कम्युनिस्ट आन्दोलनका अनुत्तरित प्रश्नभित्र सफल साम्राज्यवादको प्रत्यारोपण!

लोकपाटी न्यूज
23 Shares

नेपालमा कम्युनिस्ट आन्दोलनको अवस्था के छ ? समाजवादी आन्दोलन कहाँ छ ? हिजो सगरमाथामा हँसिया हथौडाको झन्डा फहरिरहँदा विश्व कम्युनिस्ट आन्दोलनले नेपालबाट ठूलो आशा र भरोसा लिएको थियो। समाजवादी मुलुक रुसको विघटन, पूर्व र पश्चिम जर्मन छुट्टिने वर्लिनको पर्खाल भत्किएपछि निराश बनेको समाजवादी आन्दोलनमा नयाँ उत्साह थप्न नेपाका कम्युनिस्टहरू अगाडि देखिए र सफल पनि बने। निर्वाचनबाट पनि समाजवादी आन्दोलनको मोर्चा कस्न सकिन्छ भन्ने एकथरि निर्वाचनमा होमिँदै प्रतिक्रियावादीहरूको मुटु हल्लाउँदै थिए भने अर्कोतिर सशस्त्र जनयुद्धको कार्यक्रमको तयारीमा एकथरि कम्युनिस्टहरू जुट्दै थिए। २०६२को क्रान्ति पश्चात् २५० वर्ष लामो राजतन्त्रको अन्त गर्न पनि कम्युनिस्ट शक्ति नै अग्र मोर्चामा थिए।

अभियानको दिशा कता

जनमत र जनसमर्थनबाट दुई तिहाइभन्दा बढी जनताको विश्वास र मत जितेका ती कम्युनिस्टहरूले आफ्नो पुरानो साख र वर्चश्व किन कायम गर्न सकिरहेका छैनन् ? कसले छेकेको छ ? कसले भाँजो हालेको छ ? कम्युनिस्ट शक्ति मिल्न नसक्नुमा, अवसरलाई समाजवादको आधार तयार गर्ने मार्गमा डोर्‍याउन नसक्नु र फुट र गुटमा रमाउने प्रवृत्ति देखिनुमा दोषी को ? किन भइरहेको छ नेपाल कम्युनिस्ट आन्दोलनमाथि शंका र धोका। कसको हस्तक्षेप भएर बारम्बार नेपालको कम्युनिस्ट आन्दोलन तितरबितर र टुक्रा-टुक्रा हुँदैआयो ? के मार्क्सवादी दर्शनभित्र नै त्रुटि भएर हो त ?

२०५६, २०६४ र २०७४ मा प्रत्यक्ष अप्रत्यक्षरूपमा दुई तिहाइभन्दा बढी जनताले कम्युनिस्टहरूलाई साथ दिए। समाजवादको लागि मार्ग प्रशस्त गरे। तर, कहाँ गयो समाजवाद कहाँ छ अहिलेको कम्युनिस्ट आन्दोलन ? न कुनै विदेशीको प्रत्यक्ष यसमा हस्तक्षेप भयो। न कुनै सामन्ती शक्तिले वा न कुनै निरङ्कुश शक्तिले यहाँको कम्युनिस्ट आन्दोलनलाई दबाउन सक्यो। तर, समाजवादी अभियानको दिशा कता छ ? नेपालको कम्युनिस्ट आन्दोलनले कुन गति लिएको छ ? विवर्श गर्न ढिला भएको छ।

आज किन कम्युनिस्ट आन्दोलन शिथिल भयो ? किन समाजवादले आफ्नो मार्ग पकड्न(समात्न) नसकी, दिन प्रतिदिन जनताको हाँसिमजाकको पात्र बन्दै छ ? घरबार विहीन बेसाहाराहरु मेची महाकालीदेखि एउटा चकटी एक माना सातु बोकेर न्यायको भीख माग्न भन्दै काठमाडौं आउने अवस्था किन बन्यो। त्यहाँ कुनै कम्युनिस्ट पार्टीका संगठन थिएन ? त्यसको नेतृत्व लिन पर्दछ कसैले भन्यौ ? भनेन। किन ? किनकि यहाँ कम्युनिस्टमाथि मर्ममा प्रहार भएको छ आफैँ र आफ्नै भित्रबाट।

