शिक्षा क्षेत्रमा मूलकले अपेक्षित प्रगति हासिल गर्न सकेन : सांसद बस्याल

लोकपाटी न्यूज
3 Shares
  • निर्मल पौडेल

 पर्वत। गण्डकी प्रदेशसभा सदस्य मित्रलाल बस्यालले शिक्षा क्षेत्रमा मूलकले अपेक्षित प्रगति हासिल गर्न नसकेको बताएका छन्। पर्वतको फलेवास नगरपालिका-६ देविस्थानस्थिति श्री जनता माध्यमिक विद्यालयको ६७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा आयोजित समारोहमा बस्यालले शिक्षा क्षेत्रमा देखिएका समस्याको समाधान खोज्ने गरी शिक्षामा रूपान्तरण आवश्यक रहेको बताएका हुन्।

बसाइसराइको कारण गाउँघरका रहेका विद्यालयहरूमा विद्यार्थीको सङ्ख्या कम हुँदै गएकोप्रति उनले चिन्ता व्यक्त गरे। प्रदेशसभा सदस्य बस्यालले सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउन सरोकारवाला निकायले चासो राख्नुपर्ने कुरामा जोड दिए। आफ्नो ठाउँबाट विद्यालयलाई सक्दो सहयोग गर्न आफू लागिपर्ने उनले प्रतिबद्धता जनाए।

यस्तै फलेवास नगरपालिका उपप्रमुख शोभाकुमारी क्षेत्रीले शैक्षिक गुणस्तर प्राप्तिका लागि शिक्षक विद्यार्थी र अभिभावकबीच त्रिकोणात्मक सम्बन्ध हुनुपर्ने जिकिर गरिन। उनले अबको शिक्षा व्यावहारिक र जनमुखी हुनुपर्नेमा जोड दिइन्। उपप्रमुख क्षेत्रीले सैद्धान्तिक ज्ञानले मात्र लक्षित उपलब्धि हासिल गर्न नसकिने बताइन। प्रमाणपत्रको अंकले भन्दा पनि व्यवहारिक ज्ञानले मानिस पूर्ण हुने उल्लेख गर्दै उनले विद्यालयमा पढ्दै कमाउने व्यवहारिक शिक्षा प्रदान गर्न सक्नुपर्ने धारणा राखिन्।

यस्तै फलेवास नगरपालिकाका पूर्वमेयर पदमपाणि शर्माले विद्यार्थीको उपलब्धिको मापनसहितको योजना विद्यालयको हुनुपर्ने बताए। उनले शिक्षा नियमावलीको अनुसूची ८ लाई आधार बनाएर आफ्नो कार्यकालमा शिक्षा नियमावली लागू गरेको स्मरण गरे। विद्यालयका प्रधानाध्यापक जीवनाथ शर्माले विगतका दिनहरूमा भन्दा जनता माविको शैक्षिक तथा भौतिक वातावरण राम्रो हुँदै गएको बताए।

वार्षिकोत्सव समारोहको अवसरमा विद्यालयमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजन गरिएको थियो। यस्तै विद्यालयमा स्थापित विविध अक्षय कोषबाट र विद्यालयको तर्फबाट वार्षिकरुपमा जेहन्दार गरिब दलित तथा असहाय विद्यार्थीलाई प्रदान गरिने पुरस्कारसमेत वितरण गरिएको छ।