भरतपुर भ्रमण वर्षको उद्घाटन फागुन १८ गते, कस्तो छ तयारी ?

visit bharatpur pic
लोकपाटी न्यूज
6 Shares

चितवन। भरतपुर भ्रमण वर्षको यही फागुन १८ गते उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने भएका छन्। नारायणी नदी किनारमा हुने उद्घाटन समारोहमा ५० हजारभन्दा बढी स्थानीयको सहभागिता हुने महानगरले अनुमान गरेको छ।

भरतपुर महानगरपालिकाले यहाँको पर्यटन प्रवर्द्धनका लागि सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउँदै छ। नारायणगढ-गोन्द्राङ छ लेन सडकलगायत केही पूर्वाधार निर्माणमा ढिलाइ हुँदा उद्घाटन पछि सारेर मार्च १ अर्थात् फागुन १८ गते गर्न लागिएको हो। नारायणी नदी किनारमा भव्य समारोहकाबीच भ्रमण वर्षको उद्घाटन गरिँदै छ।

महानगर प्रमुख रेनु दाहालका अनुसार उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्रीहरु, दलका प्रमुखहरू, संघीयमन्त्री, प्रदेशका प्रमुख एवं मुख्यमन्त्री, प्रदेशका मन्त्री, जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय एवं प्रदेशका सांसदलगायतलाई निमन्त्रणा गरिएको छ। उनका अनुसार उद्घाटन समारोह पूर्व सबै वडाबाट झाँकीसहितको र्‍याली नारायणगढ नजिक नारायणी नदी किनार आइपुग्नेछ।

विभिन्न जातजाति एवं संघसंस्थाले झाँकी प्रदर्शन गर्ने दाहालले बताइन्। उनले भनिन्, ‘भ्रमण वर्ष उद्घाटनमा ५० हजारभन्दा बढीको सहभागिता हुने अनुमान गरेका छौँ। महानगरका सबै वडासहित जिल्लाका अन्य पालिका र छिमेकी जिल्लाबाट समेत उद्घाटन समारोहमा सहभागिता हुनेछ।’

कार्यक्रमको घोषणा पूर्व र उद्घाटन सत्र पछि राष्ट्रिय तथा स्थानीय कलाकारले नदी किनारमा साँझसम्म साङ्गितक प्रस्तुति प्रस्तुत गर्नेछन्। भरतपुर महानगरभित्र सात मुख्य गन्तव्य तोकिएका छन्। यसका अतिरिक्त २१ गन्तव्यको समेत प्रचारप्रसार गरिएको छ। मुख्य गन्तव्यलाई ब्लक बनाएर अन्य गन्तव्यको प्रचार गरिएको हो।

भ्रमण वर्ष सफल पार्न महानगर प्रमुख दाहालको संयोजकत्वमा दुई हजार २४ सदस्यीय मूल समारोह समिति बनाइएको छ। समितिको शनिबार बैठक बसेको थियो। प्रमुख दाहालकै संयोजकत्वमा सात सदस्यीय निर्देशन समिति, उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति, एक सय एक सदस्यीय सल्लाहकार समिति र २९ उपसमिति गठन गरिएका छन्। उपसमितिमा सात सय सदस्य रहेका छन्।

भ्रमण वर्षमा गरिने विभिन्न कार्यक्रम स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्यमा गरिँदै छ। महानगरका उपप्रमुख अधिकारीका अनुसार छ करोडभन्दा बढी सरकारी तवरबाट भ्रमण वर्षमा खर्च हुँदैछ। यसका लागि महानगरले रु तीन करोड विनियोजन गरेको छ। बागमती प्रदेश सरकारले रु दुई करोड उपलब्ध गराउने प्रतिबद्धता जनाएको उनले जानकारी दिए।

यसैगरी पर्यटन बोर्डबाट रु ६५ लाख निकासा भइसकेको उपप्रमुख अधिकारीले जानकारी दिए। यससँगै भ्रमण वर्ष तयारीका क्रममा भौतिक निर्माणमा समेत महानगरले खर्च गरेको छ। पर्यटकीय पूर्वाधार निर्माण महानगरको योजनाबद्ध खर्च भएको उनले बताए। भ्रमण वर्षसँगै सुस्ताएको यहाँको पर्यटन क्षेत्र चलायमान हुने अधिकारीको अपेक्षा छ।

