पाकिस्तान निर्वाचन : जेलमा रहेका खानलाई बलियो मत, कसले कति सिट जिते ?

Pakistan_Election
लोकपाटी न्यूज
8 Shares

इस्लामावाद। पाकिस्तानले शनिबार सार्वजनिक गरेको अन्तिम केही निर्वाचन परिणाममा स्पष्ट बहुमत नदेखिए पनि जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानप्रति वफादार स्वतन्त्र उम्मेदवारको बलियो प्रदर्शन देखिएको छ। देशले नतिजाले आगामी केही दिन सरकार गठनका लागि राजनीतिक खरिद-बिक्रीको सामना गर्ने देखिएको छ।

खानको पार्टी पाकिस्तान तेहरीक-ए-इन्साफ (पिटिआई) ले महिनौं लामो दमनको अवज्ञा गर्दै निर्वाचन अभियानलाई अघि बढाएको थियो। चुनावकै मुखमा पिटिआईका नेतालाई विभिन्न अभियोगमा जेल सजाय तोक्ने, यस पहिले पाएको चुनाव चिन्ह प्रयोग गर्न रोक लगाउने, प्रचारप्रसारमा अवरोध सिर्जना गर्नेजस्ता कार्यले पिटिआईले आफ्ना उम्मेदवारलाई स्वतन्त्ररूपमा निर्वाचनको मैदानमा उभ्यायो। पाकिस्तानी राजनीतिमा संस्थापन पक्षको व्यापक जालझेलबीच मैदानमा उत्रिएका स्वतन्त्र उम्मेदवारले सशक्त नतिजा निकाल्न सफल भएको छ। यसले उनीहरूका मुख्य प्रतिद्वन्द्वीहरूलाई अझै पनि चुनौती दियो।

परिणाममा लामो ढिलाइपछि सैन्य प्रतिष्ठानले मतदानमा धाँधली गरेको आरोप पिटिआई नेताहरूले लगाएका छन्। सेनाको समर्थन रहेको भनिएको पाकिस्तान मुस्लिम लीग-नवाज (पीएमएल-एन) ले सबैभन्दा बढी सिट प्राप्त गर्ने पार्टीको रूपमा विजयको घोषणा गरेको छ। तीन पटकका पूर्वप्रधानमन्त्री नवाज सरिफले स्थापना गरेको पार्टीले सरकार गठनका लागि प्रतिद्वन्द्वी र स्वतन्त्र उम्मेदवारसँग सम्झौता गर्न बाध्य हुने देखिएको छ।

पाकिस्तानी सेना प्रमुखले शनिबार चुनाव ‘जित र हारको शून्य योगफलको प्रतिस्पर्धा’ नभएको भन्दै राजनीतिक ध्रुवीकरण अन्त्य गर्न आग्रह गरेका छन्। ‘अराजकता र ध्रुवीकरण’ को राजनीतिबाट माथि उठ्न राष्ट्रलाई स्थिर हात र उपचारात्मक स्पर्शको खाँचो छ,’ सेना प्रमुख जनरल सैयद असीम मुनिरलाई उद्धृत गर्दै सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

शुक्रबार अबेर सम्म विभिन्न दलका नेताहरू वार्ताका लागि पीएमएल-एनको शक्ति केन्द्र लाहोरपुगेका समाचारहरू आएका थिए। लाहोरस्थित आफ्नो पार्टी मुख्यालयमा सरिफले भने, ’हामीसँग सरकार सञ्चालन का लागि पर्याप्त बहुमत छैन, त्यसैले हामीसँग काम गर्न सफल भएका अन्य दल र उम्मेदवारलाई आमन्त्रण गर्दछौं।

निर्वाचनमा व्यापक सहभागिता जनाउन र मतदान गर्न मतदान केन्द्रमा अनिवार्य उपस्थित हुन मतदातालाई गरिएको पिटिआईको प्रचारमा प्रयोग भएको र एआईले खानको आवाजमा तयार पारिदिएको भिडियो नै पिटिआई समर्थक ‘स्वतन्त्र’ उम्मेदवारको विजयका लागि महत्त्वपूर्ण भएको बताइएको छ। ‘एक वर्ष अघि खानको वास्तविक आवाजमा गरेका सम्बोधन र उनको आवाजलाई कपी गरी एआईले सिर्जना गरेको भिडियो क्लिपमार्फत निर्वाचनको प्रचारप्रसार गरिएको थियो।

