कर्मकाण्डका लागि मात्रै संसद् चलाइराख्नुको कुनै औचित्य छैन : अध्यक्ष लिङ्देन

Rajendra_Linden
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसद् बैठक कर्मकाण्डको लागि मात्रै चलाइराख्नुको कुनै औचित्य नभएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले सदनमा उठाएका विषयमाथि सरकारले जवाफ नदिएसम्म संसद् चलाइरहनुको कुनै औचित्य नभएको बताएका हुन्।

‘हामीले संसदमा कुरा उठाउने। पीडितले न्यायका लागि आत्मदाहा गर्नुपर्ने। यो सरकारको काम के हो ?,’ उनले भने, ‘सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु कि सरकारले ठोस जवाफ नदिएसम्म संसद् अगाडि बढाइरहनु अर्थ  छैन। केबल कर्मकाण्डका लागि मात्रै हुनेछ। संसद् अघि बढ्दैन।’

अध्यक्ष लिङ्देनले आम नागरिकका समस्या सम्बोधनमा सरकार गम्भीर नभएको आरोप लगाए। उनले नागरिकका समस्या सम्बोधन गर्नुको सट्टा उल्टै खेद्ने नीति सरकारले लिएको बताए। आन्दोलनरत  मिटरब्याज पीडित,सहकारी पीडित र दुग्ध उत्पादन किसानका समस्या समाधान गर्न सरकार उदासीन देखिएको उनको भनाई छ।

‘करिब एक महिनाको यात्रा तय गरेर मेची र महाकालीबाट मिटरब्याज पीडितहरू काठमाडौं आइपुगेका छन्। घाइते अवस्थामा आएका छन्। अशक्त अवस्थामा आइपुगेका छन्,’ उनले भने, ‘सरकारले उनीहरूको समस्या सम्बोधन गर्नुको बदला तिम्रो लागि ऐन बनाइदिएको छ जाऊ मुद्दा हाल भन्ने जवाफ दिइराखेको छ।’

सरकार जबाफदेहिता नबनेपछि लघुवित्त ऋणीहरू संसद् भवन प्रवेश गर्नुपर्ने अवस्था आएको जिकिर गरे।  केही दिनअघि नयाँ बानेश्वरको निषेधित क्षेत्र तोडेर लघुवित्त ऋणीहरू संसद् भवन परिसर प्रवेश गरेका थिए। सोही क्रममा ४९ जना लघुवित्त ऋणीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्