स्वास्थ्यमन्त्री बस्नेतको अपिल : सबैले दादुरा-रुबेला खोप लगाऔं

Mohan_Bahadur_Basnet
लोकपाटी न्यूज
7 Shares

भक्तपुर। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आजबाट देशव्यापी रुपमा राष्ट्रिय दादुरा-रुबेला खोप अभियान २०८०/८१ को शुभारम्भ गरेका छन्। भक्तपुरको सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको अभियान उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अस्मिता ओझालाई खोप तथा खोप सामग्री हस्तानतरण गरी देशभर एकैसाथ अभियानको उद्घाटन गरे।

मन्त्री बस्नेतले आगामी सन् २०२६ भित्र नेपाललाई दादुरा-रुबेला उन्मूलन गर्ने सरकारको लक्ष्य हासिल गर्न देशभरका स्वास्थ्यकर्मी, स्वयंसेविका, स्थानीय तह र सरोकारवाला निकायले साथ र सहयोग गर्न आग्रह गरे। आजबाट सुरु भई चैत ७ गतेसम्म सञ्चालन हुने यो अभियान प्रभावकारी ढङ्गले देशैभरि सञ्चालन हुनेमा आफू विश्वस्त रहेको भन्दै उनले कर्मचारीले इमान्दारिपूर्वक काम गर्न आग्रह गरे।

अभियानको शुभारम्भ मध्यपुरथिमिबाट भएको भन्दै उनले भक्तपुरले यहीँ अभियानमा शतप्रतिशत खोप लगाएर देशकै नमुना जिल्ला बन्नुपर्नेमा जोड दिए। तराई र काठमाडौं उपत्यका दादुरा-रुबेलाको उच्च जोखिममा रहेको भन्दै मन्त्री बस्नेतले पहिला खोप लगाएकाहरूले पनि पुनः खोप लगाउन र खोप लगाउन छुटेकालाई पनि पहिचान गरेर खोप लगाउन निर्देशन दिए।

मन्त्री बस्नेतले भने, ‘यो खतरनाक रोग हो। यसबाट बालबालिकाको मृत्यु पनि हुनसक्छ, एक जना बिरामीले १८ जनालाई रोग सार्न सक्छ। विद्यालयबाट यो रोगको सङ्क्रमण फैलिए महामारीको रूप लिन्छ। त्यसैले शिक्षा दिने थलो विद्यालयबाटै यो अभियान सुरु गरेका छौँ, नियमित खोप लगाएकाहरूले पनि यो खोप दिनुपर्छ।’

खोप लगाउनुपर्छ भन्नेबारेमा अझै पनि जनचेतनाको कमी रहेकाले स्थानीय तहले जनचेतना जगाउँदै विद्यालय, टोल र आवश्यक परे घरघरमा गएर भए पनि खोप लगाएर अभियानलाई पूरा गर्न उनले आह्वान गरे। मन्त्रालय एक्लै लागेर मात्रै अभियान सफल हुँदैन भन्दै उनले सरोकारवाला सबै निकायको साथ र सहयोग आवश्यक रहेको औँल्याए।

आफू स्वास्थ्यमन्त्री भएर आएपछि स्वास्थ्यको क्षेत्रमा स्थानीय, प्रदेश र संघीय सरकाबीच त्रिकोणात्मक समन्वय गराएर काम गरिरहेको भन्दै सरकारको लक्ष्य पूरा गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने मन्त्री बस्नेतले बताए। उनले सहरी क्षेत्रमा बसाइ सरेर आएका र जानेमा खोप लगाउन ध्यान केन्द्रित गर्दै शतप्रतिशत खोपको सुनिश्चितता गर्नुपर्नेमा जोड दिँदै अभियान सफल पार्न सबै निकायलाई आग्रह गरे। कार्यक्रममा भक्तपुरका संघीय सांसद दुर्लभ थापाले खोप अभियानलाई सफल पार्न स्थानीय तह र जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण रहने भएकाले यी निकाय सक्रिय हुनुपर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्