विवाह : बन्धन नभएर प्राकृतिक आवश्यकता

लोकपाटी न्यूज
15 Shares

मलाई जीवनमा सबैभन्दा बढी सोधिएको प्रश्न हो, अब कहिले विवाह गर्ने ? हामीलाई भोज कहिले खुवाउने ? वास्तवमा भन्ने हो भने म विवाहको विरोधी मान्छे भने होइन, तर आजसम्म विवाह बन्धनमा बाँधिने अवसर किन जुरेन म आफैलाई थाहा छैन। त्यसो त एक दुई युवतिसँग मैले विवाहको कुरो गर्ने आँट पनि नगरेको होइन, तर उहाँहरूसँग खुला हृदयले विवाहको विषयमा किन मन मिल्न सकेन ? त्यो मेरो व्यक्तिगत चाहनाले मात्र हुने कुरा पनि होइन। अब त विवाह गर्ने उमेर ढल्कँदै गएर होला विवाह गर्न सत प्रतिशत मन पनि मर्दै गएको छ। जीवनभर ब्रह्माकुमार बस्ने चाहना पनि मेरो विवाहको आवश्यकतामा तगारो बनेको साँचो हो। तथापि, यस आलेखमा करिब तीन दशकको अध्ययन र भोगाइबाट मैले बुझेको विवाहको भूमिका र महत्वका विषयमा आफ्नो धारणा राख्ने जमर्को गरेको छु।

विवाह (बिहे) दुई व्यक्तिहरू मध्य (प्रायः एक नर र अर्को नारी)को सामाजिक, धार्मिक अथवा कानुनी रूपबाट एक अर्कासँगै जीवन व्यतीत गर्ने सम्बन्ध हो। विवाहले दुई परिवारबीच नयाँ नातासम्बन्ध जोड्ने काम गर्छ। विवाह शब्द संस्कृतबाट नेपालीमा आएको तत्सम शब्द हो। संस्कृत भाषामा प्राप्त गर्नु भन्ने अर्थमा ‘वह’ धातुमा विशेष अर्थले ‘वि’ उपसर्ग लागेर तत्पश्चात् ‘घञ्’ प्रत्यय लागेर ‘विवाह’ शब्द बन्छ। जसअनुसार विवाह भनेको सामान्य जीवनबाट एक विशिष्ट जीवनतर्फको यात्रा अर्थात् जीवनमा विशेष जिम्मेवारीको बहन गर्न‘ हरेको भन्ने बुझिन्छ।

विवाह एउटा महत्त्वपूर्ण र उत्तम सामाजिक अभ्यास हो। सामाजिक व्यवस्था सन्तुलित रहेन भने समाजले विकासको निकास लिन सक्दैन। यसका लागि समाजका व्यक्तिहरू सबै मिलेर आफूले आफैलाई निश्चित मार्गमा हिँड्ने जुन मान्यताको विकास गरेका हुन्छन्, त्यही मान्यताको एउटा पक्ष विवाह पद्धति पनि हो। जसले मानिसलाई पशु जगतबाट विकास गरेर मानव जगतमा ल्यायो र मानव समाजको निर्माण गर्‍यो। विवाह भन्ने विषय बहुआयामिक महत्वको विषय हो। प्राकृतिकरुपमा रहँदा मानवले पाएको ज्ञान र शिक्षाको आधारमा यो पद्धतिको विकास गरिएको छ।

वैवाहिक जीवनमा जोडिनु भनेको प्राकृतिकरुपमा वयस्क जोडीहरूको मिलनका लागि बनाइएको एउटा अनुशासित पद्धति हो। जसबाट व्यक्तिले वैधानिकरुपमा जीवन पद्धति बसाल्न र बालबच्चा जन्माउन स्वीकृति प्राप्त गरेको हुन्छ।

वंशको स्थायित्व प्रदान गर्न र सम्पत्ति हस्तान्तरण गर्ने, पुस्तान्तरणलाई जीवन्त दिने काममा विवाहले ठूलो महत्त्व राख्छ। समाज, धर्म र प्रचलनअनुसार विवाह फरक-फरक तरिकाले हुने गरेको पाइन्छ। विवाह सर्वव्यापी सामाजिक अभ्यास भएतापनि यसबाट सबै खुसी र सुखी भने अवश्य छैनन्, तर हामीले सम्बन्ध सुमधुर बनाउन आफ्नोतर्फबाट सक्दो सकारात्मक भूमिका निभाउनु पर्दछ। किनकि विवाह पद्धति भनेको समाज निर्माणको आधार पनि हो।

मानव सभ्यताको प्रारम्भिककालमा जुनसुकै पुरुष वा महिलाले जुनसुकै महिला वा पुरुषसँग विवाह नगरी सम्बन्ध राख्दथे। त्यसरी जन्मिने शिशुको पहिचान उसको आमाबाट हुन्थ्यो। त्यसबेलाको समाज मातृसत्तात्मक थियो। तर अहिले त्यस्तो छैन। विवाह अगाडिको सम्बन्धबाट बच्चा जन्माउनुलाई समाजले राम्रो मान्दैन। कतिपय देशहरूमा त कानुनमा नै रोक लगाइएको छ र विवाह पहिले बच्चा जन्मेमा त्यो कामलाई अपराधको रुपमा लिने गरेको पनि पाइन्छ।

