गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको बैठक स्थगित

Debraj_Ghimire
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। प्रतिनिधि सभाको बैठक शुक्रवारसम्मका लागि स्थगित भएको छ । विधेयक पेश गर्न गणपूरक संख्या नपुगेपछि बैठक शुक्रवारसम्मका लागि स्थगित भएको हो।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी विधेयक, २०८० पेश गर्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न लाग्दा एमाले सचेतक महेश बर्तौलाले नियमापत्ति गर्दै गणपूरक संख्या यकिन गर्न माग गरेका थिए।

त्यसपछि सभामुख देवराज घिमिरेले ३ मिनेट जनाउ घण्टी बजाएर संख्या एकिन गर्न लगाएका थिए। बैठकको गणपूरक संख्याका लागि ६९ सांसद उपस्थित हुनुपर्नेमा ६५ मात्र उपस्थित थिए।

बैठक शुरू गर्ने बेला गणपूरक संख्या उपस्थित भएपनि सांसदहरू हाजिर गरेर हिँडेपछि प्रस्ताव पेश गर्न नसकिएको हो। संविधानको धारा ९४ तथा प्रतिनिधि सभा नियमावलीमा कुनै प्रस्ताव पेश गर्न बहाल सांसदको एक चौथाइ उपस्थित हुनुपर्ने व्यवस्था छ। सांसदहरू हाजिर गरेर हिँडेपछि कोरम पुग्न नसकेको संसद् सचिवालयका एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्