क्यान इन्फोटेक २०२४ भव्यताका साथ सम्पन्न

लोकपाटी न्यूज
4 Shares

काठमाडौं। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आयोजना गरेको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ सम्पन्न भएको छ। क्यान इन्फोटेकको २९ औँ संस्करण अन्तर्गतको यो प्रदर्शनी माघ २५ देखि २९ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना गरिएको थियो।

नेपाल सरकार तथा मातहतका निकायका तर्फबाट विशिष्ट अधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधिदेखि प्रदेशसभा, राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरू, विभिन्न राजनीतिक दल सम्बद्ध नेता, योजना आयोगका अधिकारीहरू, नीति निर्माता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका व्यवसायी, कलाकार, समाजसेवी, विद्यार्थी तथा सूचना प्रविधि प्रेमीले प्रदर्शनी अवलोकन गरेका थिए।

इन्फोटेकमा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्डसँगै दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक, नेटवर्क तथा सेक्युरिटी सेवा प्रदायक, फिन्टेक प्रविधि, इकमर्स, आइटी तालिम प्रदायक, विभिन्न क्षेत्रका लागि विकास गरिएका सफ्टवेयर तथा म्यानेजमेन्ट सिस्टम, अनलाइन लर्निङ टुल, राइड शेयरिङ एप लगायतसँग सम्बन्धित स्टलहरूमा अवलोकनकर्ताको विशेष चासो देखिएको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए।

यस पटकको इन्फोटेकमा नेपाली युवाका नवीनतम सोच, उत्पादन तथा समाधानलाई प्राथमिकता देखिएको बताउँदै महासचिव अधिकारीले डिजिटल साक्षरता, ब्लकचेन प्रविधि, एआई, साइबर सुरक्षा लगायतका पक्षमा नेपालको सूचना प्रविधि क्षेत्रलाई तयार पार्न सहयोग पुगेको बताए। प्रदर्शनीमा नेपाली स्टार्टअप र इनोभेसनबारे बुझ्न चाहने अवलोकनकर्ताको संख्या उल्लेख्य रहेको थियो। आयोजकले यस्ता सोच तथा आविष्कारलाई प्रश्रय दिन निःशुल्क स्टलको व्यवस्था गरेको थियो।

यस संस्करणको इन्फोटेक उत्साहजनक रूपमा सफल भएको र सकारात्मक प्रतिक्रिया प्राप्त भएको क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बताए। उनले प्रदर्शनीका सम्पूर्ण प्रायोजक, प्रदर्शनीकर्ता कम्पनीहरू, सहयोगी संस्थाहरू, मिडिया तथा सूचना प्रविधिप्रेमी अवलोकनकर्तालाई धन्यवाद दिए।

प्रदर्शनीमा करिब १५० स्टलको सहभागिता रहेको थियो, यसअन्तर्गत प्रदर्शनीकर्ता कम्पनीहरूले आफ्ना वस्तु तथा सेवा उपभोक्तामाझ प्रवर्द्धन गरेका थिए। साथै यही अवसरमा कम्पनीहरूले आफ्ना उत्पादनमा ‘क्यान इन्फोटेक अफर’ दिँदै छुट तथा आकर्षक योजना पनि सार्वजनिक गरे। आफ्ना उपभोक्तासँग नजिकिन कम्पनीहरूले अन्तर्क्रिया र रमाइला खेल समेत सञ्चालन गरेका थिए। यसैबीच राजधानीमा राष्ट्रियस्तरको क्यान इन्फोटेक सफलताका साथ सम्पन्न भएपछि सन् २०२४ भित्र सातै प्रदेशमा क्यान इन्फोटेक गर्ने योजना ल्याइएको छ। यसका लागि तयारी तीव्र पारिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्