प्रतिनिधिसभामा प्रतिपक्षी दलहरूले जनाए विरोध

sansad
फाइल तस्बिर
लोकपाटी न्यूज
8 Shares

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठक प्रतिपक्षी दलहरूले अवरोध गरेका छन्। प्रमुख प्रतिपक्षी दल एमाले, प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका सांसदले उठेर बैठकमा अवरोध गरेका हुन्।

सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रतिपक्षी दलका सांसदहरू आ-आफ्ना स्थानमा उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुखले आ-आफ्ना धारणा व्यक्त गर्न विपक्षी दलका सांसदहरूलाई समय दिएका थिए।

त्यसक्रममा एमालेबाट सांसद रघुजी पन्तले बालकुमारी घटनाका दोषी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा मुछिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत र रामग्राम लिज प्रकरणमा पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग गरेका थिए।

विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरूलाई साथमा लिएर सुशासनको कुरा गर्न नसुहाउने उनको भनाई थियो। उनले बालकुमारी घटना हुनेबितिकै मन्त्री ज्वालाले नैतिकताका हिसाबले राजीनामा दिनुपर्ने भए पनि त्यसो हुन नसकेको धारणा राखे।

सांसद पन्तले भ्रष्टाचारको मुद्दामा पर्नासाथ यसअघिका मन्त्रीहरूले राजीनामा दिए पनि अहिले मन्त्री नै झण्डा हल्लाएर अख्तियारमा बयान दिन गएको तर्क गरे। लुम्बिनी विकास कोषका ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्त गरेर अवैधानिक काम गर्न दिएको र त्यसमा पर्यटनमन्त्री किँरातीको संलग्नता रहेको भन्दै उनले विरोध गरे। सांसद पन्तले एमालेका मागका विषयमा व्यवहारमा लागू नभए एमाले चुप लागेर नबस्ने चेतावनी दिएका थिए।

रास्वपाका सांसद विराजभक्त श्रेष्ठले प्रतिपक्षीको नेपथ्यबाट जनताको पीडा राख्दा सरकारले सुन्दैन भने संसद्मात्रै नभई सडक पनि अवरुद्ध पार्ने चेतावनी दिए। उनले संसदप्रति सरकार जबाफदेही हुँदैन भने मुलुकले कस्तो नेतृत्व पाइरहेको भन्दै प्रश्न गरे। ‘संसद्प्रति सरकार जबाफदेही हुँदैन भने मुलुकले कस्तो नेतृत्व पाइरहेको छ। ती दुई युवा र परिवारलाई सरकारले के दियो?,’ उनले भने।

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई जोगाएको भन्दै विरोध गरेका थिए। सभामुखले यस विषयमा सरकारको ध्यानाकर्षण गराइसकेको र फेरि पनि ध्यानाकर्षण गराउने भनेपछि प्रतिपक्षी दलका नेताहरू बसेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्