उग्रवादी सोच चिन्तन

एकातिर प्रधानमन्त्री विश्व कम्युनिस्ट आन्दोलनले चिनेका व्यक्तित्व छन्। अर्कोतिर, नेतृत्वको अभाव छ भनौं भने दर्जनौं कम्युनिस्ट नेता विश्व कम्युनिस्ट आन्दोलनको आशाका थुम्का बनेर बसेका छन्। आज उनीहरू किन शोषण अन्याय अत्याचारमा परेका जनताभन्दा बाहिर छन् ? दुखी गरिबको पीडाभन्दा बाहिर छन् ? सडकमा गरिब जनता, सरकारमा कम्युनिस्ट पार्टी, यो नदी त उल्टो बगेको जस्तो छ! यो कसरी भयो ? अहिले त लाग्न थाल्यो कम्युनिस्ट आन्दोलन सिद्धाउन सामन्तवाद कुनै देशभित्र घुस्न पर्ने रहेनछ। कुनै मुद्दामा फसाउन र लाखौं मजदुर मार्न पर्ने रहेनछ। पश्चिमाहरूले एउटा गजबको हतियार पाए, नेपाली समाजबाट, त्यो हो लोभ लालच, इगो र घमण्ड बढाउनु। जति मूल्य परे पनि बेफिक्रीसँग त्यसमा खर्च गर्नु।

सामान्यरूपमा हेर्दा यी शब्दहरू विश्वव्यापी देखिन्छन्। गहिरिएर यसका मर्महरूबारे नेपाली समाजको परम्परागत अभ्याससँग अध्ययन गर्दा भने हाम्रो रगतभित्र लिउन लेपिएझैँ बसेका छन्। जिनमा नै प्रवेश पाएका छन् र मौकामा चौका हान्ने दाउमा छन्। ठाडा जुँगा पाल्ने चर्को स्वरमा बोल्ने अरूलाई हप्काउन दप्काउने डाँकाले टिप्ने। महत्वकांक्षा कति बढ्ने भने सित्तिमा पाए अलकत्रा पनि खाने! एक पाउनासाथ दशको आशा गर्ने, दश पाउनासाथ सयको र सय पाउनासाथ हजारको कल्पना गर्ने परम्परावादी सोच नै यसको जड् हो भन्ने देखिन्छ। नपाउन्जेल पाउन प्रयास गर्‍यो। पाएपछि धेरै पाउन प्रयास गर्‍यो, धेरै पाएपछि, रूप रङ्ग नै बिग्रने गरी अति धेरै पाउन प्रयास गयो। यसलाई उग्रवादी सोच चिन्तन भनिन्छ। किनकि उग्रवाद भनेकै अति हो, हरेक कुरामा अति गर्ने र फेरी अति नै गर्ने, प्रवृत्ति र चिन्तन हो।

अनुत्तरित यस्ता सवाल

उग्रवादी चिन्तनको कुनै सीमा र अवधि हुँदैन। अति गर्ने सोखले मानिसमा उग्रवादी धारणाको जन्म दिन्छ। यसले यस्तो अवस्थामा पुर्‍याउँछ कि, जहाँ पुग्दा उसको रूप रङ्ग, चाल ढङ्ग, बानी ब्यहोरा, बोली चाली सबैथोक नै परिवर्तन हुन पुग्दछ। सुखको कुरा होस् वा सुविधाको कुरा, धनको कुरा होस् वा मनको कुरा, जे’मा पनि अति गर्नै पर्ने। ठालु त भयो, अब उसलाई महा-ठालु हुनै पर्ने! अधिकार पाउनासाथ एकक्षत्र आफैले राज गर्नै पर्ने। बादशाह जस्तो बन्नै पर्ने।

हिजोको थुमे भूमे राजाको सोचाई, त्यसपछि विकास भएको बाइसे-चौबिसे राजाका सोचाइ, त्यसपछि तल्लो तहमा विकास हुन पुगेको मुखिया र रैतीको सोच र प्रशासनिक तवरमा राणाकालभन्दा पहिलेदेखिका तबिल्दार-बैदार-मुखियाको सोचाई। मात्र हरेक पक्षबाट आफ्नो लागि र आफ्नाका लागि सोच्ने सोच।