विवाहका लागि महिला र पुरुष उमेरले योग्य भएको हुनुपर्दछ। त्यस्तो उमेर त्यस देशको कानुनले नै तोकिदिएको हुन्छ। कानुनको उलंघन गरी कम उमेरमा नै विवाह गरिदिएमा विवाहमा संलग्न सबैलाई कानुनअनुसार दण्ड र सजाय दिने व्यवस्था छ। सामाजिक प्रचलनको रुपमा भने कतिपय दुर्गम गाउँबस्ती र यदाकदा उमेरै नपुगी विवाह गरिएको पनि हामी पाउँदछौं। जसलाई बालविवाह भनिन्छ। जुन उचित होइन। बालविवाह गर्नेलाई कानुनमा पनि दण्ड र सजायको व्यवस्था कायम गरिएको छ। त्यसो त वर्तमानमा बालविवाहको चलन नगण्य देखिन्छ। पहिलेको पुस्तामा भने बालविवाहले विकरालरूप लिएको थियो। कानुनले विवाहका लागि युवा-युवतिको उमेर बिस वर्ष कट्नु अनिवार्य गरेको छ।

विवाह मानव जीवनकालको जैविक प्रक्रिया हो। एक स्वतन्त्र क्रियाकलाप हो। संस्कृति निर्माणको क्रममा विवाहलाई साँघुरो बनाउँदै बन्धनको रुपमा मानिन थाल्यो। विवाह बन्धन नभएर, सहज जीवनयापन गर्नका लागि अपनाइने एक सरल प्रक्रिया हो। अतः विवाह संस्कृतिको रुपमा विकास भयो। विवाह मानव सभ्यतासँग धेरैपछि जोडिएर आएको एउटा महत्त्वपूर्ण संस्कार हो। जुन मानव जीवनमा महत्त्वपूर्ण मानिन्छ।

विवाह संस्कार र आवश्यकता दुवै हो। विवाह बन्धन मात्र होइन, स्वतन्त्रता पनि हो। वास्तवमा नारी पुरुषको बिचको प्रगाढ प्रेम हो विवाह। स्वभावैले विवाह दुई विपरीत लिङ्गीहरूको मिलन हो, तसर्थ विवाह मानव जीवनको रथ अगाडि बढाउन नितान्त आवश्यक छ। समग्रमा हेर्दा विवाह परिवारको आधार हो। विवाह पश्चात् नै परिवारकी जीवनको प्रारम्भ हुन पुग्दछ। विवाह मानव जातिको आत्म संरक्षण, वंश वृद्धि तथा स्व जातीय जीवनको अविच्छिन्नतालाई कायम राख्ने प्रमुख साधनका रुपमा रहेको बुझ्न सकिन्छ। वास्तवमा विवाह भन्नाले दुई हृदयको मिलन, सहयात्री वा जीवन साथी पाउनु, बाँच्ने आधार, प्रकृतिको नियम, पवित्र बन्धन, सृष्टिको सुरुवात, श्रीमान् श्रीमतीको सम्झौता, सामाजिक तथा सांस्कृतिक नियम वा चलन, मानवीय आवश्यकता आदि विवाहका सामान्य परिभाषा हुन्। विवाह जीवनको महत्त्वपूर्ण संस्कारका साथै जीवन साथीको रुपमा जीवन रथ अघि बढ्ने कार्यको सुरुवात पनि हो।

एकै प्रकारका रुचिहरू राखी सँगसँगै समय बिताउने प्रयास गर्नाले वैवाहिक सम्बन्ध बलियो बन्दै जान्छ। विभिन्न इच्छाहरू भएका दुई पृथक् एवं स्वतन्त्र व्यक्तिहरूले एकै छतमुनि सामञ्जस्यको जीवन व्यतित गर्नु कुनै चानचुने कुरा होइन। जुनेली रातको सुन्दरता र कोमल पुष्पहरूको सुगन्धले चाँडै नै आफ्नो प्रभाव छोड्छन् र जीवनको मधुरता कायम राख्न हरेक दम्पत्तिलाई यीभन्दा ठोस आधारहरूको जरुरत पर्दछ। त्यसैकारण आफ्ना रुचिहरूसित मिल्ने रुचिहरू भएको जीवनसाथी रोज्नु निश्चय नै बुद्धिमानी हो। यस विषयमा सुरुमा नै विचार पुर्‍याउन नसकेको खण्डमा विवाह कायम राख्न घोर परिश्रम गर्ने बेला आयो भनेर तयार हुनु होस। विवाह बिचार मिल्नेसँग उमेर नढल्किँदै गर्नु बेस हुन्छ। विवाहको लागि २५-३० वर्षको उमेर उचित हुन्छ। विवाहपछि आर्थिकरुपमा पनि सबल हुनु नितान्त आवश्यक छ। युवा-युवतिको सामीप्यमा जीवन बिताउन सहज हुने भएकोले समयमै विवाह गर्दा उपयुक्त हुन्छ। अन्तमा, मानव जीवनमा विवाहको ठूलो भूमिका र महत्त्व छभन्दा अत्युक्ति नहोला, …धन्यवाद!

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्