कर्णालीको खेल पोशाक राष्ट्रिय खेलकुद परिषद्मा दर्ता

लोकपाटी न्यूज
7 Shares

सुर्खेत। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले कर्णालीका खेलाडीको लागि तयार पारेको खेल पोशाकलाई राष्ट्रिय खेलकुद परिषद्मा औपचारिक रुपमा दर्ता गराएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले बुधवार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको उपस्थितिमा खेल पोशाक दर्ता गराएका हुन्।

राष्ट्रिय खेलकुद परिषद्को इतिहासमा पहिलो पटक खेल पोशाक कर्णालीले दर्ता गरेको भन्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले यो एक ऐतिहासिक काम भएको बताए। ‘राष्ट्रिय खेलकुद परिषद्को इतिहासमा यो नौलो भएको छ खेल पोशाकको महत्त्व के हो ? भन्ने कर्णालीले राम्रो नजिर स्थापित गरेको छ,’ राखेप सदस्य सचिव घिसिङले भने, ‘त्यसको लागि कर्णाली प्रदेश सरकार कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई धन्यवाद दिन चाहन्छु। खेल पोशाकले खेलाडीलाई एक स्प्रीड त कायम गर्छ नै त्यसमा पनि यो खेल पोशाकले कर्णालीको पहिचानलाई समेटेको छ। यो खेल पोशाक लगाउने कर्णालीका खेलाडीहरूलाई बधाई दिन चाहन्छु।’

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले कर्णाली प्रदेशले दर्ता गराएको खेल पोशाक कर्णालीका खेलाडीहरूले राष्ट्रिय प्रतियोगिता र अन्तर प्रदेश प्रतियोगितामा लगाउन मिल्ने बताए। ‘अब कर्णालीका खेलाडीहरू राष्ट्रियस्तरको प्रतियोगितामा देखिदा आफ्नो पहिचानसहितको पोशाकमा देखिने छन्,’ सदस्य सचिव संज्यालले भने, ‘यसले कर्णालीको पहिचान मात्र होइन पर्यटनलाई समेत प्रवर्द्धन गर्ने छ।’

९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितासम्म आउँदा राष्ट्रिय खेलकुद परिषद्ले ७ प्रदेश र ३ विभागीय टिमलाई एकद्वार प्रणालीबाट एउटै खालको पोशाक वितरण गर्ने गरेको भन्दै सदस्य सचिव संज्यालले देश संघीयतामा गइसकेपछि राष्ट्रिय खेलकुद परिषद्ले अब त्यस्तो गर्न नहुने बताए। ‘तीन विभागीय टिम र सात प्रदेशले खेलाडीको पोशाक रंग आफ्नो-आफ्नो बनाउनु पर्छ। भोलि एक प्रदेशको कलर अर्को प्रदेशसँग मिल्नुभन्दा अहिले देखि नै आफ्नो-आफ्नो पोशाकको कलर बनाए आउने दिनमा सजिलो हुन्छ,’ सदस्य सचिव संज्यालले भने, ‘अहिले कर्णालीले दर्ता गराएको पोशाकको कलर भने अब अन्य प्रदेशले वा विभागीय टिमले बताउन पाउने छैनन्।’

सरकारी कर्मचारी ,नेपाल प्रहरी, बैंकका कर्मचारी सबैको कोड हुने गरेको र कर्णाली प्रदेशका खेलाडीहरूको लागि पनि आफ्नो छुट्दै कोड बनाएको उनको भनाइ छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन सम्बन्धि निर्देशिका २०७९ को परिच्छेद ५ को दफा १६ मा उल्लेख भए बमोजिमको खेलाडी पोशाक प्रयोजनार्थ आगामी वर्ष मिति २०८१ मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि र राष्ट्रपति रनिङ शिल्ड सञ्चालन सम्बन्धि निर्देशिका २०७०को परिच्छेद ३ को दफा १२ को उपदफा ११ बमोजिमको खेलाडी पोसाक प्रयोजनार्थ आफ्नो खेल पोशाक दर्ता प्रक्रियाको लागि राष्ट्रिय खेलकुद परिषद्लाई अनुरोध गरेको थियो।

कर्णाली प्रदेशले दर्ता गराएको खेलाडी पोशाकको नमुना १. खेलाडी गेम जर्सिः कर्णालीमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा, दुर्लभ जनावर याक र धार्मिक पर्यटकीय क्षेत्र हिमाल, रारा, पंचदेवल, काँक्रेविहार र कर्णाली नदिको चिनारी अंकित निलो आकाशे रंग र रातो नेपाली झन्डा रंग मा २ वटा गेम जर्सी सेट। २. खेलाडी मार्चपास पोशाकःकर्णालीमा उत्पादन हुने अल्लो तथा भाँगोको रेशाबाट आफ्नो मौलिकताको सफारी सुट, ह्याट र बेल्ट सेट ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्