-स्वतन्त्र ९९, पीएमएल-एन ७१ र पीपीपी ५३ स्थानमा विजयी-

‘स्वतन्त्र स्रोतका अनुसार मतगणनाका क्रममा ‘धाँधली सुरु हुनुअघि’ हामीले नेशनल एसेम्लीका १५० सिटमा अग्रता लिएका थियौं,’ खानको एक्स अकाउन्टमा पोस्ट गरिएको निर्वाचनमा पार्टीले सफलता प्राप्त गरेको दाबी गर्दै सार्वजनिक सन्देशमा भनिएको छ। मतगणनाको सुस्तताका कारण शनिबार बिहानसम्म स्वतन्त्र उम्मेदवारले कम्तीमा ९९ सिट जितेका छन्, जसमध्ये ८८ सिट खानप्रति पूर्णरूपमा वफादार रहेको पर्यवेक्षकहरूले दाबी गरेका छन्।

पीएमएल-एनले ७१ र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले ५३ सिट जितेका छन् भने निर्वाचित २६६ सदस्यीय नेशनल एसेम्बलीमध्ये १५ को घोषणा हुन बाँकी छ। मुत्ताहिदा कौमी मुभमेन्ट (एमक्यूएम) सहित साना दलले २७ सिटमा विजय हासिल गरेका छन्। एमक्यूएमले १७ स्थानमा विजयी बनेको छ भने अन्य दलले बाँकी १० सिट जितेका छन्।

साना दलको उदय आगामी दिनमा पिटिआईका लागि निकै चासोको विषय बन्नेछ। यदि पिटिआईका स्वतन्त्र उम्मेदवारहरू तीमध्ये कुनै एकमा सामेल भए भने उनीहरूले प्रतिस्पर्धात्मक मतमा पार्टीको प्रदर्शनको आधारमा छुट्याइएका महिला र धार्मिक अल्पसङ्ख्यकहरूका लागि आरक्षित थप ७० अनिर्वाचित सिटहरूको हिस्सा लिन सक्नेछन्।

खानका विश्वासपात्रहरूले जितेका अधिकांश सिटहरू खैबर पख्तुनख्वाका रहेका छन्। उक्त राज्यको शाङ्ला जिल्लामा कथित मतदान धाँधलीको विरोधमा प्रदर्शन गर्दा शुक्रबार प्रहरीले चलाएको गोली लागेर कम्तीमा दुई पिटिआई समर्थकहरूको मृत्यु भएको र २० भन्दा बढी घाइते भएको बताइएको थियो। त्यसै त निर्वाचन अभियानका क्रममा भएका हिंसात्मक घटनामा सुरक्षाकर्मी, दलका नेता कार्यकर्ता तथा सर्वसाधारण गरी दर्जनौं मानिसले ज्यान गुमाएका छन्।

खैबर पख्तुनख्वाको राजधानी पेशावर र बलुचिस्तान प्रान्तको क्वेटामा पनि ‘मतदानमा हस्तक्षेप र धाँधली’ को विरोधमा शुक्रबार र शनिबार पनि प्रदर्शन भएको छ। पेशावरमा करिब दुई हजार पिटिआई समर्थक प्रदर्शनमा सहभागी भएका २८ वर्षीय व्यापारी मोहम्मद सलिमले भने, ‘हाम्रो मतपरिणाम परिवर्तन भएको छ। हाम्रा सबै मतको पुनः गणना हुनुपर्छ।’

निर्वाचन पहिले सरिफको पीएमएल-एनले सबैभन्दा बढी सिट जित्ने अपेक्षा गरिएको थियो र विश्लेषकहरूले यसका ७४ वर्षीय संस्थापकलाई सेनाको नेतृत्वमा रहेको संस्थापनको आशीर्वाद रहेको बताएका थिए। मतदानअघिका दिनहरूमा धेरै लामो जेल सजाय सुनाइएका खानलाई १० चुनाव लड्न पनि रोक लगाइएको छ।

