। ऐनलाई त्यो भुमरीबाट बाहिर निकाल्न निकै जटिल रहेको उनले बताए। १५२ जना सांसदले एक हजार सात सय ५८ वटा संशोधन प्रस्ताव गरेकाले यो जटिल विषय भएको मन्त्री राईको भनाई थियो।

योसँगै प्रहरी ऐन, निजामती ऐन, प्राविधिक शिक्षा, उच्च शिक्षा ऐनलगायत धेरै वटा ऐनहरू पारित गरेर कानुन निर्माण गरेपछि मात्रै यो संघीयता बलियो हुने उनले बताए। मन्त्री राईले मुलुकका विभिन्न सात स्थानमा सरकारी लगानीमा मेडिकल कलेज स्थापना गर्न मन्त्रालयले द्रुत गतिमा काम गरिरहेको बताए।

स्वास्थ्य शिक्षालाई सहज सुलभ र विकेन्द्रित गने उद्देश्य अनुरूप इलाम, उदयपुर, बर्दिबास, बुटवल सुर्खेत, कैलाली र डडेलधुरामा मेडिकल कलेज स्थापना गर्ने निश्चित भएको उनले बताए। त्यसमध्ये कैलालीमा भने सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनिसकेको र आगामी शैक्षिक वर्षबाट विद्यार्थी भर्ना अभियान सुरु गरिने उनले जानकारी दिए।