नेपालद्वारा क्यानडा चार विकेटले पराजित

Nepal-Cricket-pic
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। नेपालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार खेलिएको दोस्रो खेलमा क्यानडालाई चार विकेटले हराएको हो।

नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५०,भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे। त्यस्तै आसिफ सेखले १०, कुशल मल्ल र सोमपाल कामीले समान ९/९ रन जोडे । क्यानडाविरुद्धको ३ एकदिवसीय सिरिजमा नेपालले दुई खेल जितिसकेको छ। अन्तिम एकदिवसीय सिरिज सोमबार हुनेछ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको क्यानडाले राम्रो सुरुवात गरेको थियो । ओपनरद्वय आरोन जोनसज र नवनित दालिवाले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरे।

तर १९औं ओभरको दोस्रो बलमा डेब्यूटेन्ट आकाश चन्दले नवनितलाई ४६ रनमा आउट गरे। जोनसन ६५ रनमा आउट भए, जतिबेला क्यानडाको स्कोर १२६ रन थियो । त्यसपछि पनि प्रगत सिंह र निकोलस किर्तोनले पारी सम्हाल्ने प्रयास गरे । तर ३२ औं ओभरमा कप्तान रोहितकुमार पौडेलले लगातार दुई विकेट लिँदै क्यानडामाथि दबाव बनाएका थिए।

ओभरको दोस्रो बलमा उनले प्रगतलाई ३८ रनमा आउट गरे। स्वीप खेल्ने क्रममा डीप स्क्वायर लेगमा सोमपाल कमीले उनलाई क्याच आउट गरेका हुन् । पाँचौं बलमा विकेटकिपर आसिफ शेखले किर्तोनलाई स्टम्पिङ गरे । उनी २० रनमा आउट भए, जतिबेला क्यानडाको स्कोर १८०/४ थियो ।

तर सातौं नम्बरका ब्याटर श्रेयश मोभ्भा र दशौं नम्बरका उदय भागवानले ९ औं विकेटका लागि ४४ रनको साझेदारी गरे। ४० रन बनाएका मोभ्भा अन्तिम बलमा आउट भने भागवन २० रनमा नट आउट रहे।

नेपालका लागि कप्तान रोहित र कुशल मल्लले समान २ तथा पवन सर्राफ, आकाश चन्द, सूर्य तामाङ र सोमपाल कामीले समान १ विकेट लिए। सूर्यले एक दिवसीय करिअरको पहिलो विकेट लिएका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्