आगामी बजेटमा मधेसलाई विशेष व्यवस्था गरिन्छ : प्रधानमन्त्री

Prachand
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा मधेसलाई विशेष व्यवस्था गरिने बताएका छन्।

धनुषाको सबैला नगरपालिका-४ पटेर्वाघाट र सिरहाको कल्याणपुर नगरपालिका-५ चिकना जोड्ने पक्की पुलको आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले अबको नीति तथा कार्यक्रम एवं बजेटमा विशेष व्यवस्था गर्ने विश्वास दिलाएका हुन्। आफूले सरकारको नेतृत्व गरेपछि नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने विषयलाई गम्भीररुपमा लिएको उल्लेख गर्दै उनले तराईमा सिँचाइ, मलबीउको व्यवस्था गर्ने र कृषि प्रविधिलाई बढवा दिने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयका अनुसार देशको अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न बृहत् आयोजना निर्माणमा सरकारले ध्यान दिएको बताउँदै प्रधानमन्त्रीले बूढीगण्डकी एवं कर्णाली चिसापानीजस्ता ‘गेम चेन्जर’ आयोजना निर्माणका काम यथाशक्य चाँडो अगाडि बढाइने उल्लेख गरे। ‘मधेसको विकासबिना देशको विकास सम्भव छैन, मधेसको मुक्तिबिना देशको मुक्ति सम्भव छैन,’ उनले भने, ‘मसेधी जनताको समृद्धि भएन भने देशको समृद्धि सम्भव छैन।’

मधेस, पहाड र हिमालको एकताका लागि आफूले सिरहामा निर्वाचनमा भाग लिएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले मधेसी जनताको मत लिएर संघीय गणतन्त्रको संविधान निर्माण गर्न पाएकामा गर्व छ भने। ‘मधेस, पहाड र हिमालको एकतालाई अविछिन्न तुल्याउन सबैको पहिचान र अधिकारका लागि लडेको नाताले एकता कायम गर्न मेरो जिम्मेवारी छ,’ उनले भने।

चालीस वर्षअगाडि भूमिगत कालमा आफू यस क्षेत्रमा आएको स्मरण गर्दै उनले सबैला, वस्तीपुरलगायत क्षेत्रका जनतासँग आफ्नो नजिकको सम्बन्ध रहेको उल्लेख गरे। सिरहा र धनुषाका लागि पुल निर्माण महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले यस क्षेत्रका जनताको जीवनस्तर सुधार्न आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।