म’को मनोविज्ञानबाट उठ्न जरुरी

राणाकालभन्दा पहिलेदेखि आज कम्युनिस्ट नेताको रूपमा विश्व कम्युनिस्ट आन्दोलनले चिन्ने नेता बन्दासम्म यो परम्परा र ऐतिहासिक रोग गएन। त्यसै लेखेका त हैनन् नि कवि शिरोमणिले ‘मै खाउँ, मै लाऊँ, सुख सयल वा मोज म गरूँ, मै हाँसूँ, मै बाँचूँ, अरू सब मरुन्, दुर्बलहरू…’ भन्ने कविता। आजका कम्युनिस्ट पार्टीका नेताहरूमा आना-सुका तलमाथि होला, सबै टुक्रा-टुक्राभित्रका झुन्ड, सन्ड, मुण्ड सबैमा यो रहर छ। भित्र मौकाको पखाइमा छन्। आफैभित्र डाह, इगो, घमण्ड छ। र त, नेपालको कम्युनिस्ट आन्दोलन तितरबितर छ। जनता निराश बन्दै छन्। कतै कम्युनिस्ट आन्दोलन भित्र साम्राज्यवादको सफल प्रत्यारोपण त भएको हैन ? अनुत्तरित यस्ता सवालले जबाफ खोजिरहेछ।

एकले अर्काको खुट्टा तानेर कुनै पनि कम्युनिस्ट संगठन अगाडि बढ्न सक्दैन। यो प्रवृत्तिले पार्टीहरूमा जरा गाढे जस्तो छ। पार्टी कसरी बनाउने भन्दा व्यक्ति कसरी बन्ने भन्ने सोचमा नेतृत्व फसेको अनुभूत हुन्छ। त्यस्ता कम्युनिस्ट नेतृत्वलाई के भन्ने ? आश्चर्य लाग्छ, विश्व परिवेश बुझेर पनि किन उनीहरू अबुझ छन्। विश्व एकाधिकारका गहिरा फँडाहरु विषग्रन्थि भरि, विष बोकेर कम्युनिस्टहरूभित्र भएको राष्ट्रिय भावना मार्न उद्धत छन्। कम्युनिस्टबीचको एकता र सद्भाव टुक्र्याउन जस्तो मूल्य चुकाउन पनि तयार छन्। अप्रत्यक्ष यस्तो बन्न पुग्यो कि आज कम्युनिस्टविरुद्ध गरिब, निमुखा, हेपिएका चेपिएका, बेसहारा र शोषण अन्याय अत्याचारमा परेकाहरू उत्रिने अवस्था बनेको छ। एउटा ठेकेदार निस्किएर उनीहरूलाई सङ्गठित गर्दै छ। कम्युनिस्टहरू जहाँ छन् कि त उनीहरूलाई निकम्मा बनाउन, कि त उनीहरूको मनोबल गिराउन वा आन्दोलनबाट भड्काउन अति उग्रवादी बाउने प्रयासमा छन्। कम्युनिस्टले जनताको समस्या बुझ्न सक्दैन, विभेद अन्याय अत्याचार चिन्न सक्दैन भने त्यो कम्युनिस्ट बन्दैन। त्यो प्रतिक्रियावादी हो।

अहिले नेपाल कम्युनिस्ट आन्दोलनमा गतिहीनताको अवस्था आउनमा दोषी कसलाई ठान्ने ? सजिलो घरेलु मनोवैज्ञानिक हतियार प्रयोग गरी विश्व साम्राज्यवादले नेपालमा कम्युनिस्ट पार्टीलाई जनताबाट अलग्याउँदै छ। दुई तिहाइभन्दा बढी समर्थन पाएको कम्युनिस्ट आन्दोलनले जनतामा निराशता छर्दै छ। यी गफका पुरी भनेर भन्दैछन्। अझै यसबारे कुनै कम्युनिस्ट घटकका जिम्मेवार नेतासँग चेतना जाग्न सकेको छैन। सबैमा मेरो गोरुको बाह्रै टक्का भन्ने नशा चढेको छ। यो नशाको स्रोत विश्व साम्राज्यवादीहरू नै हुन्। उनीहरूलाई दोष दिएर के गर्ने! सही लाइनमा आफ्नै नेता हिँड्न पर्‍यो नि! कुनै कम्युनिस्ट पार्टी नेतृत्वले पनि पछि फर्केर एक पटक आफूले आफैमाथि ध्यान दिन सकेका छैनन्। मै ठूलो, मै जान्ने, म शक्तिशाली, म भए सबै हुन्छ भन्ने मनोविज्ञानले उनीहरूलाई उठ्न दिएको छैन। अगाडि बढ्ने बाटो र मेसो दिएको छैन। यो मनोविज्ञान तयार गर्नसक्ने क्षमता पैदा गर्न विश्व साम्राज्यवाद सफल भएकोमा एकाधिकार पुँजीवादीहरू मक्ख छन्। लुटतन्त्र निर्वाध चलाइरहेछन्।

