विशेषज्ञ चिकित्सक काठमाडौं र भरतपुरबाहेक अन्यत्र जान मान्दैनन् : प्रदेश स्वास्थ्यमन्त्री

Uttam_Joshi
लोकपाटी न्यूज
5 Shares

चितवन। बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले विशेषज्ञ चिकित्सक काठमाडौं र भरतपुरबाहेक अन्यत्र जान नमान्ने गरेको बताएका छन्। छ वटा रोटरी क्लबले शनिबारदेखि भरतपुरमा सुरु गरेको कृत्रिम हातखुट्टा प्रदान गर्ने कार्यक्रमको उद्घाटन गर्दै उनले प्रदेशका विभिन्न जिल्लाका लागि मन्त्रालयले विशेषज्ञ चिकित्सक माग गरे पनि पाउन नसकिएको बताएका हुन्।

उनले मन्त्रालयले विशेषज्ञ चिकित्सक माग गर्दा पाउन नसकेपछि सम्बन्धित स्थानीय तह र अस्पताललाई नै विज्ञापन गरी माग गर्ने अधिकार दिइएको बताए। उनले भने, ‘एक हप्ताअघिदेखि मन्त्रीस्तरीय निर्णय गरेर स्थानीय तह र अस्पताललाई नै चिकित्सक माग गर्न विज्ञापन गर्ने अधिकार दिइएको छ।’

उनले तल्लो तहसम्म चिकित्सकीय सेवा दिन मन्त्रालय लागिपरेको भए पनि त्यसो गर्न नसकेको बताए। उनले भने, ‘कसरी तल्लो तहसम्म विशेषज्ञ चिकित्सक पठाउन सकिन्छ भन्ने बारेमा थप छलफल भइरहेको छ, प्रोत्साहन भत्ता दिएर सकिन्छ कि भनेर नीति अवलम्बन गरिएको छ।’

काठमाडौंका डाक्टर काठमामा मात्रै बस्न चाहने र भरतपुरका भरतपुरमै मात्र बस्न चाहने जनाउँदै उनले भने, ‘भरतपुरबाट माडी गइदिनुहोस् भन्दा पनि मान्नुहुन्न।’ उनले चिकित्सकहरू सरकारले पठाएको ठाउँमा जाने, दुर्गम क्षेत्रमा गएर काम गरिदिने भए समस्या नपर्ने बताए। -रासस