दस्तावेज लेख्दै नेकपा एसका यी शिर्ष नेता

yakikrit_Samajbadi
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठमा हुने पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्न दस्तावेज लेखन थालनी गरेको छ। समाजवादी कार्यक्रमको संरचनासहितको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन यही फागुन मसान्तभित्र सम्पन्न गर्ने गरी दस्तावेज लेखन सुरु भएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।

पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजनीतिक प्रतिवेदनको जिम्मेवारी तोकिएको छ भने सम्मानित नेता झलनाथ खनाललाई समाजवादी कार्यक्रम, उपाध्यक्ष डा बेदुराम भुसाललाई पार्टी विधान र महासचिव घनश्याम भुसाललाई सङ्गठनात्मक प्रस्ताव संयोजनका लागि कार्यविभाजन गरिएको छ। दस्तावेज लेखनका लागि आवश्यकताअनुसार सम्बन्धित नेताको समेत सहयोग लिन सक्ने व्यवस्था गरिएको छ।

सबै दस्ताबेजका मस्यौदामाथि छलफल गर्न यही फागुन २७ गते बैठक राखिएको छ। चार वटै विषयमा प्रतिवेदन तयार भएपछि एकीकृत गरेर महाधिवेशनमा एउटै दस्तावेज लैजाने जनाइएको छ। महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको पार्टीको समाजवादी कार्यक्रमको सैद्धान्तिक दृष्टिकोण, वर्तमान संकटको वस्तुगत विश्लेषण र समाधानका लागि संगठनात्मक कार्यदिशाबारे दस्तावेजमा समावेश गरिने समझदारी गरिएको छ।

सचिव श्रेष्ठका अनुसार मस्यौदामाथि सुझाव संकलन गर्न मस्यौदा जिल्ला तहका कार्यकर्तालाई पठाइसकेको छ। उनीहरूका सुझाव समावेश गरी तयार गरिने दस्तावेजमा पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, आगामी दिनमा सञ्चालन गर्ने राजनीतिक गतिविधि, कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका आधारमा रणनीति दस्तावेजमा समावेश गरिने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्