विश्व कम्युनिस्ट आन्दोलन

अब विश्व कम्युनिस्ट आन्दोलनतर्फ पनि हेरौं। समाजवादी क्रान्ति सफल भएका र समाजवादी राज्य सञ्चालन गरेका देशहरूको आजसम्मको कम्युनिस्ट आन्दोलनको इतिहासबारेमा अध्ययन गरिरहँदा यो कुरा बुझ्न सकिन्छ कि, पुँजीवादी, शोषक, सामन्तहरू, धर्म बेचेर बाँच्नेहरू, मानिस कै व्यापार गरेर लुटेको सोसेको धन सम्पत्तिको आडमा आफूलाई सभ्यताको अग्रज ठान्नेहरू, लुटाहा-ठगहरू र जाली-फटाहाहरू कम्युनिस्टसँग डराए। उनीहरूकै संरक्षण गरेर बसेको पुँजीवादी राज्यसत्ता, पुरै कम्युनिस्टका पछि हात धोएर लाग्यो। आफ्नो आम्दानीको जति प्रतिशत खर्च गर्नपरे पनि कम्युनिस्ट विरुद्ध खर्च गर्न पुँजीवादीहरू उद्धत रहे।

पुँजीवादले समाजमा कम्युनिष्ट विरोधी समाजवादविरुद्धको आफ्नो आफ्नै पहिचान बनाउन सक्यो। त्यही पहिचान लिएर धनी मानी, टाठा बाठा भन्नेहरू संगठित हुन पुगे। उनीहरूबीच निजी स्वार्थका लागि सम्झौता भयो। आफूले गरेका मानवता विरोधी कार्यलाई वैध बनाउन संयुक्त राष्ट्र संघ र त्यसका विभिन्न एजेन्सीहरू निर्माण भए। यिनीहरू सुनियोजितरूपले समाजवादविरुद्ध लागे। कम्युनिष्ट विरोधी अभियानलाई योजनाबद्ध रूपले संगठित र व्यवस्थित गरी अगाडि बढाए। समाजलाई साक्षी राखेर समाज लुटिरहँदा पनि कम्युनिस्टहरू हेरिरहने अवस्था बन्यो। सहन गरिरहन पर्ने अवस्था बन्यो। आफैमाथि ताकिएको तरबार नदेखे जस्तो बन्ने अवस्था सिर्जना भयो।

व्यवस्थित प्रयास आवश्यक

पूँजीवादीहरुको चौतर्फी आक्रमण थेग्न र समाजवाद टिकाउन त्यस्तो व्यवस्थित र संगठित प्रयास कहीँ कतै भएन। भएका प्रयासहरूमा पनि आफ्नो हितभन्दा बाहिर गएर कसैले सोचेको देखिएन। यो विश्व त निर्वाधरूपमा समाजवादी विश्व हुनुपर्ने हो। आज किन समाजवादी धुरीसम्म कायम हुन सकेन ? मार्क्सवादले त सामूहिकतालाई जोड दिन्छ। सामूहिक एकता सामूहिक सद्भाव किन बिथलियो ? सामूहिक शक्ति र सामूहिक परिवर्तनका मुद्दाहरू कमजोर तुल्याइएको छ किन ? उत्तर छैन। विचारप्रति विश्वास हटेको व्यवहारले देखाउँछ। तर, पनि समाजवादी विचार गलत छ किन भनिँदैन ? किनकि विज्ञानलाई ललकार्न कसैले सक्दैन ? बरु झुक्न सक्छ र झुकिरहेछ। कम्युनिष्ट पार्टीहरूमा नै विचार र व्यवहारमा देखिने फरकपनले समाजवादको भविष्य अन्धकार देखाउँछ। आज कम्युनिस्ट पार्टीका नाममा नै कम्युनिस्टको भविष्य अन्धकार तुल्याउन लागेको प्रतीत हुन्छ। पुँजीवादी चिन्तन प्रवृत्ति त्यसमा पनि दलाल पुँजीवादले नेपालका जिम्मेवार निकायसमेत प्रभावित बनेका छन्।

