‘सहकारीको दीगोपनामा प्रश्न उठ्दा दक्ष जनशक्ति आकर्षित भएनन्’

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल खुला विश्व विद्यालयका प्रा. डा. अरहन स्थापितले नेपालको अर्थतन्त्र ‘पन्चड’ अवस्थामा रहेको बताएका छन्। बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कुन)ले आयोजना गरेको ‘बागमती प्रदेश साकोस समिटमा ‘दक्ष जनशक्ति पलायन सहकारी क्षेत्रमा यसको प्रभाव र निराकरण’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै स्थापितले पन्चड अवस्थामा रहेको अर्थतन्त्रलाई टाल्ने काम रेमिटेन्सले गरेको बताए।

‘अहिले नेपालीमा दक्ष जनशक्ति कम हुँदै गएको छ। अवसरको खोजीमा विदेश पलायन हुनेक्रम निरन्तर बढेको छ। आर्थिक रुपमा उतार चढाव छ। मुलुकमा आर्थिक, राजनीतिक स्थायित्व नभएसम्म नेपालको दक्ष जनशक्ति अवसरको खोजीमा विदेशिन्छन्। यसलाई नकारात्मक ठान्न हुँदैन,’ उनले भने, ‘रेमिटेन्सबाट धानिएको अर्थतन्त्रलाई सकारात्मक मान्न हुँदैन। यो दीगो समाधान होइन। कमजोर अवस्थामा रहेको अर्थतन्त्रलाई उकास्नको लागि नेपालमा नै अवसर निर्माण गर्नुपर्छ।’

नेपालमा दक्ष जनशक्ति आकर्षित नहुनु राजनीतिक भाइ भतिजा र भ्रष्टाचार, रोजगारीको सीमित अवसर र घट्दो कृषि उत्पादन नै मुख्य रहेका स्थापितले बताए। अहिले सहकारी क्षेत्रमा समस्या आउनुमा दक्ष जनशक्तिको अभाव नै मुख्य कारक रहेको उनको बुझाई छ। सहकारी संघ संस्थामा अन्धाधुन्ध लगानी हुँदा समस्या आएकाले अनुसन्धान र विश्लेषण गरेर मात्र परियोजना कार्यान्वयन गर्नु पर्नेमा उनको सुझाव छ।

त्यसैगरी, सरोकारवालासँगको गहन छलफल बिनै नीति निर्माण, कानुनी अनुपालन पनि अहिलेको समस्या रहेको छ। सहकारीलाई पार्ट टाइम जागिरको रुपमा लिएको र सहकारी प्रति नकारात्मक सूचना प्रवाह हुँदा दक्ष जनशक्ति आकर्षित नभएको उनले बताए। त्यसका साथै सहकारीमा जनशक्तिको आकर्षण कम हुनुमा सीमित वृत्ति विकास, न्यून तलब, आकर्षक सुविधाको अभाव, अस्थिरता र जोखिमको धारणा जस्ता कुरा मुख्य रहेको उनले औँल्याए। स्थानीय स्रोत साधन र प्रविधिको प्रयोग गरी नयाँ उद्योग सञ्चालन गर्न सके सहकारीले लगानी वृद्धि गर्नुका साथै रोजगारी सृजना र सदस्यतामा समेत वृद्धि हुँदै जाने उनको बुझाई छ। सहकारीका लागि दक्ष जनशक्तिका लागि सिटिईभिटी र विश्वविद्यालयसँगको सहकार्यमा अघि बढ्न उनले सुझाए।

उक्त प्रस्तुतिको टिप्पणी गर्दै राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईँले सहकारीमा कर्मचारी छनोट गर्दा नै ध्यान पुर्‍याउनु पर्ने बताए। भनसुन र पहुँचका आधारमा कर्मचारी नियुक्ति गरियो भने त्यसको विश्वसनीयता नहुने उनको बुझाई छ। कर्मचारी छनोटमा निष्पक्ष र पारदर्शितालाई परिपालना गर्न उनको आग्रह छ। त्यसैगरी कर्मचारीको वृद्धि विकासका साथै सेवा सुविधा, निवृत्तिभरण एवं कर्मचारीको जीवन यापनलाई पनि ध्यान पुर्‍याउनु पर्ने गुरागाईँले बताए।

कार्यक्रमको अध्यक्षता गर्दै नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेले सहकारीमा दक्ष जनशक्ति आवश्यकता रहेका औँल्याए। जनशक्ति बिना कुनै पनि संघ संस्थाले उत्कृष्ट सेवा दिन नसक्ने उनको बुझाई छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्