राष्ट्रव्यापी चुनावको दिन मोबाइल टेलिफोन ब्ल्याकआउट र परिणामको ढिलो गणनाले शरिफको सफलता सुनिश्चित गर्न सैन्य नेतृत्वको संस्थापनले प्रक्रियालाई प्रभावित गरिरहेको आशंका उत्पन्न गरेको थियो। मतदानसम्बन्धी अनुसन्धानका लागि काम गर्ने ग्यालप पाकिस्तानका कार्यकारी निर्देशक बिलाल गिलानीले भने, ‘एक पार्टी र राजनीतिक समूहको रूपमा पिटिआईले नागरिक र सैन्य प्रतिष्ठानको महत्त्वपूर्ण प्रयासको बावजुद आफ्नो भोट बैंकलाई सुरक्षित राखेको छ।’

उनले एएफपीसँग भने, ‘यसले के देखाउँछ भने सेना सधैँ आफ्नो मार्गमा आउँदैन, या केवले चाँदीको अस्तर हो।’ धेरै हदसम्म पीपीपीको लोकप्रियता रहेको सिन्ध राज्यमा उसले पनि अपेक्षा गरेभन्दा राम्रो प्रदर्शन गरेको छ। सन् २०१८ को चुनावमा पिटिआईले झिनो बहुमत प्राप्त गरेपछि पीएमएल-एन र पीपीपीले अप्रिल २०२२ मा खानलाई पदबाट हटाउन साना पार्टीहरूसँग गठबन्धन गरी खानविरुद्ध अभियान चलाएका थिए।

त्यसपछि पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर खानले मूलतः उनको सत्ताको उदयलाई समर्थन गरेको सेनाको नेतृत्वमा रहेको संस्थापनविरुद्ध अवज्ञाको अभूतपूर्व अभियान चलाएका थिए। खानलाई गत साता राजद्रोह, भ्रष्टाचार र गैर-इस्लामिक विवाह गरेको अभियोगमा तीन वटा छुट्टाछुट्टै मुद्दामा दोषी ठहर गरिएको थियो।

-‘हस्तक्षेप वा धाँधलीको दाबीबारे अनुसन्धान हुनुपर्ने’ बेलायत र अमेरिकाको माग-

बेलायतले निर्वाचनप्रति गम्भीर चिन्ता व्यक्त गरेको बताएको छ भने संयुक्त राज्य अमेरिकाले ‘हस्तक्षेप वा धाँधलीको दाबीको पूर्ण अनुसन्धान हुनुपर्ने’ बताएको छ। कार्यवाहक गृहमन्त्री गोहर एजाजले सुरक्षाको कारण देखाउँदै मोबाइल फोन सेवा स्थगन गर्ने ‘कठिन निर्णय’को बचाउ गरेका छन्।

‘मोबाइल सेवा बन्द गर्दा पाकिस्तानमा निर्वाचनको परिणाम प्रसारणमा असर पर्छ र प्रक्रियामा ढिलाइ हुनेछ भन्ने कुरामा हामी पूर्ण रूपमा सचेत थियौं, तर यो विलम्ब र हाम्रा नागरिकहरूको सुरक्षामध्ये एकदम सहज छनौट थियो,’ उनले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

लाहोरका १९ वर्षीय मोहम्मद जुबैरले पिटिआई समर्थकले पीएमएल-एनको जित स्वीकार नगर्ने बताएका छन्। ‘सबैलाई थाहा छ, खानका स्वतन्त्र उम्मेदवारले कति सिट जितेका छन्,’ उनले भने, ‘स्वतन्त्रहरूसँग चिनिएको कुनै चुनाव चिन्ह , नेतृत्व गर्ने नेता, झण्डा वा ब्यानर छैन, तर पनि हामीले मैदानमा जितेका छौं।’ -रासस/एएफपी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्