यसकै नाममा राज्य संयन्त्र कि त दुरुपयोग गरिएको छ कि त पङ्गु तुल्याइएको छ। यस्तो विकृतिले भोलिको कम्युनिस्ट आन्दोलन कता जाला ? समाजवाद वैज्ञानिक पद्धतिभित्रको सामूहिक प्रवृत्ति हो। यो त प्रकृतिको नियमसँग अनुबन्धित छ। विज्ञान सम्मत छ। वास्तवमा यसले त प्राकृतिक साम्यवाद चाहन्छ। शोषणको अन्त गर्न चाहन्छ। यातनाविरुद्धको र विभेदरहित समाजको निर्माण गर्न चाहन्छ। वर्गविहीन समाजमा चाहन्छ। खुला र उन्मुक्त समाज जहाँ मानवीय मूल्य र मान्यताको भरपुर सदुपयोग भएको समाज चाहेको हुन्छ।

समाजवाद कमजोर तुल्याउने खेलमा समाजवादी

समाजलाई कमजोर तुल्याउने काम समाजवादीहरू भन्नेहरूबाटै भयो। समाजवादभित्रै बसेर यसलाई दिसाहीन तुल्याउने काम पुँजीवादको निर्देशनमा भए। शक्तिका विरुद्ध सत्यको मशाल बोकेर अगाडि बढ्न चाहेको समाजवादका पाखुरामा घन हानियो पैतालामा बन्चरो चलाइयो।

चेतनाको बत्ती बालेर अगाडि बढेको समाजवादले कुनै समय विश्व जगाएको थियो। युरोप अमेरिकादेखि एसियन मुलुकका सहर-बजार, गाउँ-बस्ती समाजवादको नाराले घन्किएको थियो। यो रौनक धेरै समय टिकेन। समाजवादभित्र तेरो र मेरो धुरी कायम भयो। पुँजीवादी धुरीले यसलाई सक्दो उपयोग गरी आफ्नो गुमेको अस्मिता फर्काउन जोड बल गर्‍यो। बाह्य र आन्तरिक कारणले समाजवादी विश्व सामाजिक भाव, सामूहिक सद्भाव र सामाजिक एकताका साथ अगाडि बढ्न र संगठित हुन सकेन। र, क्रान्तिका उपलब्धिहरू निष्प्राण जस्तै बन्न पुगे।

किन यसो भयो

किन यसो भयो ? आज पनि खोजीको विषय छ। यसका लागि इतिहास अध्ययन आवश्यक छ। समाजवादी आन्दोलन के सामाजिक मनोभावना विपरीत थियो ? अवश्य थिएन। प्रकृति न्यायविरुद्ध थियो ? थिएन। मानवीयहितका कुरा मानवका लागि कमजोर मुद्दा थियो ? थिएन, तर पनि किन समाजवाद विस्तार विस्तार पुँजीवादको पदचाप बन्न पुग्यो। कम्युनिस्टको महान् लक्षको रूपमा उदाएको समाजवाद किन उठ्न सकेन ? के सैद्धान्तिक कमजोरी थियो ? यस्ता अनगिन्ती सवाल आज जन्मिएको छ ? अब पनि एक पटक समाजवादका पक्षधरले चिन्तन मनन नगर्ने हो भने यसको भविष्य के होला ? कसले गर्ला ?

नेपाली कम्युनिष्ट आन्दोलन उदाहरणको साक्षी छ। यहाँको कम्युनिस्ट आन्दोलनले पाएको सफलता, कमाएको जनताको माया, जितेको विश्वास; आज मजदुर, किसान र विपन्न समुदाय किन भ्रममा छ ? आज कम्युनिस्ट पार्टीभित्रै समाजवादका शत्रुहरू अवसरको खेती गरेर किन बस्न सकिरहेछन्। शत्रु किटेर उठ्न किन कम्युनिस्ट आन्दोलन सक्दैन ? पार्टीका कार्यनीति र कार्यक्रमले किन व्यवहारलाई छुँदैन र गहना जस्तो गलाको हार बन्न पुग्दछ। इतिहासको गर्भमा पनि यो रोग थियो। यो रोग हिजो र आज पनि छ। कसले यसबारे सोच्ने ? कम्युनिष्ट आन्दोलन कसरी उठाउने ? र, समाजवादको मार्गमा देश र जनतालाई कसरी अगाडि बढाउने ? अनुत्तरित छन् प्रश्नहरू। हामीले लिन पर्ने शिक्षा यहीबाट हो। अस्तु…।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्