महानगर प्रमुख दाहालले भ्रमण वर्षमा दुई लाख बाह्य र पाँच लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य रहेको बताइन्। भ्रमण वर्षका अवसरमा महानगरभित्र रहेका होटल, रिसोर्ट र रेष्टुरेन्टले विशेष छुटमा प्याकेज दिँदैछन्। प्रमुख दाहालका अनुसार महानगरभित्र २० शय्याभन्दा माथिका ६५ पर्यटकीय होटल छन्। मध्यमस्तरका सहित सात हजार जना अट्ने क्षमता महानगरभित्रका होटलमा रहेको छ।

भ्रमण वर्षलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म प्रचारप्रसार गर्ने गरी विभिन्न कार्यक्रम गरिँदै छ। प्रमुख दाहालका अनुसार ५० भन्दा बढी स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गरिँदै छन्। ऐतिहासिक दरबार दियालो बङ्गला सर्वसाधारणका लागि खुला गरिँदै छ। भ्रमण वर्षको उद्घाटनपछि लगत्तै दियालो बङ्गला सञ्चालनमा ल्याइनेछ । त्यहाँ पुनः निर्माणको काम भइरहेको उनले बताइन्।

यसैगरी दुर्लभ पाटेबाघ पर्यटकले हेर्न मिल्ने गरी खुला खोरमा राख्न लागिएको छ। भ्रमण वर्षको उद्घाटनअघि नै बाघ राखिनेछ। महानगरको देवनगरमा बाघसँगै सोही क्षेत्रमा गैँडा राख्नका लागि खोर बन्दैछ। दाहालले भनिन्, ‘अब यहाँ आउने पर्यटकले निकुञ्जमा बाघ, गैँडा नहेरी फर्कनु पर्दैन।’

महानगरपालिकाले गैँडाको खोर, मचान र त्यहाँ पुग्ने ठाउँसम्मका लागि बाटो निर्माण गर्न एक करोड खर्च गरेको छ। बाघको खोर निकुञ्ज आफैँले बनाएको हो। भ्रमण वर्षका अवसरमा विश्वका विभिन्न देशमा बस्ने भरतपुरवासी, समग्र नेपाली र सोही मुलुकका नागरिक घुम्न आउनका लागि निम्तो दिइएको छ।

प्रमुख दाहालले भनिन्, ‘अर्थतन्त्रलाई चलायमान बनाउन भ्रमण वर्ष उपयोगी हुने अपेक्षा छ।’ भ्रमण वर्षका सन्दर्भमा गरिने गतिविधिका लागि महानगरपालिकाले एक वर्षदेखि गृहकार्य गर्दै आएको थियो। उनले थपिन्, ‘भ्रमण वर्ष सफल पार्न सरकारी प्रयासले मात्रै हुँदैन, निजी क्षेत्र पनि सक्रियरुपमा लाग्नुपर्छ।’ सबैको साथ र सहयोगले भ्रमण वर्ष सफल हुने उनको अपेक्षा छ। देशमै स्थानीयस्तरमा भौतिक पूर्वाधारमा अग्रणी मानिएको भरतपुर महानगरपालिकामा यहाँको भौतिक निर्माण हेर्न अन्य स्थानीय तहबाट जनप्रतिनिधि आउने अपेक्षा गरिएको छ।

भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ डा विश्व सुवेदीले भ्रमण वर्षले सिथिल भएको समग्र अर्थतन्त्र चलायमान हुने बताए। चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार रहेको भरतपुर हुँदै पर्यटक निकुञ्ज प्रवेश गर्ने गर्दछन्। राप्ती र नारायणी नदीको बीचमा रहेको भरतपुर महानगर पर्या-पर्यटन, धार्मिक र सांस्कृतिक हिसाबले महत्त्वपूर्ण छ।

सुवेदीले भने, ‘सरकारी तवरबाट यो ढङ्गले पर्यटन प्रवर्द्धनका लागि गरिएको यो प्रयास निजी क्षेत्रका लागि कोसेढुङ्गा हुनेछ।’ उनका अनुसार भरतपुर महानगरभित्र अन्तर्राष्ट्रियस्तरको रङ्गशाला र सिटिहल बन्दैछ। प्रदर्शनी केन्द्र सञ्चालनमा आएको छ। राजधानी नजिक रहेको यो महानगर आर्थिक नगरीका रुपमा विकास हुँदै गएको छ। यस्ता कार्यक्रमले यहाँको पर्या-पर्यटनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्