कैदीबन्दीका लागि सरकारले गरेको प्रबन्ध अपर्याप्त : प्रजिअ आचार्य

लोकपाटी न्यूज
4 Shares

निर्मल पौडेल

कुश्मा। पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले कैदीबन्दीका लागि सरकारले गरेको प्रबन्ध अपर्याप्त रहेको बताएका छन्। नेष्डो नेपालद्वारा ७४ औँ प्रजातन्त्र दिवसका आज आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले कैदीबन्दीको जीवनयापनलाई सहज बनाउन सरकारले सेवा सुविधामा थप गर्नुपर्नेमा जोड दिए। पर्वत कारागारका लागि विभिन्न सङ्घसंस्थाबाट सहयोग जुटाएको उल्लेख गर्दै प्रजिअ आचार्यले स्वैच्छिक ढंगले कैदीबन्दीका लागि सामाजिक सङ्घसंस्थाहरूबाट प्राप्त सहयोग सह्रानीय रहेको बताए।

इतिहासमा लामो संघर्ष र बलिदानीबाट प्रजातन्त्र र त्यसपछिका विभिन्न आन्दोलनले ल्याएको राजनैतिक परिवर्तनबाट प्राप्त लोकतान्त्रिक संवैधानिक गणतन्त्रमा मुलुक अगाडि बढिरहेको उल्लेख गर्दै उनले यही व्यवस्थामा रहेर सङ्घसंस्थाहरूले सबल ढंगले आफ्नो कार्यकौशल प्रदर्शन गरिरहेकोमा खुसी व्यक्त गरे।

नेष्डो नेपालका संस्थापक विश्वप्रकाश प्रसाईँले प्रजातन्त्र दिवसको अवसरमा कैदीबन्दीलाई विभिन्न सामाग्री सहयोग गर्दा मानव अधिकारको सम्मान हुन गएको धारणा राखे। उनले दुःखले जोहो गरेको स्रोत साधन प्रजातन्त्र दिवसमा खर्चिन पाएकोमा खुसी व्यक्त गरे। उनले नेष्डो नेपालले आगामी दिनहरूमा पनि सक्दो सहयोग गर्दै जाने विश्वास व्यक्त गरे।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज नेष्डो नेपाल, रोटरी क्लब अफ पर्वत लगायतका सामाजिक सङ्घसंस्थाद्वारा जिल्ला कारागार शाखाका कैदीबन्दीलाई विभिन्न सामाग्री प्रदान गरिएको थियो। यसरी प्रदान गरिएका सामाग्रीहरूमा एक थान टेलिभिजन, १ थान वाटर डिस्पेन्सर, २ थान भलिबल, १ थान नेट, २ थान तौल नाप्ने मेशिन, १ थान पङ्खा र २ थान ब्याडमिन्टन सेट लगायतका सामाग्रीहरू रहेका छन्।

त्यस्तै नेष्डो नेपालको आयोजनामा पर्वत जिल्ला अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिएको थियो। पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीले नेष्डो नेपाल, रोटरी, इनरह्वील तथा रोट्याक्ट लगायतका संस्थाहरूले अस्पताललाई नियमित रुपमा सहयोग गर्दै आएकोमा खुसी व्यक्त गरे। अस्पतालका सेवाको गुणस्तरीय अभिवृद्धिमा आफू लागि गरेको भन्दै उनले दैनिक २ सयभन्दा बढी बिरामीले बहिरङ्ग सेवा लिने गरेको जानकारी दिए। उनले अस्पतालका सेवालाई थप प्रभावकारी बनाउन सामाजिक सङ्घसंस्थाहरूसँग सहकार्य जरुरी रहेको बताए।

पर्वतमा विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको थियो। जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा बिहान कुश्मा बजारस्थित सहिद चोकमा रहेको शहिद गोविन्दनाथ शर्माको शालिकमा पुष्पअर्पण गरिएको थियो। कुश्मा नगरपालिकाले नगरवासीको निःशुल्क रक्त परीक्षण शिविरको आयोजना गरेको थियो। त्यस्तै जिल्ला पशु सेवा कार्यालयले निःशुल्क पशुहरूको जाँच तथा खोप प्रदान गरेको थियो। फलेवास नगरपालिका, जलजला, मोदी, विहारी, पयुँ र महाशिला गाउँपालिकामा पनि दीप प्रज्वलन गरी प्रजातन्त्र दिवस मनाएका छन्। एक सय चार वर्ष लामो जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको स्मरणमा हरेक वर्ष फागुन ७ गतेलाई राष्ट्रिय प्रजातन्त्र दिवसको रुपमा मनाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्